बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म

सोमबार, १२ माघ २०८२, ०४ : ३७
सोमबार, १२ माघ २०८२

सारांश

  • धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए, उनले लामो समय दलित अधिकारको लागि वकालत गरे।
  • पासवानले चुनावमा ७,९०४ मतभार प्राप्त गरे, उनले दलित समुदायको उत्थानको लागि आवाज उठाउने बताए ।
  • गुप्ताले पासवान सरल, अनुशासित र जनमुखी भएको बताए, उनले जनताको सेवामा रमाउने नेताको रूपमा चिनिन्छन्।

रौतहट । विगत ३५ वर्षदेखि दलित समुदायको हकअधिकारका क्षेत्रमा वकालत गर्दै आएका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट दलित ‘क्लष्टर’बाट उम्मेदवारी दर्ता गराएका पासवान आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भएका हुन् । उनले सात हजार ९०४ मत भार प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका रामनन्द प्रसादले एक हजार ३७६ जनता समाजवादी पार्टीकी चमेली देबी दासले २०९ मत भार प्राप्त गरे ।

निर्वाचित पासवानले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । उनी लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध थिए । नेता पासवानले बाल्यकालदेखि नै समाजमा व्याप्त विभेद, अन्याय र बहिष्करण विरुद्ध आवाज उठाउँदै आएका थिए ।

रौतहट परोहा नगरपालिका–३ का पासवानले राजनीति शास्त्रमा स्नातक गरेका छन् । साधारण परिवारमा जन्मिएकी पासवानले बाल्यकालमै दलित समुदायले भोग्दै आएको पीडा, अपमान र अवसरको अभाव नजिकबाट अनुभव गरेको बताउँछन् । यही अनुभवले पद र प्रतिष्ठाभन्दा माथि उठेर दलित हकअधिकार, सामाजिक न्याय र समावेशी लोकतन्त्रको स्थापनाका लागि निरन्तर आफूलाई सङ्घर्षरत रहेको उनको भनाइ छ ।

पासवानले विभिन्न गैरसरकारी संस्थामार्फत समाजसेवामा योगदान पुर्‍याएबापत अन्तर्राष्ट्रियस्तरका पुरस्कार प्राप्त गरेका छन् । हाल उनी दलित सङ्घको केन्द्रीय महासचिवको जिम्मेवारीमा पनि छिन् ।

दलित समुदायको हकअधिकारका लागि आफू निरन्तर सङ्घर्षरत रहे पनि सोचे जस्तो उपलब्धि प्राप्त गर्न नसकेको उनको गुनासो छ । दलित समुदायको आर्थिक सामाजिक विकासका लागि अझै पनि निस्वार्थ भएर लडिरहने उनको प्रतिबद्धता छ । पासवानले राष्ट्रिय सभामा गएर पनि दलित समुदायको उत्थानका लागि आवाज बुलन्द गर्ने प्रतिक्रिया दिए। “म दलितको मुद्दालाई राष्ट्रियसभा मार्फत उठाउनेछु”, उनले भनिन्, “दलित मुक्तिको आन्दोलनमा जहाँ रहेर भए पनि सधैँ मेरो सहभागिता, समर्थन रहनेछ ।”

उनको जीवनशैली सरल, अनुशासित र जनमुखी रहेको नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए । “आर्थिक रूपमा सामान्य पृष्ठभूमिबाट आउनुभएका पासवान विलासी जीवनभन्दा जनताको सेवामा रमाउने नेताका रूपमा चिनिनुहुन्छ,”, गुप्ताले भने, “उच्च सोच, कम अपेक्षा र दृढ इमानदारी उहाँको पहिचान हो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप