बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
आगलागी

गैरीगाउँमा कसरी लाग्यो आगो ?

मङ्गलबार, २२ पुस २०८२, १७ : १२
मङ्गलबार, २२ पुस २०८२

काठमाडौं । काठमाडौँको गैरीगाउँमा एक काठ गोदाममा लागेको आगो करिब एक घण्टापछि पूर्ण नियन्त्रण आएको छ । काठमाडौं महानगर प्रहरीका अनुसार आधा दर्जन बढी दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो । 

आगो निभाउन काठमाडौं महानगरपालिकाको चारवटा सहित ललितपुर महानगरपालिका र त्रिभुवन विमानस्थल लगायत क्षेत्रबाट दमकल आएका थिए । 
  
काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन विभागका प्रमुख नगर प्रहरीका एसपी विष्णु जोशीका अनुसार आगलागीबाट मुख्य गरी लोयला सेकेन्डरी स्कुलको एउटा भवन र काठको गोदाममा क्षति पुगेको छ । ‘आगो नियन्त्रण गर्ने र सामानहरू सार्ने क्रममा त्यसबाहेक वरिपरिका केही अन्य सामग्रीमा पनि सामान्य टुटफुट भएको छ,’ उनले भने । 

कसरी लागेको थियो आगो ? 

महानगरको विपद् व्यवस्थापनको टोलीले लिएको प्रारम्भिक जानकारीका अनुसार जाडो छल्नका लागि दाउरा बालेर आगो ताप्ने क्रममा अचानक यताउता सल्किएर आगो लागेको हो । घटनाको जानकारी दिँदै विपद् व्यवस्थापनका एक सदस्यले भने, ‘दाउरा बालेर आगो ताप्ने क्रममा असावधानीवश आगो सल्किएर पहिला काठको  गोदाममा पुगेको रहेछ । त्यसपछि विद्यालयको भवनमा सरेको देखिन्छ ।’ उनका अनुसार काठको गोदामबाट ह्‌वात्तै आगो स्कुलतिर गएको हो ।

‘हामीले यहाँका स्थानीयसँग बुझ्‌दा पनि काठको गोदाममा आगलागी हुने बित्तिकै ह्‌वात्तै फैलिएको देखिन्छ । फेरि स्कुलको भवन प्रिफ्यापले बनेको हुँदा टिपिहालेछ,’ नगर प्रहरी उपरीक्षक विष्णु जोशीले भने, ‘अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप