जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गोली कसले चलायो भन्ने कुरा यकिन गर्न नसकिएको बताएको छ ।
- आयोगले ब्यालेस्टिक र फरेन्सिक रिपोर्टका आधारमा कति मिलिमिटरको गोली प्रयोग भएको थियो भन्ने प्राविधिक तथ्य फेला पारे पनि गोली चलाउने व्यक्तिको पहिचान गर्न चुनौती देखिएको जनाएको छ ।
- आयोगको निष्कर्ष छ कि गोली प्रदर्शनकारीको घेराभित्रैबाट चलेको थियो र सुरक्षा निकायबाट गम्भीर त्रुटि भएको छ ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गोली कसले चलायो भन्नेकुरा यकिन गर्न नसकिएको बताएको छ ।
नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै आयोगद्वारा गठित ‘भदौ २३ र २४ गतेको आन्दोलन जाँचबुझ समिति’की संयोजक एवं आयोग सदस्य डा लिली थापाले गोली कसले हानेको हो, कुन गोली कहाँबाट आएको हो ? भन्ने यकिन गर्न नसकिएको स्पष्ट पारिन् ।
आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग भएको उनले स्पष्ट पारिन् । आयोगले ब्यालेस्टिक र फरेन्सिक रिपोर्टका आधारमा कति मिलिमिटरको गोली प्रयोग भएको थियो भन्ने प्राविधिक तथ्य फेला पारे पनि गोली चलाउने व्यक्तिको पहिचान गर्न भने चुनौती देखिएको जनाएको छ ।
अनुसन्धानका क्रममा प्राप्त फरेन्सिक रिपोर्टलाई आयोगले आफ्नै विशेषज्ञ डा हरिहर बस्तीमार्फत विश्लेषण गराएको थियो । उनकाअनुसार प्रदर्शनकारीलाई लागेका अधिकांश गोली छाती र पेटभन्दा माथिल्लो भागमा रहेको पाइएको छ ।
विशेष कार्यदल (एसटीएफ) अग्रपङ्क्तिमा तैनाथ रहेको र संसद् भवन क्षेत्रबाट गोली चलेको देखिए पनि कुन गोली कसले चलाएको हो भन्ने विषयमा यकिन हुन नसकेको उनको भनाइ छ । यद्यपि, गोली प्रदर्शनकारीको घेराभित्रैबाट चलेको निष्कर्षमा आयोग पुगेको छ ।
प्रतिवेदनले सुरक्षा निकायबाट गम्भीर त्रुटि भएको औँल्याएको छ । कुनैपनि विशेष परिस्थितिमा बल प्रयोग गर्नुपर्दा घुँडामुनि गोली चलाउनुपर्ने सुरक्षा संयन्त्रको विश्वव्यापी मान्यता र प्रचलित कानुनको सिद्धान्त पालना नगरिएको आयोगको ठहर छ । –
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण