बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
मनोरञ्जन

जेठमा ६ फिल्म, असारमा भने खडेरी !

बुधबार, २७ जेठ २०८३, ०९ : ३०
बुधबार, २७ जेठ २०८३

सारांश

  • जेठ महिनामा ६ वटा नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्, जसमा 'मितज्यू' र 'रोल नं १' ले सन्तोषजनक व्यवसाय गरे भने बाँकी फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेनन् ।
  • आगामी असार महिनामा भने 'आई एम जीत बहादुर' र 'भागदौड' गरी केवल दुई फिल्म मात्र प्रदर्शन हुँदैछन्, जसलाई फिल्मको खडेरी भनिएको छ ।
  • असारमा फिल्मको संख्या कम हुनुमा नेपालको कृषि सिजन र विश्वकप फुटबल जस्ता कारणहरूलाई मुख्य रूपमा औंल्याइएको छ ।

काठमाडौँ । नेपाली बजारमा फिल्मको प्रदर्शन स्थिर रहन सकेको देखिँदैन ।

कुनै महिना हलहरूमा रिलिज फिल्मको चाप निकै बढ्छ, भने कुनै महिना मुस्किल एक दुई फिल्म प्रदर्शन हुन्छ । यो जेठ महिनामा भने नेपाली फिल्मले हलहरू खचाखच रहे । जेठमा ६ वटा नयाँ नेपाली फिल्म प्रदर्शनमा आए ।

जेठको पहिलो साता आँचल शर्मा अभिनित ‘एक मुठ्ठी बादल’ र सुरक्षा पन्त अभिनीत ‘लाइफ ड्यामेज’ फिल्म प्रदर्शनमा आए । सामाजिक कथामा आधारित ‘एक मुठ्ठी बादल’ ले नेपाली समाजमा जकडिएको दाइजो प्रथा र पारिवारिक जटिलतालाई प्रस्तुत गरेको थियो भने ‘लाइफ ड्यामेज’ ले पारिवारिक कथालाई ‘फेन्टासी कमेडी ड्रामा’ जनरामा पस्किएको थियो ।

त्यसैगरी, जेठको दोस्रो साता (जेठ ८ गते) विपिन कार्की अभिनीत प्रेमकथामा आधारित ‘काजी’ र दयाहाङ राई तथा सौगात मल्ल स्टारर ‘मितज्यू’ फिल्म प्रदर्शनमा आए । ‘मितज्यू’ले मित्रता र सामाजिक द्वन्द्वको कथा प्रस्तुत गर्दा ‘काजी’ले दर्शकलाई क्लासिकल लभ स्टोरीमार्फत रिझाउने कोसिस गरेको थियो ।

अघिल्ला साताहरू झैँ जेठ १५ मा पनि ‘रोल नं १’ र ‘कुम्भ’ गरी दुई फिल्म रिलिज भए । मुकुन भुसाल अभिनीत ‘रोल नं १’ बाल मनोविज्ञान र शैक्षिक प्रणालीमा पार्ने प्रभावको कथामा थियो भने ‘कुम्भ’ फिल्म एक्सन–ड्रामा विधामा आएको थियो । प्रदर्शनमा आएका ६ फिलममध्ये ‘मितज्यू’ र ‘रोल नं १’ को व्यवसाय सन्तोषजनक रहेपनि अन्य फिल्मले भने बक्स अफिसमा अपेक्षाकृत ब्यवसाय गर्न सकेन ।

जेठमा ६ फिल्म प्रदर्शनमा आएपनि आगामी असार महिनामा भने प्रदर्शनमा केही सुस्तता अर्थात् ‘खडेरी’ देखिएको छ । अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा यो महिना ‘आई एम जीत बहादुर’ र ‘भागदौड’ गरी केवल दुई फिल्म मात्र प्रदर्शन हुँदैछन् ।

आगामी असार ५ गते प्रदर्शनमा आउन लागेको ‘आई एम जीत बहादुर’ हास्य कलाकार जितु नेपालको निर्माणमा बनेको हो । फिल्मे गाउँबाट सपना बोकेर सहर आएको एक युवाले कलाकार बन्नका लागि गर्ने संघर्ष, चुनौती र उसको भावनात्मक यात्रालाई पर्दामा देखाउनेछ ।

यस वर्ष असारमा फिल्मको खडेरी देखिनुमा मुख्य दुई कारणहरू छन् । पहिलो, नेपालको कृषि सिजन हो भने दोस्रो, विश्वकप फुटबल ।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ । तीन दशक लामो अभिनय यात्रा तय गरेका जितु नेपालका लागि यो फिल्म विशेष मानिएको छ ।

त्यस्तै, असारको अन्त्य अर्थात् २६ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘भागदौड’ले भर्खरै प्रदर्शनको घोषणा गरेको हो । हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई, विशाल पोखरेल र लक्ष्मी गिरी लगायतको अभिनय छ । फिल्मले मानव जीवनमा देखिने लोभ, लालच, जालझेल र ठगीका कारण उत्पन्न हुने नैतिक संकटलाई मुख्य विषयवस्तु बनाएको छ ।

काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक नेवार बस्ती बुङ्गमती र बागमती नदी किनारको पृष्ठभूमिमा यो कथा बुनिएको छ । फिल्मले बुङ्गमतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति र विभिन्न समुदायबीचको परम्परागत सह–अस्तित्वलाई देखाउने प्रयास गरेको छ ।

असारमा किन खडेरी ?

यस वर्ष असारमा फिल्मको खडेरी देखिनुमा मुख्य दुई कारणहरू छन् । पहिलो, नेपालको कृषि सिजन हो भने दोस्रो, विश्वकप फुटबल । हाम्रो देशमा असारलाई ‘मानो रोपेर मुरी फलाउने’ महिनाको रूपमा चिनिन्छ । यो सिजनमा अधिकांश मानिस खेतीपातीको काममै व्यस्त हुने भएकाले फिल्मको व्यवसाय राम्रो हुँदैन भन्ने मान्यता वर्षौंदेखि रहँदै आएको छ ।

दोस्रो, विश्वकप फुटबलतिर सबैको ध्यान केन्द्रित हुने भएकाले हलमा दर्शक जाँदैनन् भन्ने सोच निर्माताहरूमा देखिन्छ ।

चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा असारमा फिल्म प्रदर्शन कम हुनुका पछाडि केही व्यावहारिक कारणहरू रहेको बताउँछन् ।

uddya

‘नेपाली फिल्म चल्ने ठुलो बजार भनेको काठमाडौँ उपत्यका बाहिरको क्षेत्र पनि हो । यो समयमा त्यहाँका अधिकांश दर्शकहरू खेती–किसानीमा व्यस्त हुनुहुन्छ,’ सुब्बाले भने, ‘असार र साउन मुख्य रूपमा बाली लगाउने र खेतीको चटारो हुने महिना हो । कतिपय सहरमै बसोबास गर्ने मानिसहरू पनि यो समयमा खेती उठाउन वा नयाँ बाली लगाउन गाउँ जाने गर्छन् । यसले गर्दा हलहरूमा दर्शकको उपस्थिति घट्छ र निर्माताहरू आफ्ना फिल्म प्रदर्शन गर्न हच्किन्छन् ।’

असार झरी र मनसुनको मौसम भएकाले यातायातको आफ्नै साधन नहुने दर्शकहरूलाई निरन्तरको वर्षाका कारण हलसम्म पुग्न निकै असहज हुने सुब्बाको भनाइ छ ।

‘मौसमको यस्तो प्रभाव केवल असार–साउनमा मात्र होइन, पुस–माघको अत्यधिक जाडोको समयमा पनि देखिन्छ,’ सुब्बाले थपे, ‘पहिले–पहिले त असार महिनामा फिलम रिलिज नै गरिँदैनथ्यो । तर अहिले भने परिस्थिति बिस्तारै परिवर्तन हुँदैछ र यसपालि दुईवटा फिल्म रिलिज हुनुलाई म सकारात्मक रूपमा लिन्छु ।’ अहिले प्रदर्शनमा आउने फिल्मले बजारमा राम्रो व्यापार गरे आगामी वर्षहरूमा असार महिनामा पनि फिल्म प्रदर्शनको संख्या बढ्ने सुब्बाको विश्वास छ ।

मनसुनी वर्षा र खेतीपातीका अतिरिक्त अन्तर्राष्ट्रिय गतिविधिहरूले पनि फिल्म बजारलाई प्रत्यक्ष प्रभाव पार्ने बताउँछन् चलचित्र वितरक, नायक तथा निर्माता करण श्रेष्ठ ‘क्रेजी’ । विश्वकप फुटबल जस्ता विश्वव्यापी खेलकुद गतिविधिले गर्दा पनि यो असारमा फिल्ममको संख्या कम भएको श्रेष्ठको धारणा छ ।

541245285_24311649681811273_8116877000737144622_n

‘विगतका वर्षहरूमा असारमा फिल्म नै रिलिज नहुने अवस्था थियो । अहिले दुईवटा प्रदर्शन हुनु सकारात्मक हो,’ श्रेष्ठले भने ‘असारमा फिल्म प्रदर्शन कम हुनुका पछाडि मुख्य रूपमा दुईवटा कारणहरू छन् । पहिलो कारण, असार–साउन मनसुनको समय भएकाले पानी पर्ने सम्भावना बढी हुन्छ । दोस्रो कारण, यो बर्ष विश्वकप फुटबलको मौसम पनि हो ।’

विश्वकपको प्रभाव नेपालमा मात्र नभएर विश्वभरकै फिल्म रिलिजमा पर्ने श्रेष्ठको बुझाइ छ । ‘फिल्ममा ठुलो लगानी हुन्छ । यस्तो जोखिमपूर्ण समयमा निर्माताहरू व्यावसायिक नोक्सानी बेहोर्न चाहँदैनन्,’ श्रेष्ठले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप