कैलालीबाट निर्वाचन आनन्द चन्द : ‘समाजसेवा गर्न राजनीतिमा आएको हुँ’
धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा पुराना दललाई फराकिलो मतान्तरमा हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आनन्द चन्द विजयी भएका छन् । केही समयअघि मात्रै रास्वपा प्रवेश गरेका उनी निर्वाचित भएसँगै संसदीय यात्रा तय गरेका छन् ।
बैतडीमा जन्मिएका चन्दको परिवार पछि धनगढी बसाइँ सर्यो । हाल उनी धनगढी उपमहानगरपालिकाका स्थायी बासिन्दा हुन् । ‘शिक्षण पेसामा भएको मान्छे हुँ । राजनीतिमा हामी थिएनौँ । समाजसेवा गर्ने राजनीतिमा आएको हुँ, जनताले विश्वास गरेर जिताए,’ उनी भन्छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष भन्दा बढी उपप्राध्यापकका रूपमा सेवा गरेका चन्दले जैविक रसायनशास्त्रमा स्नातकोत्तर र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीसँगको सहकार्यमा विद्यावारिधि गरेका छन् ।
उनी विज्ञान, सुशासन र जनस्वास्थ्यका क्षेत्रमा लामो अनुभव सँगालेका अभियन्ता पनि हुन् । नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानमा उनले अग्रणी भूमिका खेल्दै आएका छन् । आयरल्यान्ड, बेलायत, मेक्सिको लगायत देशमा नेपालको प्रतिनिधित्व गरिसकेका चन्दसँग बीपी मेमोरियल प्लान्टेरियमको कार्यकारी निर्देशक र नेपाल खाद्य संस्थानको अध्यक्ष भएर काम गरेको प्रशासनिक अनुभव पनि छ ।
‘चन्द्रमामा पुर्याउने होइन, आधारभूत समस्या सुल्झाउने हो,’ उनले भने । चुनाव जितेपछि ठुला र पूरा नहुने आश्वासन बाँड्ने परिपाटी विपरीत चन्दले आफू भुइँमान्छेका समस्यामा केन्द्रित हुने बताएका छन् ।
‘जनताको माग चन्द्रमामै पुर्याउने वा सिङ्गापुर बनाउने भन्ने छैन, आफ्नो योजनाबारे प्रष्ट पार्दै उनले भने, ‘हामीले आधारभूत आवश्यकता पूरा गरिदिनुपर्छ । किसानले मल, बिउ र सिँचाइ समयमै पाउनुपर्यो, उब्जनीको समर्थन मूल्य पाउनुपर्यो । खानेपानी, शिक्षा र स्वास्थ्यका सामान्य समस्या समाधान गर्न सकियो भने पनि ठुलो राहत हुन्छ ।’0
उनले शिक्षा क्षेत्रमा विज्ञता हासिल गरेकाले देशभरिकै शिक्षाको अवस्था सुधार्न आफूले ठोस योजना बनाएको र त्यसलाई संसद्मा प्रस्ताव राख्ने उनले बताए । चुनाव जितेपछि नेता काठमाडौँ छिर्ने र गाउँ नफर्किने गुनासोलाई चिर्न चन्दले नयाँ उपाय अघि सारेका छन् ।
‘सधैं काठमाडौँ मात्र बस्ने पनि होइन, सधैं धनगढी बस्ने पनि होइन । म एउटा तालिका सार्वजनिक गर्छु । जसअनुसार कति समय संसद्मा बिताउने र कति समय कैलालीका जनताको घरदैलोमा बिताउने भन्ने प्रष्ट हुनेछ,’ उनले भने ।
कैलाली–५ मा रानाथारु र थारु समुदायको परम्परागत भोट बैंकलाई तोड्दै चन्दले पाएको मतलाई समाज परिवर्तनको घण्टीको रूपमा चन्दले लिएका छन् ।
‘यो समुदाय वा त्यो समुदाय भन्दा पनि समाजले परिवर्तन खोज्यो । एक ठाउँमा मात्र होइन, सबै वडामा हामीलाई साथ मिल्यो,’ चन्दले भने, ‘यो जितसँगै निराशालाई आशामा बदल्ने जिम्मेवारी थपिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण