शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
सिनेमा

द भ्वाइस अफ हिन्द रजाब :  युद्धभूमिमा फुलेको एउटा फूल

शनिबार, २३ जेठ २०८३, ११ : ३०
शनिबार, २३ जेठ २०८३

सारांश

  • पश्चिम एसियामा जारी युद्ध र हिंसाका बीच 'द भ्वाइस अफ हिन्द रजाब' नामक प्यालेस्टिनी चलचित्रले मानवताको सन्देश दिएको छ ।
  • यो चलचित्र ६ वर्षीया हिन्द रजाबको वास्तविक आवाज प्रयोग गरी इजरायली आक्रमणमा परेको र उद्धारको प्रयास गर्दागर्दै मारिएकी बालिकाको कथामा आधारित छ ।
  • चलचित्रले युद्धको क्रूरता, मानवीय सहायताको निरीहता र मानवताको महत्त्वलाई दर्शाउँदै विश्वभर प्रशंसा बटुलेको छ ।

काठमाडौँ । हामीलाई थाहा छ, आज पनि पश्चिम एसिया बारुदको धुवामा निसास्सिएको छ । सबै जसो अखबारका मुख पृष्ठहरू आक्रमण, धम्की, सनक र नरसंहारका सनसनीपूर्ण खबरले ढाकिएको समय छ । सन् २०२३ देखि सुडानमा राज्य असफलताको अवस्था छ । दुई पक्षबिच चलेको हिंस्रक द्वन्द्वमा करिब चार लाख हाराहारी मानिस मारिएका छन् । साढे चार करोड मानिस न्यूनतम आधारभूत आवश्यकताकै अभावमा दिनदिनै तड्पिँदैछन् । 

ब्ल्याक सी वरपर चार वर्षदेखि चलेको रुस–युक्रेन युद्धमा बारुदकै कारण तीन लाख भन्दा बढी मानिसको इहलीला सिद्धिएको छ । घरबारविहीन, विस्थापित नागरिक तथा शरणार्थीका दुःख अङ्कगणितको हिसाब–किताब भन्दा कोसौँ पर छ । 

खाडी क्षेत्र, इरान र स्ट्रेट अफ हर्मुज वरपर हवाई हमला, ड्रोन, क्षेप्यास्त्र आक्रमण, रक्षा र प्रत्याक्रमणको अभूतपूर्व कोलाहल छ । के विद्यालय, के अस्पताल, के खानेपानी, के गाउँबस्ती–सहर सबै–सबै बारुदको गन्धमा निसास्सिएका छन् । सनककै भरमा भग्नावशेष भएका छन् । 

लेबनान र प्यालेस्टाइन दुबैमा इजरायली रक्षा बल (आइडीएफ) को नृशंस आक्रमणको सिलसिला जारी छ ।

सन् २०२३ को अक्टोबरयता ३६५ वर्ग किलोमिटर क्षेत्र रहेको गाजामा केही अघिसम्म ७२ हजार ४ सय ४६ जनाको हत्या गरिएको छ । हत्या हुनेमा २० हजार १ सय ७९ बालबालिका, १२ हजार ५ सय महिला, २ सय ६२ जना पत्रकार छन् । 

खान युनुसको पूर्वी भागमा दाउरा खोज्न गएका १३ वर्षीय अलि अबु ताएरलाई इजरायली ‘क्वाडकप्टर’ ड्रोनले गम्भीर घाइते बनायो । उनी अस्पतालबाटै आफ्नो जीवन रक्षाका लागि सहायताको मागिरहेका छन् । पूर्वी गाजाको शान्ती शिविरमा मध्यरात भएको हवाई हमलामा मारिएका आफ्ना काकाको शव बोकेर बालक सडकमा रुँदै हिँडिरहेका छन् ।

मान्छे मार्न अत्याधुनिक हतियार र एआईको प्रयोग सामान्य बनेको छ । र, दुनियाँले यो तमास प्रत्यक्ष प्रसारणबाट हेरिरहेको छ । 

एकान्त स्थानमा एक्लो सिपाहीलाई निरन्तर ड्रोनले लखेटेका भिडियोहरू जताततै भेटिन्छन् । एआईले चलाएको ड्रोनसामु हात जोडेर जीवनको भिख माग्दा माग्दै सिपाही ढलेका दृश्य इन्टरनेटको दुनियाँमा छ्यापछ्याप्ती छन् । त्रासदी सामान्य जस्तै बन्दै गएको छ । नरसंहार ‘लाइभ टेलिकास्ट’ छ ।

यी सबै खबर र चर्चाले जोकोहीलाई आकुल बनाइरहेको छ । अमिलो मनले निरीहतापूर्वक विश्वले त्रासदी नियालिरहेको छ । त्रासदीका दृश्यले मानवतालाई नै रुवाएको छ । 

यो देख्दा–देख्दै पनि तपाईंको मन व्याकुल छैन भने मान्नुस् तपाईंमा केही समस्या छ । र, त्यो समस्या विल्कुल सामान्य होइन । सघन परीक्षणको योजना बनाउनु अघि तपाईंले आफैभित्र भएको मानवताको ढुकढुकी जाँच्नका लागि ‘द भ्वाइस अफ हिन्द रजाब’ सिनेमा हेर्न सक्नु हुन्छ ।

काउथर बेन हानिया निर्देशित जम्मा १ घण्टा २१ मिनेट लामो प्यालेस्टीनी भाषाको सिनेमाले हामी भित्र ओइलाउन खोजेको मानवताको फूललाई थोरै भए पनि फक्रन टेवा पुर्‍याउँछ । 

चलचित्रमा जम्मा चार जना कलाकार छन् । सम्पूर्ण दृश्य केवल तीनवटा लोकेसनमा कास्ट गरिएको छ । अधिकांश संवाद टेलिफोनमै चलेको देखिन्छ । 

इजरायली आक्रमण चलिरहेको प्यालेस्टाईनको वेस्ट बैंक क्षेत्र अन्तर्गत रमल्लाहमा रहेको मानवीय सहायता संस्था ‘रेड क्रेसेन्ट’को कार्यालयमा एउटा फोन कल आउँछ । फोनमा ६ वर्षीय बालिकाको आवाज सुनिन्छ । 

उनी गाजाको कुनै गल्लीबाट बोलिरहेकी हुन्छिन् । उनको नाम हो– हिन्द रजाब । आफ्नो काकाको परिवारका ६ जनासहित निस्किएका उनीहरू इजरायली फौजको आक्रमणमा पर्छन् । आक्रमणमा उनीसँग रहेका सबै जना मारिन्छन् । तर अबोध उमेरकी हिन्द रजाबलाई सबै मारिएको पत्तो हुँदैन । 

उनलाई सबै जना सुतिरहेजस्तो लाग्छ । हिन्द रजाबको फोनले रेड क्रेसेन्टको कार्यालयमा हलचल मच्चाइदिन्छ । उनीहरूको उद्धार टोली घटनास्थलभन्दा जम्मा ८ मिनेटको दुरीमा हुन्छ तर इजरायली सैनिकको अनुमति बेगर त्यहाँ जान मिल्दैन । 

THE-VOICE-OF-HIND-RAJAB-4065625516

भयानक गोलाबारीमा मारिएका सबै व्यक्तिहरूको बिचमा फसेकी ६ वर्षीय हिन्द रजाबले निरन्तर फोनमा आफूलाई बचाउन आग्रह गर्छिन् । 

चलचित्रमा हिन्द रजाबको वास्तविक आवाज प्रयोग गरिएको छ । उनी वालसुलभ शैलीमा गोलाबारी र हमलाको अवस्थाबारे बताउँछिन् । उनी बसेको मोटरको झ्यालमा गोलीले छेडेको प्वालबाट देखिएको अवस्थाबारे हामी फोनमा उनको आवाजमार्फत सुन्न सक्छौँ ।

हिन्द रजाबको सन्देशले रेड क्रेसेन्टको कार्यालयमा ठुलो बेचैनी ल्याइदिन्छ । हरेक प्रयत्नहरू गरिन्छन् । अन्ततः साँझको समयमा उद्धार एम्बुलेन्सले घटनास्थल पुग्ने अनुमति पाउँछ । अनुमति पाउनासाथ हिँडेको एम्बुलेन्स पनि करिब ४०० मिटर नजिक पुग्नासाथ इजरायली फौजको हमलामा पर्छ । सबै उद्धारकर्ता मारिन्छन् ।

उद्धारको कुनै विकल्प बाँकी रहँदैन ।

साँझको करिब ७ः३० बजेसम्म हिन्द रजाबको आवाज फोनमा आइरहेको हुन्छ । त्यसपछि उनी सम्पर्क विहीन हुन्छिन् र सिनेमा सकिन्छ । 

फाइनान्सियल टाइम्सका अनुसार स्वतन्त्र खोजकर्ताहरूको समूहले मोटरभित्र बच्चा भएको थाहा हुँदाहुँदै पनि इजरायली फौजले आक्रमण गरेर उनको हत्या गरेको पत्ता लगाएको उल्लेख गरेको छ ।  

यो सिनेमाले संसारभर चर्चा र वाहवाह पाएको छ । गत सेप्टेम्बरमा इटालीको भेनिसमा ८२औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भयो । महोत्सवमा ‘द भ्वाइस अफ हिन्द रजाब’ पनि देखाएको थियो । 

चलचित्र सकिनासाथ उपस्थित दर्शक, समीक्षक एवं कला पारखीहरूले २३ मिनेटभन्दा लामो ‘स्टान्डिङ ओभेसन’ (सिनेमाको सम्मानमा उभिएर ताली बजाउने) दिए । चलचित्र देखाएको हल ‘फ्री फ्री प्यालेष्टाइन’को नाराले गुञ्जायमान भयो । 

जम्मा ८१ मिनेटको चलचित्रले संसारभरका नामुद चलचित्र पारखीहरूको भिडमा २३ मिनेट भन्दा बढीको स्ट्यान्डिङ ओभेसन पाउनु आफैमा अभूतपूर्व घटना थियो । यो आजसम्मकै सबैभन्दा लामो अवधिको स्ट्यान्डिङ ओभेसन थियो ।

फिल्मले हामीलाई हिन्द रजाबको आर्तनादसम्म मात्रै डोर्‍याउँदैन । युद्धमा जानाजान चलिरहेको नरसंहारको झलक पनि दिन्छ । सिनेमाले हाम्रो अन्तर्राष्ट्रिय समुदाय, युद्ध खटिएका उद्धारकर्ताको निरीहता तथा मानवीय सहायता संस्थाहरूको विवशतालाई पनि हिन्द रजाबको आवाजबाटै मुखरित गर्छ ।

रेड क्रेसेन्टको कार्यालयको एउटा कोठामा भएको टेलिफोन संवाद तथा त्यसले सिर्जना गरेको बेचैनीको दृश्यबिच हामी गाजामा चलिरहेको हत्या र विध्वंसलाई नजिकैबाट अनुभव गर्न सक्छौँ । चलचित्रका पात्रहरूको व्यवहार, मनोदशा र पीडामार्फत अभिव्यक्त हुने भावनामा हामी आज पनि संसारमा मानवता ज्युँदै भएको बोध गर्न सक्छौँ । 

अबोध बालिकाको उद्धारमा देखिएको हुटहुटीमा हामी जीवनप्रतिको प्रेम बाचिरहेको देख्न सक्छौँ । जीवन र जिजीविषाको दर्पणमा विद्यमान ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’को पिँजडामा कैद मान्छेको नियतिको झल्को ठम्याउन सक्छौँ । 

प्यालेस्टाइनमा चलिरहेको नरसंहारलाई न्यूनीकरण गर्दै युद्धको सामान्य क्षतिका रूपमा प्रस्तुत गर्ने प्रयासबाट दिक्दार हुँदै निर्देशक हानियाले भनेकी छन्, ‘मलाई लाग्छ त्यहाँ जे भइरहेको छ, त्यो असाध्यै अमानवीय काम छ । त्यसैले सिनेमा, कला वा अभिव्यक्तिका हरेक प्रयासबाट त्यहाँको मानवता विरोधी कर्मलाई हामीले सिङ्गो संसारसामु पस्कनै पर्छ । र, मलाई लाग्छ हामीले त्यसमा थोरै भए पनि हिस्सेदारी जनाएका छौँ ।’

निश्चय पनि डिजिटल सञ्चारको कोलाहलमा हिन्द रजाबको स्वर जस्तै सत्य पनि निसासिएर मारिएको छ । यस्तो समयमा हामीले सिनेमा, कला वा अभिव्यक्तिका सबै माध्यमहरूलाई मानवताकै पक्षमा प्रयोग गर्नु पर्नेछ ।

हामी भित्रको मानवीय गुणलाई निरीह, विवश र भुत्ते हुनबाट बचाइराख्न यस्ता चलचित्रहरूले पक्कै पनि मरुभूमिमा पानीकै जस्तो काम गर्छ । आफू भित्र मुर्झाउन खोजेको मानवताको फुललाई फक्राईंराख्न यो सिनेमा सहयोगी हुन सक्छ ।

‘द भ्वाइस अफ हिन्द रजाब’ युद्धभूमिमा फुलेको कलिलो एउटा फूल जस्तै छ, जसले तपाईं भित्रको संवेदनाको झिल्कोलाई बौरिन मद्दत गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित बास्तोला
रोहित बास्तोला
लेखकबाट थप