बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कम्युनिस्ट नेताका आ–आफ्नै डम्फु

लाजमर्दो जनमत आउँदा पनि शीर्ष नेता लिँदैनन् जिम्मेवारी

किन चाहियो कम्युनिस्ट नामधारी पसलहरू ?
मङ्गलबार, १० चैत २०८२, १७ : ३०
मङ्गलबार, १० चैत २०८२

सारांश

  • प्रतिनिधि सभा निर्वाचनमा रास्वपा र श्रम संस्कृति पार्टीले विजय हासिल गरे भने कम्युनिस्ट नामधारी दलहरूको लज्जास्पद हार भयो।
  • निर्वाचनपछि कम्युनिस्ट पार्टीहरूको पुनर्गठन कसरी सम्भव छ भन्ने बहस सुरु भएको छ, नेताहरूले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।
  • विश्लेषकहरूले कम्युनिस्टहरूको ओरालो यात्रा आकस्मिक नभएको र नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको बताएका छन्।

विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जनताले परिवर्तनको पक्षमा मत दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीले विजय हासिल गर्दा कम्युनिस्ट नामधारी विभिन्न पार्टीमात्रै होइन, परम्परागत दलहरू कांग्रेस र मधेशवादीहरूको पनि लज्जास्पद पराजय भएको छ ।

प्राप्त जनमत र नयाँ दुई पार्टीको उदयलाई लिएर विभिन्न टिका–टिप्पणी भइरहेकै छन् भने अर्कोतिर अब नेपालका वामपन्थी भनिएका दलहरूको पुनर्गठन कसरी सम्भव छ ? उनीहरू पुरानै अवस्थामा फर्किन सक्छन् कि पतन रोकिँदैन ? यो विषयमा पनि चर्चा र बहस जारी छ ।

कम्युनिस्ट पार्टीहरूमध्ये नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मात्रै संसदमा पुगेका छन् । ती पार्टी तेस्रो र चौथो स्थानमा छन् । अरु कम्युनिस्ट पार्टीहरूको अवस्था भने दयनीय बनेको छ । यद्यपि एमाले र नेकपाले पनि विगतको तुलनामा आधाजसो जनमत गुमाएका छन् ।

निर्वाचन सम्पन्न भएपछि नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का अध्यक्ष घनश्याम भुसालले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । उनको स्टाटसको शीर्षक नै ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?’ भन्ने प्रश्नबाट सुरु भएको छ ।

‘आफ्नो रूप हेरी–हेरी आफैँ हुन्छु दङ्ग, हुँदै नार्सिसस जस्तै सकिने त होइन ? वा नयाँ शक्ति र जीवनका साथ फिनिक्सझैँ अगाडि बढ्छ ?,’ उनले प्रश्न छोडेका छन् ।

तर, नयाँ कम्युनिस्ट पार्टी पुनर्गठनको रटान लगाउने उनको पार्टीले देशभरबाट समानुपातिकमा जम्मा पाएको मत भने ४ हजार ५१५ हो । यो जनमत र घनश्याम भुसालको राजनीतिक सिद्धान्तका भाषण तुलना गर्ने हो भने जनमतभन्दा भाषण नै ठुलो लाग्छ ।

पहिलो पटक निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को पराजय त्यस्तै लज्जास्पद छ । क्रियाशील भएको लामो समय भए पनि यो पार्टी पहिलो पटक निर्वाचनमा सहभागी भएको थियो । निर्वाचन सम्पन्न भएपछि सो पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफ्नो पार्टीले पाएको मतको र आगामी यात्राको बारेमा केही लेखेका छैनन् । बरु उनले रवि लामिछाने र बालेनको नाम लिँदै अहिले आएको जनमत नयाँ र आश्चर्यजनक नभएको बताएका छन् ।

‘यो चुनावमा पुराना संसदवादी दलको स्थान रास्वपाले लिएको पक्ष नयाँ भए पनि संसदमा बहुमत हुने विषय नयाँ र आश्चर्य होइन । जनमतले परिवर्तन चाहेको भने प्रस्ट भयो,’ विप्लवले लेखेका छन्, ‘पुँजी, प्रचार, प्रपञ्चबाट प्रभावित परिणाम संसदीय प्रवृत्ति र सत्तामा पुगेर या उद्दण्ड भएर या बेकम्मा भएर पतन भएको छ । बालेन–रविले संविधान पुनर्लेखन, राज्यको पुनर्संरचना, शासकीय स्वरूप, आर्थिक नीतिबारे कस्तो निर्णय लिन्छन्, सरकार बनेपछि स्पष्ट हुनेछ ।’

विप्लवले आफ्ना पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा पार्टीलाई चुनावमा होमेका थिए । उनको पार्टीले पाएको जम्मा समानुपातिक मत भने देशभरबाट २३ हजार ८६७ हो ।

त्यस्तै नेपालको संसदीय राजनीतिको इतिहासमा २०४८ यता कुनै न कुनै भर्‍याङबाट संसदमा पुगेको पार्टी हो राष्ट्रिय जनमोर्चा । उक्त पार्टीका अध्यक्ष चित्रबहादुर केसी यो चुनावी परिणाम सही नभएको बताउँछन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सिंहदरबार डढाउनेहरू, सर्वोच्च अदालत डढाउनेहरू, संसद् डढाउनेहरू अहिले त ठुलो संख्यामा आए त । जनताले सधैँ सही फैसला गर्छन् भन्ने कुरा होइन ।’

केसीले विगतमा आफूले भनेकै भएको भन्दै अन्य दलतिरै आलोचनाको वर्षा गराए । तर, उनको पार्टीले यस पटक ल्याएको समानुपातिक मत भने जम्मा २९ हजार ४५६ हो ।

त्यस्तै सधैँ भक्तपुरबाट विजयी हुँदै आएको नेपाल मजदुर किसान पार्टी पनि यस पटक बढारियो । सो पार्टी पनि २०४८ यता प्रायः संसदमा पुगेको थियो । सो पार्टीले यस पटक भने जम्मा ४२ हजार २९९ मतमात्रै पायो ।

उल्लेखित पार्टी बाहेक कम्युनिस्ट नाम गरेका अन्य पार्टी पनि छन्, जसले केही हजारमात्रै मत ल्याउन सकेका छन् । उक्त सूचीमा नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) पनि छ, जसले ६ हजार १७२ मत पाएको छ । यस्तै नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले ४ हजार ८३५ मत पाएको छ ।

ताजा जनादेशपछि आफ्नो प्रतिक्रिया दिँदै नेकपाका नेता इन्द्रबहादुर आङ्बोले परिवर्तनको नाममा चुनावी परिणाम र जनादेश लोकप्रियतावादीको हातमा पुगिसकेको बताए । उनले यो पराजयको वस्तुनिष्ट समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

‘यो शर्मनाक पराजयको बस्तुनिष्ठ समीक्षासहित अब नेपाली कम्युनिस्ट पार्टी र नेतृत्व कसरी अगाडि बढ्ला ? नयाँ पुस्ता, खासगरी वामपन्थी युवाहरूले व्यग्रता र धैर्यताका साथ प्रतीक्षा गरिरहेका छन्,’ उनले नेताहरूलाई सम्बोधन गर्दै भनेका छन्, ‘सम्मानित आदरणीय नेताहरू, नयाँ पुस्तालाई निराश नबनाऊ ।’

  • विश्लेषक के भन्छन् ?

नेपाली राजनीतिमा कम्युनिस्ट नाम सुन्नासाथ एउटा ठुलो जनमत र ऊर्जाको चित्र आउँथ्यो । पछिल्लो निर्वाचनले यो चित्रलाई धुमिल बनाइदिएको छ ।

एमाले, माओवादीदेखि साना–साना चिया पसलजस्ता देखिने कम्युनिस्ट घटकहरूको चुनावी हविगतले एउटा गम्भीर प्रश्न उठाएको छ— के अब नेपालमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन सम्भव छ ?

विश्लेषक डम्बर खतिवडाका अनुसार कम्युनिस्टहरूको यो ओरालो यात्रा आकस्मिक होइन । ‘मलाई कस्तो लाग्छ भने कम्युनिस्टहरूको पतनको प्रक्रिया यो चुनावबाट सुरु भएको होइन । २०७४ को चुनावमा जनताले कम्युनिस्ट एकताको नाममा झन्डै दुई तिहाइको बहुमत दिए, त्यसपछि उहाँहरूको असफलताले त्यो सरकार ढल्यो, त्यसले ठुलो धक्का दियो,’ उनले भने, ‘ओली सरकारले केही पनि राम्रो काम गर्न सकेन र कम्युनिस्ट पार्टीहरूले झगडा गरेरै ३–४ वर्ष बिताए । संसद् पनि दुई–दुई चोटी असंवैधानिक ढंगले विघटन गरे । त्यही विन्दुबाट जनतालाई कम्युनिस्टहरूप्रति भयङ्कर ठुलो घृणा र वितृष्णाको भावना उत्पन्न भएको थियो ।’

तत्कालीन माओवादी ०६४ सालमा ठुलो पार्टी हुँदै आएको बेला २९–३० प्रतिशत मत थियो । तर घट्न थालेपछि लगातार घट्यो । अहिले त २२ वटा समूह मिल्दा पनि झन् मत घट्यो । अब नयाँ पुस्ताको नेतृत्व नआए पुनरुत्थान हुन नसक्ने खतिवडाको दाबी छ ।

वामपन्थी विश्लेषक प्राध्यापक कृष्ण पोखरेल हालैको निर्वाचन परिणामलाई ‘हिमपहिरो’को संज्ञा दिन्छन् । ‘यो निर्वाचनमा सबै पुराना दलहरू हिमपहिरोमा परे । यो हार कम्युनिस्टहरूको मात्र होइन, सबै पुराना दलविरुद्धको जनमत हो,’ पोखरेलले भने ।

निर्वाचनमा साना कम्युनिस्ट पार्टीहरूको उपस्थिति र परिणामबारे चर्चा गर्दै खतिवडाले भने, ‘यी पार्टीहरूको नेपालको राजनीतिमा खासै कुनै गणना थिएन । न वैचारिक योगदान थियो, न कुनै संघर्षको गाथा । विप्लव महोदय यसपालि पहिलो पटक निर्वाचनमा हामफाल्नु भयो, छाती पिटेर आउनुभयो तर देशभरिबाट २५ हजार मत पनि क्रस गर्न सक्नुभएन ।’

नेमकिपाले भक्तपुरमा एउटा विकासको मोडल देखाएको छ, त्यहाँ शिक्षा–स्वास्थ्य राम्रो भए पनि उनीहरू नजोगिएको खतिवडाको भनाइ छ ।

अहिले नेपालमा थुप्रै साना–साना कम्युनिस्ट पार्टी छन्, जसले २ हजार, ५ हजार वा १० हजार मत ल्याउँछन् । अब यी साना पसलहरूलाई मल बनाउनुपर्ने विश्लेषक पोखरेलको भनाइ छ ।

‘त्यसका लागि पहिला आत्मसमीक्षा गर्नुपर्‍यो । कुनै घमण्ड नदेखाई हामी कहाँ छौँ भनेर सोच्नुपर्‍यो । अब एकैचोटि पार्टी एकीकरणको हावादारी कुरा गरेर हुँदैन, तर सहकार्य गर्न सकिने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘सहकार्य गरेर भारतको केरलाको जस्तो हुने कि, अहंकार पालेर पश्चिम बंगालको जस्तो हुने ? पश्चिम बंगालमा कम्युनिस्टहरू सकिए, केरलामा टिकिरहेका छन् । नेपालका कम्युनिस्टहरूले अब केरलाको बाटो रोज्ने कि बंगालको ?’

कम्युनिस्टहरूले आफ्नो एजेन्डा नै बिर्सिएको पोखरेलको दाबी छ । ‘माओवादी र एमाले दुवै कांग्रेससँग मिल्दा कांग्रेसकै एजेन्डा बोकेर हिँडे । उनीहरूको बिचमा केही नीतिगत भिन्नता नै देखिएन । अब धुलो टक्टक्याएर उठ्ने हो भने शिक्षा र स्वास्थ्यमा एजेन्डा ल्याउनुपर्‍यो । स्वास्थ्यमा निजी क्षेत्रलाई मात्र बढावा दिने कि राज्यको निगरानीमा राख्ने ?’ पोरखेलले भने ।

खतिवडाको विचारमा कम्युनिस्ट पसलहरू बन्द गरेर नयाँ तरिकाले कम्युनिस्ट आन्दोलन पुनर्गठन हुने सम्भावना छ कि छैन भन्ने नै मुख्य प्रश्न हो ।

पोखरेलचाहिँ रास्वपाले जुन स्पेस (स्थान) लियो, त्यो वास्तवमा कांग्रेसको उदार लोकतन्त्रको स्पेस रहेको तर्क गर्छन् । ‘अब कम्युनिस्टहरूले आफ्नो हराएको स्पेस खोज्नका लागि इमानदार हुनुपर्छ । साना पसलहरूलाई ठुलो मलमा रूपान्तरण गर्न सकियो भनेमात्र फेरि कम्युनिस्ट शक्ति ब्युँझिन सक्छ, नत्र यो ओरालो यात्रा अझै गहिरो हुने निश्चित छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप