कर्णालीमा एमाले उम्मेदवार छनोटको पुरानै शैली : ‘फेलियर’हरूकै वर्चस्व
सारांश
- नेकपा एमाले कर्णाली प्रदेशले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारको सम्भावित सूची केन्द्रमा पठायो, जसमा पुराना नेताहरूको बाहुल्य छ।
- सुर्खेत, दैलेख, रुकुम पश्चिम लगायतका क्षेत्रमा एमालेले पुराना उम्मेदवारलाई प्राथमिकता दिएको छ, कतिपय ठाउँमा आन्तरिक विवाद पनि देखिएको छ।
- कालिकोटमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै एक युवा नेताले पार्टी छाडे भने दैलेखका एक उम्मेदवारले रास्वपा रोजे।
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशले फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारको सम्भावित सूची पार्टी केन्द्रमा पठाएको छ । जसमा अधिकांश पुरानै नेताहरूको वर्चस्व छ । गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि अहिले नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवाज हरेक पार्टीभित्र छ ।
सोही अनुसार युवा पुस्ताहरूले पनि पार्टीदेखि संसदीय निर्वाचनहरूमा आकाङ्क्षा देखाएकै छन् । तर एमाले कर्णाली प्रदेशबाट उम्मेदवारमा सिफारिस भएका अधिकांश अनुसार यसअघि पटक–पटक परीक्षण भइसकेका पहिलो प्राथमिकतामा छन् ।
२०७९ मा कर्णालीका (प्रतिनिधि सभा) एमालेले सबै क्षेत्रमा पराजय भोगेको थियो ।
अझ एमाले सरकारमै हुँदा यो देशमा जेनजी विद्रोह भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमै गलत कदमका कारण उक्त आन्दोलन भएको र थुप्रैले ज्यान गुमाएको आरोप एमालेमाथि पनि छ । यही आन्दोलनपछि हुन लागेको निर्वाचनमा एमालेले कस्ता नेताहरूलाई उम्मेदवारका रूपमा अघि सार्छ र कसरी जनतामा जान्छ भन्ने आजको आम प्रश्न छ । तर कर्णालीमा भने एमालेले उम्मेदवार छनोटको उही पुरानै शैली अपनाएको देखिन्छ ।
१० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा २/२ वटा निर्वाचन क्षेत्र छन् । एमाले प्रदेश कमिटीले १२ निर्वाचन क्षेत्रमा चुनाव लड्नका लागि सम्भावित ३० जना नेताहरूको नाम पार्टी केन्द्रमा पठाएको छ, जसमा अधिकांश नेताहरू यसअघि परीक्षण भइसकेका, पटक–पटक ‘फेलियर’हरूको वर्चस्व छ । साथै सिफारिसको सूचीमा भएका धेरैजसो नेताहरू ‘बाबु पुस्ता’ का छन् ।
यस्तै १२ निर्वाचन क्षेत्रमध्ये ६ वटामा एकल उम्मेदवार सिफारिस गरिएको छ भने बाँकी जिल्लामा आकाङ्क्षीहरूबिच कुरा नमिल्दा सबैजसोका नाम सिफारिस गरिएको एमाले प्रदेश कमिटीका एक नेताले बताए ।
- सुर्खेत—१ मा ‘हेभीवेट’ खड्कासँग लड्न पराजित ध्रुव नै
सुर्खेत क्षेत्र नम्बर १, नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र हो । यही क्षेत्रबाट खड्काले लामो समयदेखि चुनाव लड्दै आएका छन् । यो पटक पनि कांग्रेसले उनै खड्कालाई उम्मेदवार बनाइसकेको छ भने उनलाई प्रधानमन्त्रीको रूपमा चर्चा गरेको छ, सुर्खेत कांग्रेसले । यही क्षेत्रमा एमालेले उनै खड्कासँग ०७९ मा पराजित ध्रुव शाहीलाई नै उम्मेदवार बनाएको छ ।
खड्का यसअघि निर्वाचित भएसँगै उक्त क्षेत्रमा ठुला विकासे परियोजना अघि बढाएका छन् । उपप्रधानमन्त्री समेत भइसकेका खड्का यो क्षेत्रमा निकै बलिया छन् ।
०७९ मा कांग्रेसका खड्काले ४२ हजार ६०७ मत ल्याउँदा एमालेका शाहीले ३० हजार ९८८ मत ल्याएका थिए । खड्कालाई उक्त चुनावमा माओवादीको साथ थियो, यद्यपि उक्त क्षेत्रमा माओवादीको खासै प्रभाव छैन ।
एमालेले शाहीलाई नै अघि सार्नुका पछाडि ०७४ को चुनावको नजिरले पनि काम गरेको एमाले एक जिल्ला तहका नेता बताउँछन् । ०७४ मा माओवादीको समर्थन पाएका उनै शाहीले खड्कालाई पराजित गरेका थिए ।
उक्त चुनावमा एमालेका शाहीले ३६ हजार ७५९ मत ल्याउँदा खड्काले ३३ हजार ३७७ मत पाएका थिए । तर दुवै निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दा एमाले कमजोर रहेको देखाउँछ । ०७४ मा खड्कालाई पराजित गरेका शाहीको मत परिणाम अन्तर र ०७९ मा खड्काले पाएको मत परिणाम अन्तर हेर्दा कांग्रेस बलियो नै रहेको देखाउँछ । अहिले माओवादी (हाल नेकपा)बाट जीतबहादुर राना उम्मेदवार छन् ।
यो अवस्थामा एमालेका शाहीलाई चुनावी नतिजा ल्याउन निकै कठिन हुने विश्लेषण नेताहरूलाई छ । उक्त क्षेत्रमा एमालेमा शाहीबाहेक जनतामा चिनिएको अर्को नेता नभएकाले पनि शाहीलाई नै एमालेले अघि सारेको देखिन्छ ।
बरु सुर्खेत क्षेत्र नम्बर २ मा पनि एमालेले नयाँ अनुहारलाई अघि सारेको छ । एकल सिफारिस गरिएका कुलमणि देवकोटा एमाले सुर्खेतको जिल्ला अध्यक्ष हुन् । यसअघि उनले संसदीय चुनाव लडेका छैनन् ।
उनी यसअघि सुर्खेत उपत्यका खानेपानीका अध्यक्ष थिए, सबैतिर चिनिएका देवकोटा यामलाल कँडेलका खास मान्छे हुन् ।
यो क्षेत्रमा ०७९ मा एमाले पराजित भएको थियो ।
- दैलेखमा पुरानालाई प्राथमिकता, रिजालको लडाइँ जारी
एमालेको बलियो क्षेत्र मध्ये एक हो दैलेख । यहाँ हरेक चुनावमा कांग्रेस—एमालेबिच प्रतिस्पर्धा हुन्छ । ०७९ मा दुवै सिट गुमाए पनि ०६४—०७४ सम्म एमालेले वर्चस्व कायम गरेको थियो ।
यहाँका दुवै निर्वाचन क्षेत्रमा अहिले पनि पुरानै अनुहारलाई अघि सारिएको छ । क्षेत्र नम्बर १ मा उम्मेदवारका लागि सिफारिस गरिएकामध्ये टिकट पाउने उनै रवीन्द्रराज शर्मा नै हुन् । उनलाई नै चुनाव लडाउन रत्नबहादुर खड्का र तेजबहादुर चन्दले नाम फिर्ता लिइसकेका छन् ।
शर्मा ०७९ मा पराजित नेता हुन् भने ०७४ मा विजयी नेता हुन् । शर्माले ०७९ मा १७ हजार ४०७ मत पाएका थिए । उनका प्रतिस्पर्धी तथा पूर्वसहकर्मी अम्मरबहादुर थापाले १८ हजार २५६ मत पाएका थिए । थापा लामो समय एमाले जिल्लाको नेतृत्वमा रहेर एमाले विभाजनपछि उनी माधव नेपालको एकीकृत समाजवादीतिर लागे । सोही पार्टीबाट उक्त चुनाव लडेका थिए, तर थापाले शर्मालाई हराए । अहिले पनि नेकपाबाट उनै थापा उम्मेदवार बन्ने सम्भावना छ । एमाले नेताहरूका अनुसार शर्मा दैलेखमा फेलियर नेता हुन् ।
यता क्षेत्र नम्बर २ मा ०७९ मै पराजित पुराना पुराना नेता लक्ष्मी पोखरेललाई पुनः उम्मेदवारका लागि सिफारिस गरिएको छ । उनीसँगै युवा नेता विष्णु रिजालको नाम पनि सिफारिस गरिएको छ । सिफारिसका लागि यहाँ निर्वाचन हुँदा रिजालले सबैभन्दा धेरै मत पाए । पोखरेलले दुई नम्बरमा मत पाए । यस्तै महिलातर्फ लिला बिसीको नाम सिफारिसमा परे पनि टिकटका लागि रिजाल र पोखरेलबिच नै लडाइँ छ ।
पोखरेल ०७९ मा कांग्रेसका दीक्पाल कुमार शाहीसँग पराजित भएका थिए । शाहीले २० हजार १५८ मत ल्याउँदा पोखरेलले २० हजार ५ मत पाए । पोखरेल ०७० मा यहीबाट संविधानसभा सदस्य जितेका थिए । पटक–पटक परीक्षण भइसकेका पोखरेललाई केन्द्रमा केपी ओली र प्रदेशमा यामलाल कँडेल निकट मानिन्छ । केपी ओली समूहबाटै ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य लडेका उनी पराजित भएका थिए । अहिले उक्त क्षेत्रमा एमाले युवा नेताहरूले पोखरेललाई नभएर युवा नेता रिजाललाई हेर्न चाहेको तर्क सामाजिक सञ्जालमा पेस गरिरहेका छन् । उसो त रिजालले यसअघिका दुई वटा निर्वाचनमा चुनाव लड्न चाहेका थिए । नेताहरूकै सल्लाहमा उनी ब्याक भए । तर यो पटक रिजाल ब्याक नहुने पक्षमा छन् । एमालेमा रिजाल चर्चित युवा नेताका रूपमा चिनिन्छन्, उनी पार्टीको केन्द्रीय सदस्य छन् ।
- रुकुम पश्चिम, सल्यान, जाजरकोटदेखि हुम्लासम्मै पराजितहरू
एमालेको सबैभन्दा कमजोर जनाधार रहेको रुकुम पश्चिममा ०७९ मा पराजित नन्दराम देवकोटालाई नै एमालेले उम्मेदवार बनाएको छ । देवकोटा ०७९ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन माओवादी नेता जनार्दन शर्मासँग २६ हजारको मतान्तरले पराजित भएका थिए, रुकुम माओवादीको आधार इलाका हो ।
अहिले पुनः शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार छन् भने माओवादीसहित मिलेको नेकपाबाट गोपाल शर्मा छन् । शर्मा—शर्माबिच नै रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको रुकुम पश्चिममा देवकोटा निकै कमजोर उम्मेदवार हुन् ।
हुम्लामा ०७९ मा प्रतिनिधि सभामै पराजित दल रावलले टिकट पाउने सम्भावना छ । अन्य नेताभन्दा जनमत धेरै भएका र चिनिएका पनि उनै हुन् । यहाँबाट रावलसँगै दल फडेरा र सौमती ऐडिको नाम पनि सिफारिस गरिएको छ ।
२०७९ मा रावलले ९ हजार ५१६ मत पाएका थिए भने कांग्रेसको समर्थनमा उम्मेदवार बनेका माओवादीमा छिरिङ डम्डुल लामा (भोटे)ले १४ हजा ३७१ मत पाएका थिए । यहाँ कांग्रेसको पनि बलियो जनमत छ । जसका कारण रावलको मतान्तर खासै ठुलो नरहेको विश्लेषण एमालेको छ । उसो त रावल ०७४ मा प्रदेश सभा चुनाव जितेर कर्णालीको सामाजिक विकासमन्त्री समेत भइसकेका नेता हुन्, उनी पार्टीको केन्द्रीय सदस्य तथा हुम्लाका इन्चार्ज हुन् ।
अर्का नेता फडेरा ०७९ मा स्थानीयदेखि प्रदेश सभा पराजित भएका नेता हुन् ।
उता सल्यानमा एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाह एकल सिफारिस भएका छन्, उनी ०७९ मा प्रदेश सभामा पराजित हुन् । ०७४ मा प्रदेश सभा जितेका उनी सल्यानमा एमालेभित्र बलियै छन्, तर एमालेका पूर्वनेता प्रकाश ज्वालाको प्रभाव पनि बलियो छ । २०७९ मा यहाँ समाजवादीबाट चुनाव लडेका ज्वालाले एमालेका उम्मेदवार राजेन्द्रवीर रायलाई झन्डै १५ हजार मतान्तरले हराएका थिए ।
उता जाजरकोटमा पनि ०७९ मै पराजित नीरज आचार्यसहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस छ, जसमध्ये टिकट पाउने सम्भावित नेता आचार्य नै हुन् । अन्यभन्दा चिनिएका र जनमत भएका पनि उनै हुन् । कांग्रेससहितको समर्थन पाएका माओवादीका शक्ति बस्नेतसँग यसअघि ९ हजार बढी मतान्तरले पराजित आचार्य एमाले केन्द्रीय सदस्य हुन् ।
अर्को युवा नेता नारायण घर्ती विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । सिफारिस गरिएका अर्का नेता डम्बर सिंह ०७० को संविधान सभा र ०७९ को प्रदेश (क) को प्रदेश सभामा पराजित नेता हुन् ।
यस्तै सिफारिसमा परेकी कौशिला खत्री यसअघि ०७४ मा प्रदेश सभामा समानुपातिक सांसद थिइन् ।
मुगुमा पनि ०७९ मा पराजित राजबहादुर कार्की (राजु) पुनः उम्मेदवारका लागि सिफारिस छन् । उनीसँगै पूर्ण रोकाय, गोपाल बम, बालचन्द्र विश्वकर्मा, खड्गराज मल्ल, कर्णशिला मल्ल, जानादेवी भामको नाम सिफारिस गरिएको छ । उल्लेखित नाममध्ये बम र कार्की नै टिकटका सम्भावित नाम हुन् । बम ०७४ मा १३ हजार बढी मत लाएर सांसद बनेका थिए । राराका होटल व्यवसायी बम र पर्यटन व्यवसायीकै रूपमा चिनिएका कार्कीमध्ये एक जनाले टिकट पाउने सम्भावना बढी रहेको नेताहरू बताउँछन् ।
कार्कीले ०७९ मा १० हजार ७१० मत पाएका थिए भने विजयी कांग्रेसका ऐनबहादुर शाहीले १४ हजार ७०६ मत पाएका थिए ।
एमालेको कमजोर आधार रहेको जुम्लामा शान्तिलाल महत उम्मेदवार छन् भने डोल्पाबाट लंक रोकाया, बद्मी कुमारी बोहोरा, पूर्णबहादुर डाँगीको नाम सिफारिस गरिएको छ । डोल्पाकी बोहोरा ०७४ मा समानुपातिकतर्फ प्रदेश सभा सांसद थिइन् । जुम्लामा ०६४ यताका कुनै पनि चुनाव एमालेले जित्न सकेको छैन ।
- कालिकोटमा लफडाकैबिच पुनः नगीन्द्र
कालिकोटमा आन्तरिक लफडाकाबिच पुनः नगीन्द्र शाही ‘नेशनल’ नै उम्मेदवार बनेका छन् । ०७९ मा माओवादीका महेन्द्रबहादुर शाहीसँग ८ हजार ६४ मतान्तरले पराजित हुन् उनी ।
कालिकोट ६० को दशकपछि माओवादीले एकछत्र वर्चस्व जमाएको जिल्ला हो । यहाँ एमालेलाई चुनाव जित्न सजिलो छैन । यसअघि सोमबार काठमाडौँमा बसेको एमाले कालिकोट भेलाले शाहीसहित युवा नेता वकिल बम र सीता शाहीको नाम उम्मेदवारका लागि सिफारिस गरेको थियो ।
तर उक्त सिफारिस विवादित बन्यो । एमाले कालिकोटका केही नेताहरूले सामाजिक सञ्जालमै त्यसको प्रतिवाद गरे । साथै पार्टी केन्द्रको सर्कुलरविपरीत काठमाडौँमा बसेर कालिकोटको उम्मेदवार छनोट भएको भन्दै आलोचना भयो ।
बुधबार पुनः मान्मका बसेको बैठकले शाहीलाई एकल सिफारिस गर्यो ।
- कोही आकाङ्क्षीले पार्टी छाडे, कसैले बदले
२०७९ को निर्वाचनमा शून्यमा सीमित रहेको एमाले कर्णालीमा यो पटक सुरुमै आन्तरिक किचलो बढेका छन् । कालिकोटमा काठमाडौँ भेलाबाट सिफारिस भएका युवा नेता वकिल बमले पुनः सिफारिसमा नपरेपछि पार्टी नै छाडिदिएका छन् ।
उनको भनाइ थियो—अहिलेको माग अनुसार नयाँ अनुहारले टिकट पाउनुपर्छ । तर बुधबार बसेको भेलाले उनको नाम समावेश नगरेपछि शुक्रबार उनले पार्टी छाडेको घोषणा नै गरे ।
सिफारिसमा एकलौटी गरेको र इमानदार कार्यकर्तालाई पाखा लगाएको आरोप उनले लगाएका छन् । बमले आफू राष्ट्रिय युवा संघ र एमालेको कुनै पनि जिम्मेवारीमा नरहने गरी राजीनामा दिएको बताएका छन् ।
आफ्नो राजीनामा पत्रमा नेता बमले पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले मुलुक राजनीतिक संकटमा रहेको बेला युवाहरूको भूमिका महत्त्वपूर्ण हुने भए तापनि पार्टीभित्र ‘चाकडी’ गर्ने र ‘मैदानमा नउत्रने’ हरूलाई मात्र अवसर दिइएको उल्लेख गरेका छन् ।
यता दैलेख—१ बाट उम्मेदवार सिफारिसमा परेका नन्दकिशोर बस्नेत शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरे । नयाँ अनुहारले टिकट नपाउने थाह पाएपछि उनी रास्वपाबाट नै चुनाव लड्ने तयारीका साथ पार्टी बदलेको चर्चा छ ।
चुनाव सुरु हुनु अगावै पार्टीमा देखिएका आन्तरिक कलहले एमालेलाई नै घाटा हुने तर्क नेताहरूले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
-
औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
अहिलेकाे बजेट कुनै क्षेत्रमा फोकस छैन : वर्षमान पुन
-
द भ्वाइस अफ हिन्द रजाब : युद्धभूमिमा फुलेको एउटा फूल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण