बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गौरमा नागरिक समाजको अगुवाइमा सद्भाव र्‍याली, कर्फ्यु खुकुलो

सोमबार, ११ फागुन २०८२, १० : २२
सोमबार, ११ फागुन २०८२

सारांश

  • रौतहटको गौरमा साम्प्रदायिक तनाव मत्थर हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ।
  • हिन्दु र मुस्लिम समुदायबीचको विवाद समाधानका लागि शान्ति सद्भाव र्‍याली निकालियो, जसमा स्थानीयको उत्साहजनक सहभागिता रह्यो।
  • कर्फ्यु खुकुलो बनाएसँगै बजार र सडकमा सर्वसाधारणको चहलपहल सुरु भएको छ, प्रशासनले सुरक्षा अवस्थाको समीक्षा गरिरहेको छ।

रौतहट । रौतहटको सदरमुकाम गौरमा केही दिनदेखि देखिएको साम्प्रदायिक तनाव मत्थर हुँदै गएपछि जनजीवन सामान्य बन्न थालेको छ। गत बिहीबार राति गौर नगरपालिका–६ सबगढास्थित मस्जिद नजिकै बाजा बजाउँदै जन्ती जाने विषयमा दुई समुदायबिच उत्पन्न विवादले हिंसात्मक रूप लिएपछि तनावग्रस्त बनेको यो क्षेत्र अहिले शान्तितर्फ उन्मुख भएको हो। 

स्थितिलाई पूर्ण रूपमा नियन्त्रणमा लिन र आपसी विश्वास पुनर्जीवित गर्न नागरिक समाजको अगुवाइमा सोमबार सबगढामा विशाल शान्ति सद्भाव र्‍याली निकालिएको छ। हिन्दु र मुस्लिम समुदायको उत्साहजनक सहभागिता रहेको उक्त र्‍यालीमा स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणले एकसाथ ऐक्यबद्धता जनाएका छन्। 

सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले प्रभावित बस्तीहरूको परिक्रमा गर्दै आपसी भाइचारा, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गरेको छ। केही दिनदेखि फैलिएको अविश्वास र आशङ्कालाई चिर्दै समुदायबिच पुनः मैत्रीपूर्ण वातावरण बनाउन यो र्‍याली कोसेढुङ्गा साबित हुने सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।

1000481737

तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। तर, नागरिक समाजको पहल र सुरक्षा अवस्थामा सुधार आएपछि प्रशासनले सोमबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु खुकुलो बनाएको छ। 

१० बजेपछिको सुरक्षा अवस्थाको विश्लेषण गरी कर्फ्यु पूर्ण रूपमा हटाउने वा निरन्तरता दिने भन्नेबारे सुरक्षा निकायबीच छलफल भइरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्। कर्फ्यु खुकुलो भएसँगै बजार र सडकमा सर्वसाधारणको चहलपहल सुरु भएको छ।

नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीको नेतृत्वमा सम्पन्न भएको सद्भाव र्‍यालीमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नारायण दल गणका प्रमुख कर्णेल विश्वास विष्ट, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी लगायतको उपस्थिति थियो। स्थानीय अगुवाहरूले कुनै पनि प्रकारको उक्साहटमा नलाग्न र सामाजिक सद्भाव बिग्रने गतिविधि नगर्न सबैलाई अपिल गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप