जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
सारांश
- हतुवागढीबाट बराहक्षेत्रसम्म चल्ने बोटले स्थानीयको आवतजावत सहज बनाएको छ।
- जलमार्गबाट तराईका शहरमा छिट्टै पुग्न र फर्कन सकिने भएको छ।
- जेटबोट सञ्चालनले गर्दा बिरामीलाई उपचारका लागि तराईका अस्पताल लैजान सजिलो भएको छ।
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ । जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको छ ।
दूधकोशी र अरुणजस्ता ठुला नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै आएका थिए । अहिले अरुण नदीमा बोट सञ्चालन भएपछि दैनिक यात्रामा सहजता आएको छ ।
बोट सञ्चालन भएपछि तराईका सहर पुगेर सोही दिन घर फर्किन सकिने अवस्था बनेको स्थानीय इन्द्र थापाले बताए । भिरालो बाटो हुँदै तीनदेखि चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा जलयात्राले निकै सहज बनाएको उनको भनाइ छ । जलमार्गबाट करिब १९ किलोमिटर दूरी २० देखि २५ मिनेटमै पार गर्न सकिने उनले जानकारी दिए ।
“बोट सञ्चालनले दक्षिणी भेगका नागरिकलाई ठुलो राहत मिलेको छ”, थापाले भने, “सडक मार्गबाट यात्रा गर्न नदीमा पुल नहुँदा समस्या छ । अहिले जलयात्रामार्फत एकैदिनमा तराईका सहर पुगेर फर्किन सक्ने वातावरण बनेको छ ।”
बराह क्षेत्रसम्म जलयात्रा गरेको रु ५०० भाडा लाग्छ । अरुण नदीमा पानी जेटबोट सञ्चालन भएपछि बिरामीलाई छिट्टै तराईका ठुला अस्पतालमा पुर्याउन पनि सहज भएको स्थानीय मिलन राईले बताए । हतुवागढीबाट भोजपुर सदरमुकाम हुँदै लेगुवा–हिले–धनकुटा भएर तराई झर्न करिब २०० किलोमिटर दूरी पार गर्नुपर्ने भएकाले दक्षिणी भेगका नागरिकका लागि जलमार्ग निकै उपयोगी बनेको उनको भनाइ छ ।
“हामी दक्षिणी क्षेत्रका नागरिकलाई भोजपुर सदरमुकाम हुँदै यात्रा गर्दा दूरी धेरै लामो पर्थ्यो”, राईले भने, “अहिले बिरामी हुँदा छिट्टै उपचारका लागि सहर पुग्न सकिने भएको छ । यसले स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको छ ।”
बोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोड्न थप सहज भएको हतुवागढी गाउँपालिकाले जनाएको छ । जलयात्रालाई पर्यटनसँग समेत जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधार विकासमा गाउँपालिका जुटिरहेको अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।
हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दूरी छोटो पर्ने भएकाले यसले यहाँको विकासमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ । “पानी जेटबोट सञ्चालनले यहाँका नागरिकलाई धेरै सहज भएको छ”, अध्यक्ष राईले भने, “दूधकोशी र अरुणजस्ता ठुला नदीमा पुल निर्माण ढिलाइ हुँदा सवारी आवतजावतमा समस्या छ । जलयात्रालाई पर्यटनसँग जोडेर विकासका काम अघि बढाइरहेका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण