बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कर्णालीको राजनीतिमा ‘ब्रेक थ्रु’ गरेकी बासना

मङ्गलबार, १० चैत २०८२, ०८ : ००
मङ्गलबार, १० चैत २०८२

सारांश

  • बासना थापा दैलेख निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन्, र कर्णालीबाट प्रत्यक्ष चुनाव जित्ने पहिलो महिला बनिन्।
  • उनले एमालेको प्रभाव रहेको क्षेत्रमा कांग्रेसको झण्डा गाड्न सफल भइन्, र शिक्षा, स्वास्थ्य र आत्मनिर्भरतालाई चुनावी एजेण्डा बनाइन्।
  • बासनाले कर्णालीका महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् गर्ने योजना बनाएकी छिन्।

काठमाडौँ । ‘के महिलाले पनि चुनाव जित्छन् र ?’ चुनावअघि नेपाली कांग्रेसकी युवा नेतृ बासना थापाले सबैभन्दा बढी सामना गर्नु परेको प्रश्न हो यो । कर्णालीको विकट भूगोल, जटिल सामाजिक संरचना र जकडिएको पितृसत्तात्मक प्रवृत्तिबिच प्रत्यक्ष चुनाव जितेर संसद् पुग्नु वास्तवमै ‘फलामको चिउरा चपाउनु’ सरह नै छ । तर यी सबै कुरालाई पन्छाएर सहजताका साथ परीक्षा पास गरेकी छन् बासनाले ।

उनी दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनको जित सामान्य मात्रै रहेन, कर्णालीका लागि प्रत्यक्ष चुनाव जित्ने पहिलो महिलाको इतिहास समेत रचिन् । जितसँगै रेकर्ड समेत बनेकोमा एकदमै खुसी छिन् उनी । जनताले आफ्नो समाजसेवा र व्यक्तित्वलाई चुनाव जिताएर अनुमोदन गरेको उनी बताउँछिन् ।

‘दैलेख क्षेत्र नम्बर १ का मतदाताहरूले महिलाले पनि सक्छन् भन्ने कुरालाई प्रमाणित गरिदिनुभएको छ’, जितको खुसी साट्दै उनले भनिन् ‘उहाँहरुको भरोसामा अब खरो उत्रिनुपर्नेछ ।’ यो आफ्नो मात्र नभएर सिङ्गो कर्णालीका महिलाहरूको आत्मविश्वासको जित भएको उनी बताउँछिन् । उनका निकटतम प्रतिद्वन्द्वी थिए- एमाले नेता रवीन्द्रराज शर्मा ।

बासनाको जितले कर्णालीमा महिलाका लागि एउटा इतिहास मात्र लेखिएन, उनले १२ वर्षदेखि एमालेको अभेद्य लालकिल्लाको रुपमा परिचित उक्त क्षेत्रमा कांग्रेसको झण्डा गाड्न सफल भइन् ।

उनको जित तब मात्र सम्भव भएको हो, जब कांग्रेसले पनि पहिलो पटक कर्णालीको महिलालाई टिकट दिने आँट गर्‍यो । किनभने यो प्रदेशबाट आजसम्म कुनैपनि महिलाले प्रत्यक्ष चुनाव जितेर प्रतिनिधिसभा पुगेको रेकर्ड छैन ।

‘मेरो लागि यस पटकको टिकट एउटा अवसर मात्र थिएन, एउटा ठुलो अग्निपरीक्षा थियो’, उनी भन्छिन्, ‘एकातिर एमालेका स्थापित नेता थिए । अर्कोतिर देशैभरि फैलिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर र क्षेत्रका लागि पहिलो पटक महिला उम्मेदवार ।’ सुरु–सुरुमा त आफैंलाई चुनाव हार्छु कि भन्ने डर लागेको उनी सुनाउँछिन् ।

‘जब म गाउँ–गाउँ पुगेँ, कार्यकर्ता र जनतासँग घुलमिल भएँ, उहाँहरूको आँखामा देखिएको भरोसाले मेरो डर हराउँदै आत्मविश्वासमा बदल्यो,’ बासना भन्छिन् ।

दैलेख–१ को मतगणनाको सुरूवाततिरै रास्वपाले करिब ८ हजार मतले अग्रता बनाउँदा बासनाको ढुकढुकी बढेको थियो । हिजोको दिनमा सँगै उकाली-ओराली गरेको, सुख-दुःख साटेका मतदातासँग उनको विश्वास त्यत्तिकै थियो ।

basana thapa (2)

‘रास्वपाको भोट आधार सामाजिक सञ्जाल हो । हाम्रो क्षेत्रमा रास्वपाको आएको आठ हजार भोट हामीले सोचेको भन्दा धेरै थियो’, उनी भन्छिन्, ‘धेरै जनताले मान्छे चिनेर भोट हाल्नु भएछ । जो हिजोसम्म उनीहरूको सुख–दुःखमा सँगै थिए । जोसँग उनीहरू घुलमिल हुन सक्थे, उसैलाई रोजे ।’

कतिपयलाई लाग्दो हो जितका लागि बासनाले ठुलाठुला एजेन्डा र सपना बाँडिन् । तर होइन, चुनावमा उनले शिक्षा, स्वास्थ्य र आर्थिक आत्मनिर्भरता मात्र एजेन्डाको रुपमा अगाडि सारेकी थिइन् ।

‘मेरो ठुलो एजेन्डा थिएन । काम गरेर देखाउने प्रतिबद्धता मात्र थियो । विद्यालयहरूको भौतिक सुधार र गुणस्तरीय शिक्षा मेरो पहिलो प्राथमिकता थियो’, उनी सुनाउँछिन्, ‘स्वास्थ्य चौकीहरूको स्तरोन्नति र चिकित्सकहरूको व्यवस्थापनको कुरा पनि थियो ।’

बासना कर्णालीका महिलाहरूको अवस्था अहिले पनि चुनौतीपूर्ण रहेको बताउँछिन् । २०७४ सालको स्थानीय चुनावको सन्दर्भ निकाल्दै उनी भन्छिन्, ‘त्यतिबेला दलित महिला सदस्य खोज्न पनि गाह्रो थियो । अहिले केही चेतना फैलिएको छ, तर पर्याप्त छैन ।’ त्यहाँका महिलाहरू अझै पनि आर्थिक रूपमा आत्मनिर्भर छैनन्, जसले गर्दा उनीहरू राजनीतिमा खुलेर आउन सकिरहेको उनी बताउँछिन् ।

बासनाको जित पछाडिको एउटा कारण २०७४ सालको स्थानीय तह निर्वाचन पनि हो । उनी नारायण नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार बनेकी थिइन् । तर केही मतान्तरले पराजित भइन् । धेरैका लागि हार एउटा अन्त्य हुन्छ, तर उनका लागि त्यो नयाँ सुरुवात थियो । पराजित भए पनि उनी जनताको घरदैलोमा जान छाडिनन् । जन्मदिनमा केक काट्नुको सट्टा दुर्गमका स्कुलमा गएर कापी–कलम बाँड्न थालिन् । विपन्न समुदायसँग बसेर तीज मनाउनु र स्वास्थ्य सामग्री वितरण गर्नु उनको दैनिकी बन्यो । उनले देखाएको यो सेवाभावले नै जनताको मनमा उनको गहिरो छाप बस्यो ।

बासना कर्णालीका महिलाहरूको अवस्था अहिले पनि चुनौतीपूर्ण रहेको बताउँछिन् । २०७४ सालको स्थानीय चुनावको सन्दर्भ निकाल्दै उनी भन्छिन्, ‘त्यतिबेला दलित महिला सदस्य खोज्न पनि गाह्रो थियो । अहिले केही चेतना फैलिएको छ, तर पर्याप्त छैन ।’ त्यहाँका महिलाहरू अझै पनि आर्थिक रूपमा आत्मनिर्भर छैनन्, जसले गर्दा उनीहरू राजनीतिमा खुलेर आउन सकिरहेको उनी बताउँछिन् ।

बासना व्यवसायी पनि हुन् । उनले आफ्नो क्षेत्रमै होटल व्यवसाय गर्दै आएकी छन् । उनी राजनीतिमा आउनुअघि नै आर्थिक रूपमा स्वतन्त्र थिइन् । आफू आत्मनिर्भर नभएकाले मात्र १४–१५ लाख खर्च गरेर चुनाव लड्न सम्भव नहुने उनी सुनाउँछिन् ।

‘महिलाहरू जबसम्म आर्थिक रूपमा बलियो हुँदैनन्, तबसम्म उनीहरूले गर्ने निर्णयमा अरूको हस्तक्षेप रहिरहन्छ’, उनी अगाडि भन्छिन्, ‘कर्णालीका लागि मेरो एउटा मुख्य एजेन्डा महिलालाई आत्मनिर्भर बनाउनु पनि हो ।’

जन्मथलो काठमाडौं, कर्मथलो दैलेख

बासनाको जीवनलाई नजिकबाट नियाल्ने हो भने कुनै फिल्मी कथा भन्दा कम रोचक छैन । उनी काठमाडौंको हुनेखाने परिवारमा जन्मिन्, हुर्किन् । प्लस टु सम्मको अध्ययन कलंकीको एलआरआई जस्तो प्रतिष्ठित स्कुलबाट पूरा गरिन् । उनका हजुरबुवा २०१५ सालको चुनावमा तत्कालीन काठमाडौं क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भएका थिए । हजुरबुवाकै संरक्षण र स्कुलिङमा हुर्किएकी उनले बुवालाई सानैमा गुमाएकी थिइन् । उनका काकाहरू र परिवारका अन्य सदस्य कांग्रेसको राजनीतिमा थिए । त्यसैले उनले राजनीति विरासतमै पाएकी हुन् भन्न सकिन्छ ।

उनले पिपुल्स क्याम्पसको स्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेकी थिइन् । पिपुल्स क्याम्पसमै अध्ययन गर्दा दैलेखका रविन सिंह थापासँग प्रेम बस्यो । त्यो प्रेमका कारण २०५९ मा उनको जीवनले नयाँ मोड लियो । उनी प्रेम विवाह गरेर दैलेख पुगिन् ।

त्यो समय माओवादी द्वन्द्व उत्कर्षमा थियो । फोनको सुविधा थिएन, टावरहरू भत्काइएका थिए । काठमाडौंमा हुर्किएकी उनलाई दैलेखको त्यो समय निकै कष्टपूर्ण भयो । ती दिन अहिले सम्झिँदा पनि झसंग हुन्छिन् उनी ।

‘सुरूका ६–७ महिना त नयाँ ठाउँ रमाइलै भयो । तर पछि गाह्रो हुन थाल्यो’, उनी पुराना दिन सुनाउँछिन्, ‘मेरो परिवारले दिएको संस्कार जहाँ गए पनि आफ्नो घर सम्हाल्नुपर्छ भन्ने सोचले मलाई बाँधेर राख्यो । जेनतेन दिन काट्न थाले ।’

उनको पार्टी कांग्रेस संसद्मा अहिले सानो आकारमा खुम्चिएको छ । कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ । बासनाले पनि रचनात्मक प्रतिपक्षी सांसदको भूमिका निभाउनु पर्नेछ । ‘सरकार जसको भए पनि विकासको एजेन्डा साझा हुनुपर्छ । म संसद्मा  रचनात्मक प्रतिपक्षको भूमिका खेल्नेछु’, उनी भन्छिन्, ‘सरकारले गरेका राम्रा काममा साथ दिनेछु र गलत कामको खबरदारी गर्नेछु ।’

घरपरिवारमै अल्झिएका कारण २०६२/६३ को जनआन्दोलनपछि मात्र उनी दैलेखबाटै राजनीतिमा पनि सक्रिय हुन थालिन् । २०६४ सालको संविधानसभा निर्वाचनमा उनी गणेशबहादुर खड्काको चुनावी अभियानमा सक्रिय भइन् । उक्त चुनावमा महिला र युवाहरूको ‘क्याम्पेनिङ’ उनले सम्हालेकी थिइन् । त्यसमा उनले देखाएको सक्रियताले पार्टीभित्र उनको विशेष पहिचान स्थापित भयो । जसकारण २०७४ मा स्थानीय तह निर्वाचनमा उपमेयर र अहिले सांसदको टिकट हात पर्‍यो ।

हुन त राजनीति गर्ने मानिसको लक्ष्य प्रधानमन्त्री पदसम्म हुन्छ, त्यो स्वभाविक पनि हो । तर उनी आफ्ना लागि पद भन्दा ठुलो काम भन्ने मान्यता राख्छिन् ।

‘मलाई जनताले जुन भरोसाका साथ अहिले पठाउनु भएको छ, त्यो टुट्न दिने छैन । जसरी पनि काम गरेर देखाउनु छ’, बासना भन्छिन्, ‘पाँच वर्षपछि म फेरि जनताकै बिचमा जानु छ ।’ त्यसैले उनी अहिले विभिन्न पद भन्दा पनि दैलेख र कर्णालीको सेवामै समर्पित हुने सोच राख्छिन् ।

उनको पार्टी कांग्रेस संसद्मा अहिले सानो आकारमा खुम्चिएको छ । कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ । बासनाले पनि रचनात्मक प्रतिपक्षी सांसदको भूमिका निभाउनु पर्नेछ । ‘सरकार जसको भए पनि विकासको एजेन्डा साझा हुनुपर्छ । म संसद्मा  रचनात्मक प्रतिपक्षको भूमिका खेल्नेछु’, उनी भन्छिन्, ‘सरकारले गरेका राम्रा काममा साथ दिनेछु र गलत कामको खबरदारी गर्नेछु ।’

हिरोइन विपनाकी बहिनी हुन् बासना

अभिनेत्री विपना थापाको नाम नसुन्ने त कमै नेपाली होलान् । बासना विपनाकी बहिनी हुन् । उनी स्कुलमै छँदा दिदी विपनाले फिल्म क्षेत्रमा राज गर्न थालिसकेकी थिइन् । बासनालाई पनि त्यो क्षेत्रमा लाग्ने प्रशस्त अवसर थियो । दिदी विपनाको पनि उनलाई फिल्म क्षेत्रमा ल्याउने इच्छा थियो । तर उनको रुचि फिल्म अभिनय भन्दा समाजसेवामा बढ्दै गयो । दिदीले कलाकारिता गर्नुपर्छ भन्दा उनी स्काउट, लाइन्स क्लब मार्फत समाजसेवामा सक्रिय बन्थिन् ।

bipana-thapa

दिदीको रुचि कलाकारितामा भएपनि आफ्नो रुचि सानैदेखि समाजसेवामा रहेको उनी बताउँछिन् । बासना स्कुल पढ्दादेखि नै स्काउटको क्याप्टेन हुने र साथीहरूको समस्या शिक्षकसँग निर्धक्क राख्ने स्वभावकी थिइन् । त्यही बानीले उनी लायन्स क्लब र विभिन्न सामाजिक संस्थाहरूमा टिम क्याप्टेन र लिडरको भूमिका पाइन् ।

विवाहपछि लायन्स क्लबमार्फत आफूले दैलेखका विकट गाउँहरूमा धेरै काम गरेको उनी सुनाउँछिन् । २०७४ मा उपमेयर उठ्दा अभिनेत्री विपना थापा पनि उनको प्रचारमा पुगेकी थिइन् ।

बासनाले अध्ययन पनि जारी राखेकी छन् । उनी भारतबाट विद्यावारिधि गर्दैछिन् । शिक्षा र राजनीतिलाई सँगसँगै लैजानुपर्छ भन्ने उनको मान्यता छ ।

दैलेखको विकासमा बासनाको खाका

शिक्षा र स्वास्थ्यको गुणस्तर : विद्यालय र स्वास्थ्य चौकीको भवन मात्र बनेर पुग्दैन, त्यहाँ गुणस्तरीय शिक्षा र दक्ष चिकित्सकको व्यवस्था हुनुपर्छ भन्ने उनको पहिलो प्राथमिकता हो ।

basana thapa (3)

दैलेखको पेट्रोलियम र ग्यास खानी  : दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन् उनको प्रमुख राष्ट्रिय एजेन्डा हो । अहिले विश्वमा युद्ध चल्दा हाम्रो भान्छामा ग्यासको अभाव भइरहेको छ । यदि हामीले हाम्रै जिल्लाको ग्यास निकाल्न सक्यौँ भने हामी आत्मनिर्भर हुने उनको सोच छ । यो योजनालाई सार्थक बनाउन उनी संसद्मा आवाज उठाउने दृढता व्यक्त गर्छिन् ।

पर्यटन र जडीबुटी : दैलेखको पञ्चकोशी (श्रीस्थान, नाभिस्थान, पादुका, धूलेश्वर, कोटिला), महाबु लेक र ३२ जातको उद्गम थलोका रूपमा यसको ऐतिहासिक महत्वलाई उनी विश्वमाझ चिनाउन चाहन्छिन् । त्यो क्षेत्रमा बाटोको पहुँच मात्र पुर्‍याउन सके यहाँ भारतीय पर्यटकको ओइरो लाग्ने उनको विश्वास छ ।

महिला सशक्तीकरण : कर्णालीका महिलाहरूलाई चुलोचौकोबाट बाहिर निकालेर आर्थिक रूपमा आत्मनिर्भर बनाउने उनको अर्को महत्त्वपूर्ण लक्ष्य हो । यसो गर्न सकियो भने कर्णालीका महिलाहरुको राज्यको विभिन्न निकायमा पुग्न सक्ने उनको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप