आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस सुदूरपश्चिम महामन्त्री शाहद्वारा पार्टी गतिविधिमा सहभागी नहुने घोषणा

बुधबार, १८ चैत २०८२, १० : ३०
बुधबार, १८ चैत २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहले पार्टीका कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन्।
  • उनले पार्टीको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पार्टी विभाजन भए कार्यकर्ताको निष्ठामा आघात पुग्ने बताए।
  • शाहले नेपाली कांग्रेसको विरासतमा खेलबाड नगर्न आग्रह गर्दै विशुद्ध कांग्रेस भएर बाँच्न चाहेको बताए।

काठमाडौँ ।  नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहले पार्टीका कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा सहभागिता नजनाउने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा बुधबार उनले आगामी दिनमा पार्टीका गतिविधिमा सहभागिता नजनाउने निर्णय लिएको उल्लेख गरेका छन् ।

‘यो संवेदनशील, जटिल र चुनौतीपूर्ण परिस्थितिमा सिङ्गो नेपाली कांग्रेस एकजुटताका साथ एकमुष्ट भएर नउभिँदासम्म मैले नितान्त भारी मनले विचार गरे कि अब उपरान्त म पार्टीको कुनैपनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा स्वयंले सहभागिता नजनाउने निर्णय लिन अहिले विवश भएको छु,’ शाहले फेसबुकमा लेखेका छन् । 

शाहले झन्डै ८ दशक लामो पारिवारिक इतिहास बोकेको कांग्रेसमा यस्तो निर्णय लिन बाध्य हुनुपरेकोमा मर्माहत र दुःखी भएको पनि उल्लेख गरेका छन् । लामो राजनीतिक विरासत बोकेको पार्टीको वर्तमान अवस्थाप्रति पनि शाहले चिन्ता व्यक्त गरेका छन्। 

उनले पार्टी विभाजनको संघारमा पुगेमा राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्थावान कार्यकर्ताको संगठनप्रतिको निष्ठामाथि ठुलो आघात पुग्ने निश्चित रहेको समेत उल्लेख गरेका छन् । पार्टीको स्थापित विरासतमाथि कसैले पनि खेलबाड नगर्न शाहको आग्रह छ । 

‘जसकसैलाई जस्तोसुकै लागेता पनि अब उपरान्त म विशुद्ध नेपाली कांग्रेस भएर मात्र बाँच्न चाहन्छु र अन्त्यमा यो विषयलाई कसैले पनि अन्यथा नलिइदिनु होला भन्ने समेत सादर अनुरोध गर्दछु,’ शाहले लेखेका छन् । 

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्षतर्फ उम्मेदवार भएर पराजित भएका शाहले आफ्नो यो निर्णयलाई निर्वाचनको परिणामसँग तुलना नगर्न पनि आग्रह गरेका छन्।

658027261_35323222280609679_8563270511034248060_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप