आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कैलाली प्राइड लिग : बुढीगंगा र घोडाघोडी नगरपालिका विजयी

शुक्रबार, २९ फागुन २०८२, १८ : ३३
शुक्रबार, २९ फागुन २०८२

धनगढी । कैलालीमा जारी 'कैलाली प्राइड लिग–४’ अन्तर्गत आज सम्पन्न दोस्रो दिनका खेलहरूमा बुढीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाले जित दर्ता गरेका छन् ।

आजको पहिलो खेलमा बुढीगंगा नगरपालिकाले परशुराम नगरपालिकालाई ३७ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको बुढीगंगाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रनको योगफल तयार पारेको थियो। बुढीगंगाका लागि दिनेश वडले ४३ बलमा ७ चौका र २ छक्काको मद्दतले ५४ रनको अर्धशतकीय पारी खेले। त्यस्तै सुबोध ऐरले २३ रन जोडे। बलिङतर्फ परशुरामका महेन्द्र धामीले ३ विकेट र अर्जुन बिकले २ विकेट लिए ।

१४३ रनको लक्ष्य पछ्याएको परशुराम नगरपालिका १७.५ ओभरमा १०५ रनमै समेटियो। परशुरामका लागि किरण धामीले २२ र महेन्द्र धामीले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चल्न सकेनन्। बुढीगंगाका सुबोध ऐरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने नागराज सिंह र सौर्य श्रेष्ठले समान २–२ विकेट लिए।

दोस्रो खेलमा घोडाघोडी नगरपालिकाले भीमदत्त नगरपालिकामाथि ३ रनको अत्यन्तै रोमाञ्चक जित दर्ता गरेको छ। पहिले ब्याटिङ गरेको घोडाघोडीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन बनाएको थियो। घोडाघोडीका लागि नवयुग बस्नेतले २५ र आयुष दवारियाले १८ रनको योगदान दिए। बलिङमा भीमदत्तका लोकेन्द्र चन्दले घातक बलिङ गर्दै ३.१ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

१३७ रनको मध्यम लक्ष्य पछ्याएको भीमदत्त नगरपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३३ रन मात्र बनाउन सक्यो। भीमदत्तका लागि अरुण ऐरीले ३८ बलमा ५० रनको अर्धशतकीय पारी खेले भने राहुल चन्दले ४७ रन बनाए। खेलको अन्तिम ओभरमा कसिलो बलिङ भएपछि भीमदत्त लक्ष्य भन्दा ३ रनले पछि पर्यो। घोडाघोडीका लागि हरिश बस्नेत, आयुष दवारिया, रुद्र राज आचार्य र रुपेश थापाले समान १–१ विकेट लिए।

यस जितसँगै बुढीगंगा र घोडाघोडीले लिगमा महत्त्वपूर्ण अंक जोडेका छन्। प्रतियोगिता अन्तर्गत भोलि पनि लिग चरणका अन्य खेलहरू हुनेछन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप