यथास्थितिमा चुनाव वा संसद् पुनर्स्थापनाले निकास दिँदैन: गजुरेल
काठमाडौँ । अल जेनजी मुभमेन्टका हरिकृष्ण गजुरेलले यथास्थितिमा गरिने संसदीय चुनाव वा संसद् पुनर्स्थापनाबाट मुलुकले निकास नपाउने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुक गम्भीर संकटमा रहेकाले केवल सत्ता स्वार्थका लागि उठाइने चुनाव वा संसद् पुनर्स्थापनाका बहसले समस्या समाधान नगर्ने बताएका हुन् ।
गजुरेलले वर्तमान संविधान र प्रणालीले मुलुकलाई स्थिरता दिन नसक्ने प्रस्ट भइसकेको उल्लेख गर्दै जेनजी आन्दोलनबाट संविधान पुनर्लेखन वा कम्तीमा पुनरावलोकन अपरिहार्य भएको पुष्टि भइसकेको बताए । उनका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था बिना मुलुक अगाडि बढ्न सक्दैन ।
उनले यथास्थितिमा चुनाव भए बहुमत कसैको नआउने र धेरै दल मिलेर सरकार बनाउने अवस्था सिर्जना भई झनै अस्थिरता बढ्ने चेतावनी दिए। ‘८–१० दल मिलेर बनेको सरकारले सुशासन, स्थायित्व र समृद्धि दिन सक्दैन,’ उनले भने।
गजुरेलले अहिलेको आवश्यकता सर्वपक्षीय राष्ट्रिय संयुक्त सरकार गठन गरी गोलमेच सम्मेलनमार्फत उच्चस्तरीय संविधान पुनर्लेखन वा पुनरावलोकन आयोग गठन गर्नु रहेको बताए । त्यसपछि मात्रै चुनावमा जानु मुलुकका लागि निकास हुने उनको जोड छ ।
उनले जेनजी आन्दोलनमा सहिद भएका ७६ जनाको सपना पूरा गर्न पनि यथास्थितिको चुनाव अस्वीकार्य रहेको स्पष्ट पार्दै भ्रममा नपर्न नागरिकलाई आग्रह गरे।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण