बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रियसभा निर्वाचन : मतदानका लागि जनप्रतिनिधिहरू विराटनगर केन्द्रित

शनिबार, १० माघ २०८२, १४ : ५९
शनिबार, १० माघ २०८२

विराटनगर । आइतबार हुने राष्ट्रियसभा निर्वाचनका लागि पालिका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष तथा प्रदेशका सांसदहरू विराटनगर केन्द्रित भएका छन् । 

कोशी प्रदेशमा ३ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । अन्य तर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिल थापा भने निर्विरोध भइसकेका छन् । बाँकी दुई पदमा चार जनाको प्रतिस्पर्धा हुँदै छ ।

कांग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपानेको उम्मेदवारी परेको छ । 

उम्मेदवारी दिएका नेताहरू आफ्ना एजेन्डासहित मतदाता (प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख) कहाँ पुगेका छन् । काँग्रेस–एमाले र जसपाको मत भार दुई तिहाइ बढी भएकोले उनका उम्मेदवारले नै जित्नेमा शङ्का छैन । तर, उनीहरूलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले चुनौती दिँदै छन् । 

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य नयाँ आउने व्यवस्था छ । जसअनुसार यस पटक निर्वाचनबाट १८ जना राष्ट्रियसभामा जानेछन् । दलित कोटाबाट कोशीबाट माओवादीका गोपी अछामी, अन्य समूहबाट एमालेका देवेन्द्र दाहाल र महिला कोटाकी इन्दु गौतमको कार्यकाल सकिने भएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो ।

कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता भएपनि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि २ जना पालिका प्रमुख, २ जना पालिका अध्यक्ष, १ जना पालिका उपाध्यक्ष र १ जना प्रदेश सांसदले राजीनामा दिएर प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । 

जसमा राप्रपाका प्रदेश सांसद भक्तिप्रसाद सिटौला झापा–४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडिया एमालेबाट मोरङ–२ बाट उम्मेदवारी दिँदा ओखलढुङ्गा निर्वाचन क्षेत्रमा एमालेबाट लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा उम्मेदवार बनेकी छिन् । 

नेकपाले इलाम २ बाट सूर्योदयन नगरपालिकाका रणबहादुर राई र सोलुखुम्बुबाट असिम राईलाई उम्मेदवार बनाएको छ । यस्तै उदयपुर लिम्चिङबुङका अध्यक्ष मेजर राई उदयपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । 

उनीहरूको राजीनामासँगै कोशीमा ९२ जना प्रदेशसभा सदस्य कायम छन् भने स्थानीय तहका २६९ प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष कायम भएका छन् । प्रदेशसभा सदस्यको मत भार ५३ हो । 

पालिकाका प्रतिनिधिको मत भार १९ रहेको छ । प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार १७२, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २५९, राप्रपाको ३४१, नेकपा एसको ३२६, जसपाको १२९ र स्वतन्त्रको ५७ मत भार कायम भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप