शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
पुरातत्व विभाग सक्रिय

विराटनगरको भेडियारीमा विराट राजाको दरबार थियो कि मन्दिर ?

महाभारतकालीन इतिहासलाई ‘जियो टेक्सटाइल’ले सुरक्षित गरिँदै
शुक्रबार, ०४ पुस २०८२, ०८ : ५६
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • विराटनगरको भेडियारीमा रहेको ऐतिहासिक संरचनाको संरक्षण कार्य सुरु भएको छ, जसलाई विराट राजाको दरबार मानिन्छ।
  • पुरातत्व विभागले दुई हजार वर्ष पुराना भग्नावशेष जोगाउन वैज्ञानिक विधि प्रयोग गर्दै संरक्षण अघि बढाएको छ।
  • संरक्षण कार्यमा पुरानो र नयाँ संरचना छुट्याउन जिओ टेक्सटाइल प्रयोग गरिएको छ, र यसले खुला संग्रहालयको रूप लिनेछ।

विराटनगर । विराटनगर महानगरपालिका–१८ स्थित भेडियारीमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्त्वको संरचना संरक्षणको काम सुरु भएको छ । स्थानीय जनविश्वास अनुसार ‘विराट राजाको दरबार’ मानिने यो क्षेत्रमा पुरातत्व विभागले करिब दुई हजार वर्ष पुराना भग्नावशेषहरूलाई जोगाउन वैज्ञानिक विधि अपनाएर संरक्षण अघि बढाएको हो ।

२०२७ र २०७८ सालमा गरिएको उत्खननबाट यहाँ ईसाको पहिलो र दोस्रो शताब्दीका दुर्लभ संरचनाहरू फेला परेका थिए । घाम, पानी र मानवीय गतिविधिका कारण जीर्ण बन्दै गएका यी संरचनालाई थप क्षति हुन नदिन विभागले आधुनिक प्रविधि प्रयोग गरी संरक्षण थालेको हो ।

स्थानीय बासिन्दाले यो स्थानलाई महाभारतकालीन विराट राजाको दरबार मान्दै आएका छन् । पाण्डवहरू गुप्तवास बस्दा यहीँ शरण लिएको जनविश्वास छ । तर, पुरातात्विक अध्ययनले भने यहाँ मन्दिरको संरचना हुनसक्ने संकेत गरेको छ ।

लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत एवं पुरातत्वविद् हिमालकुमार उप्रेतीका अनुसार २०२७ सालमा वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्रको नेतृत्वमा भएको उत्खनन् प्रतिवेदनले यहाँ ‘गर्भगृह’ सहितको मन्दिर रहेको देखाएको छ ।

‘२०२७ सालमा वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्रले गर्नुभएको उत्खनन् प्रतिवेदन अनुसार यहाँ मन्दिरको गर्भगृह रहेको र यो दुई चरणमा निर्माण भएको देखिन्छ । पहिलो चरणमा शुंग काल (दोस्रो शताब्दी ई.पू.) र दोस्रो चरणमा कुषाण काल (पहिलो शताब्दी ई.) मा यी संरचना बनेको पाइएको छ,’ उप्रेतीले भने ।

2-Photo Birat rajako darbar (24)

अध्ययनले यहाँ दुई चरणमा निर्माण भएको पाइएको छ– पहिलो ईसा पूर्व दोस्रो शताब्दी (शुंग काल) र दोस्रो ईसाको पहिलो शताब्दी (कुषाण काल) । हाल सतहमा देखिएका इँटाहरू कुषाणकालीन हुन् । २०७८ सालको ‘जियोफिजिकल सर्भे’ ले यहाँ ४६ फिट लम्बाइ र ४५ फिट चौडाइ भएको विशाल संरचनाको जग रहेको पुष्टि गरेको थियो ।

अहिले भइरहेको काम पुनर्निर्माण नभई संरक्षणमात्र हो । पुरातत्वविद् उप्रेतीका अनुसार जमिनमुनि दबिएका पर्खालहरू बाहिर देखिँदा मौसमको प्रभावले बिग्रने डर हुन्छ । त्यसैले, संरचना जस्तो अवस्थामा भेटिएको छ, त्यही अवस्थामा सुरक्षित राखिनेछ ।

1-Photo Birat rajako darbar (27)

उप्रेतीले भने, ‘हामीले पुराना पर्खाल भत्किएको वा बाङ्गो छ भने त्यसलाई सोझो बनाउँदैनौँ । जुन अवस्थामा भेटिएको छ, त्यही अवस्था (एज इट इज) मा संरक्षण गर्छौं । पुरानो र नयाँ संरचना छुट्ट्याउन बिचमा ‘जियो टेक्सटाइल’ राख्छौँ, ताकि भोलि अध्ययन गर्दा पुरानो भाग कुन हो भनेर सजिलै थाहा पाइयोस् ।’

संरक्षणका क्रममा पुरानो र नयाँ संरचनाको बिचमा ‘जियो टेक्सटाइल’ (विशेष कपडा) बिछ्याइएको छ । यसले भविष्यमा अध्ययन गर्ने अनुसन्धानकर्तालाई कुन भाग मौलिक हो र कुन पछि थपिएको हो भन्ने छुट्ट्याउन मद्दत गर्नेछ । संरचनालाई पानी नछिर्ने गरी ‘वाटर टाइट’ बनाउन माथिबाट ‘क्यापिङ’ गरिँदैछ ।

संरक्षण कार्यमा सिमेन्टको प्रयोग गरिएको छैन । प्राचीन शैली जोगाउन सुर्खी (इँटाको धुलो), चुना र बालुवाको मिश्रण प्रयोग गरिएको छ । यहाँ प्रयोग गरिएका इँटाहरू आधुनिक इँटाभन्दा ठुला (३२ देखि ४० सेन्टीमिटर लम्बाइका) छन्, जसलाई काठमाडौँबाट विशेष अर्डरमा ल्याइएको हो । विभागका कर्मचारी हरिप्रसाद भुसालका अनुसार लुम्बिनीमा प्रयोग हुने गुणस्तरकै इँटा यहाँ प्रयोग भइरहेको छ ।

3-Photo Birat rajako darbar (12)

हाल करिब ८ जना कामदार र प्राविधिक टोलीले पुस १५ गतेसम्म पहिलो चरणको काम सक्ने लक्ष्य राखेका छन् । ऐतिहासिक सम्पदालाई माटोले पुरेर राख्दा सुरक्षित हुने भए पनि पर्यटकीय दृष्टिकोणले महत्त्व घट्ने भएकाले केही भाग माथि उठाएर देखाउन मिल्ने बनाइएको छ ।

यो संरक्षण कार्य सम्पन्न भएपछि भेडियारी क्षेत्र ‘खुला संग्रहालय’ का रूपमा विकास हुने विश्वास गरिएको छ । यसबाट अवलोकनकर्ताले २ हजार वर्ष पुरानो इतिहासलाई प्रत्यक्ष देख्न पाउनेछन् भने भावी पुस्ताका लागि पनि यो सम्पदा सुरक्षित रहने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप