बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस कास्कीमा उम्मेदवार सिफारिस विवाद : जिल्लाले पठाएको नामको विरोधमा क्षेत्रीय समिति

आइतबार, २८ मङ्सिर २०८२, १७ : २७
आइतबार, २८ मङ्सिर २०८२

पोखरा । नेपाली कांग्रेस यतिबेला प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य उम्मेदवारको आकाङ्क्षीको नाम सिफारिसको क्रममा छ । 

यसैबिच कास्की क्षेत्र नम्बर १ बाट सिफारिस भएका आकाङ्क्षीहरूको नाममा भने विवाद देखिएको छ । क्षेत्रले जिल्लालाई सिफारिस नै नगरेको व्यक्तिको नाम जिल्लाबाट प्रदेशमा पठाइएको भन्दै क्षेत्रीय समितिले विरोध गरेको हो । 

क्षेत्रीय समितिले आकाङ्क्षीको नाम सङ्कलन गर्दा प्रत्यक्षमा १२ जना र समानुपातिकमा ८ जनाले नाम टिपाएका थिए ।

क्षेत्रले केन्द्रको परिपत्र अनुसार नै ३ जनाको नाम मात्रै पठाउने गरी आन्तरिक संवाद गरिरहेको छ । तर, जिल्ला सभापतिले छलफलकै क्रममा रहेको नामलाई सिफारिस गरेको क्षेत्रीय सभापति राजेन्द्रमणी लामिछानेले बताए ।

क्षेत्रीय कार्यसमितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सभापतिले एकलौटी ढङ्गले उम्मेदवारको नामावली माथिल्लो निकायमा पठाएको भन्दै आपत्ति जनाएको हो ।

‘क्षेत्र नम्बर १ को कार्यसमिति मंसिर २१ गतेदेखि निरन्तर छलफलमा जुटि उम्मेदवार छनौटको प्रक्रियामा छ,’ उनले भने, ‘यस्तो अवस्थामा जिल्ला सभापतिले विधान विपरीत आफूखुसी नामावली गण्डकी प्रदेश समितिमा पेस गरेको भन्ने सुनियो ।’

क्षेत्रीय समितिले नेपाली कांग्रेसको विधान अनुसार प्रतिनिधि सभा सदस्यका लागि नाम सङ्कलन र सिफारिस गर्ने अधिकार स्पष्ट रूपमा क्षेत्रीय समितिलाई मात्र भएको जिकिर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्र नं. १ ले नाम सिफारिस नगरी आफूभन्दा माथिल्लो निकायमा मनोमानी तरिकाले नाम प्रस्तुत गरिएको हुँदा खेद व्यक्त गर्दै जिल्ला सभापतिको सिफारिस अवैध भएको प्रस्ट पार्न चाहन्छौँ ।’

केन्द्रको परिपत्र अनुसार सहमति र सहकार्यको वातावरण बनाउन छलफल चलिरहेकै बेला जिल्ला सभापतिको यस्तो क्रियाकलापले पार्टीलाई अपूरणीय क्षति पुग्ने र कार्यकर्ताको मनोबल गिर्ने क्षेत्रीय समितिले चेतावनी दिएको छ ।

आकाङ्क्षीहरूको सूची टुङ्ग्याउने काम प्रक्रियामै रहेको लामिछानेले बताए । क्षेत्रीय समितिले प्रदेश कार्यसमितिलाई ध्यानाकर्षणपत्र समेत पठाएको छ । 

कास्की १ मा प्रत्यक्ष तर्फ कृष्ण बहादुर केसी, तिलक बहादुर रानाभाट, जीवन परियार, गुरु बराल, सुदीप मोहन भट्टराई, भानुभक्त ढकाल, प्रेम प्रसाद शर्मा सुवेदी, पुष्पमणि भण्डारी, अप्सरा श्रेष्ठ, बुद्धिमान गुरुङ, गिरिराज गौतम र सरिता कार्की (लोभिसा) आकाङ्क्षी छन् । 

समानुपातिकमा संज्ञा पोखरेल, कोपिला रानाभाट, दुर्गा लामिछाने, निशा मल्ल ठकुरी, इन्द्रमाया बानिया, लालकृष्ण भट्टराई, लोक कुमारी गुरुङ र खलिल मियाले दाबी गरेका छन् । 

जिल्ला सभापति किशोरदत्त बरालले क्षेत्रबाट समयमा नाम नआएका कारण जिल्लाले सीधै सिफारिस गरेको दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप