विराटनगरको भेडियारीमा विराट राजाको दरबार थियो कि मन्दिर ?
सारांश
- विराटनगरको भेडियारीमा रहेको ऐतिहासिक संरचनाको संरक्षण कार्य सुरु भएको छ, जसलाई विराट राजाको दरबार मानिन्छ।
- पुरातत्व विभागले दुई हजार वर्ष पुराना भग्नावशेष जोगाउन वैज्ञानिक विधि प्रयोग गर्दै संरक्षण अघि बढाएको छ।
- संरक्षण कार्यमा पुरानो र नयाँ संरचना छुट्याउन जिओ टेक्सटाइल प्रयोग गरिएको छ, र यसले खुला संग्रहालयको रूप लिनेछ।
विराटनगर । विराटनगर महानगरपालिका–१८ स्थित भेडियारीमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्त्वको संरचना संरक्षणको काम सुरु भएको छ । स्थानीय जनविश्वास अनुसार ‘विराट राजाको दरबार’ मानिने यो क्षेत्रमा पुरातत्व विभागले करिब दुई हजार वर्ष पुराना भग्नावशेषहरूलाई जोगाउन वैज्ञानिक विधि अपनाएर संरक्षण अघि बढाएको हो ।
२०२७ र २०७८ सालमा गरिएको उत्खननबाट यहाँ ईसाको पहिलो र दोस्रो शताब्दीका दुर्लभ संरचनाहरू फेला परेका थिए । घाम, पानी र मानवीय गतिविधिका कारण जीर्ण बन्दै गएका यी संरचनालाई थप क्षति हुन नदिन विभागले आधुनिक प्रविधि प्रयोग गरी संरक्षण थालेको हो ।
स्थानीय बासिन्दाले यो स्थानलाई महाभारतकालीन विराट राजाको दरबार मान्दै आएका छन् । पाण्डवहरू गुप्तवास बस्दा यहीँ शरण लिएको जनविश्वास छ । तर, पुरातात्विक अध्ययनले भने यहाँ मन्दिरको संरचना हुनसक्ने संकेत गरेको छ ।
लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत एवं पुरातत्वविद् हिमालकुमार उप्रेतीका अनुसार २०२७ सालमा वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्रको नेतृत्वमा भएको उत्खनन् प्रतिवेदनले यहाँ ‘गर्भगृह’ सहितको मन्दिर रहेको देखाएको छ ।
‘२०२७ सालमा वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्रले गर्नुभएको उत्खनन् प्रतिवेदन अनुसार यहाँ मन्दिरको गर्भगृह रहेको र यो दुई चरणमा निर्माण भएको देखिन्छ । पहिलो चरणमा शुंग काल (दोस्रो शताब्दी ई.पू.) र दोस्रो चरणमा कुषाण काल (पहिलो शताब्दी ई.) मा यी संरचना बनेको पाइएको छ,’ उप्रेतीले भने ।
_n4kFsi2MsD.jpg)
अध्ययनले यहाँ दुई चरणमा निर्माण भएको पाइएको छ– पहिलो ईसा पूर्व दोस्रो शताब्दी (शुंग काल) र दोस्रो ईसाको पहिलो शताब्दी (कुषाण काल) । हाल सतहमा देखिएका इँटाहरू कुषाणकालीन हुन् । २०७८ सालको ‘जियोफिजिकल सर्भे’ ले यहाँ ४६ फिट लम्बाइ र ४५ फिट चौडाइ भएको विशाल संरचनाको जग रहेको पुष्टि गरेको थियो ।
अहिले भइरहेको काम पुनर्निर्माण नभई संरक्षणमात्र हो । पुरातत्वविद् उप्रेतीका अनुसार जमिनमुनि दबिएका पर्खालहरू बाहिर देखिँदा मौसमको प्रभावले बिग्रने डर हुन्छ । त्यसैले, संरचना जस्तो अवस्थामा भेटिएको छ, त्यही अवस्थामा सुरक्षित राखिनेछ ।
_0EM1eYHpEb.jpg)
उप्रेतीले भने, ‘हामीले पुराना पर्खाल भत्किएको वा बाङ्गो छ भने त्यसलाई सोझो बनाउँदैनौँ । जुन अवस्थामा भेटिएको छ, त्यही अवस्था (एज इट इज) मा संरक्षण गर्छौं । पुरानो र नयाँ संरचना छुट्ट्याउन बिचमा ‘जियो टेक्सटाइल’ राख्छौँ, ताकि भोलि अध्ययन गर्दा पुरानो भाग कुन हो भनेर सजिलै थाहा पाइयोस् ।’
संरक्षणका क्रममा पुरानो र नयाँ संरचनाको बिचमा ‘जियो टेक्सटाइल’ (विशेष कपडा) बिछ्याइएको छ । यसले भविष्यमा अध्ययन गर्ने अनुसन्धानकर्तालाई कुन भाग मौलिक हो र कुन पछि थपिएको हो भन्ने छुट्ट्याउन मद्दत गर्नेछ । संरचनालाई पानी नछिर्ने गरी ‘वाटर टाइट’ बनाउन माथिबाट ‘क्यापिङ’ गरिँदैछ ।
संरक्षण कार्यमा सिमेन्टको प्रयोग गरिएको छैन । प्राचीन शैली जोगाउन सुर्खी (इँटाको धुलो), चुना र बालुवाको मिश्रण प्रयोग गरिएको छ । यहाँ प्रयोग गरिएका इँटाहरू आधुनिक इँटाभन्दा ठुला (३२ देखि ४० सेन्टीमिटर लम्बाइका) छन्, जसलाई काठमाडौँबाट विशेष अर्डरमा ल्याइएको हो । विभागका कर्मचारी हरिप्रसाद भुसालका अनुसार लुम्बिनीमा प्रयोग हुने गुणस्तरकै इँटा यहाँ प्रयोग भइरहेको छ ।
_gThEEhn4mS.jpg)
हाल करिब ८ जना कामदार र प्राविधिक टोलीले पुस १५ गतेसम्म पहिलो चरणको काम सक्ने लक्ष्य राखेका छन् । ऐतिहासिक सम्पदालाई माटोले पुरेर राख्दा सुरक्षित हुने भए पनि पर्यटकीय दृष्टिकोणले महत्त्व घट्ने भएकाले केही भाग माथि उठाएर देखाउन मिल्ने बनाइएको छ ।
यो संरक्षण कार्य सम्पन्न भएपछि भेडियारी क्षेत्र ‘खुला संग्रहालय’ का रूपमा विकास हुने विश्वास गरिएको छ । यसबाट अवलोकनकर्ताले २ हजार वर्ष पुरानो इतिहासलाई प्रत्यक्ष देख्न पाउनेछन् भने भावी पुस्ताका लागि पनि यो सम्पदा सुरक्षित रहने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण