बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ सरकारप्रति जनताको ठुलो अपेक्षा, सम्बोधन गर्नु संसदको साझा दायित्व : अध्यक्ष दाहाल

बिहीबार, १९ चैत २०८२, १५ : २६
बिहीबार, १९ चैत २०८२

सारांश

  • राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ सरकारप्रति जनताको उच्च अपेक्षालाई सम्बोधन गर्नु संसदको साझा दायित्व भएको बताएका छन्।
  • उनले सरकारलाई सही नीति, कानुन र निगरानीका माध्यमबाट दिशानिर्देश गर्नु संसदको मुख्य काम भएको उल्लेख गरेका छन्।
  • अध्यक्ष दाहालले सबै सदस्यहरूलाई दलीय मतभेदभन्दा माथि उठेर राष्ट्रिय हितका विषयलाई प्राथमिकता दिन अपील गरेका छन्।

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले २० औँ अधिवेशनको शुभारम्भ गर्दै नयाँ सरकारप्रति आम जनताले राखेको उच्च अपेक्षालाई सम्बोधन गर्नु संसदको प्रमुख र साझा दायित्व भएको बताएका छन् । २०७४ साल फागुन २१ गतेदेखि सुरु भएको राष्ट्रिय सभाले आठ वर्षको अवधिमा १९ वटा अधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी दिँदै उनले यस अवधिमा सभाले एक परिपक्व, सुझबुझयुक्त र स्थायी सदनको पहिचान बनाएकोमा गर्व व्यक्त गरेका हुन् ।

अध्यक्ष दाहालले लोकतान्त्रिक व्यवस्थामा जनमत नै सर्वोपरी हुने उल्लेख गर्दै सरकारलाई सही नीति, कानुन र प्रभावकारी निगरानीका माध्यमबाट उचित दिशानिर्देश गर्नु संसदको मुख्य काम भएको बताए । उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको घनिष्ट सहकार्य नै लोकतान्त्रिक संसदीय अभ्यासको आधारस्तम्भ भएकोमा जोड दिए । 

बानेश्वरस्थित संघीय संसद भवनमा भएको क्षति र सिंहदरबारमा निर्माणाधीन नयाँ भवन सम्पन्न भइनसकेकाले हाल चुनौतीपूर्ण परिस्थितिमा सभा सञ्चालन गर्नुपरेको उनले जानकारी दिए । अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘जेन–जी आन्दोलन र त्यसपछिको राजनीतिक अन्योलका बीच पनि राष्ट्रिय सभाले अभिभावकीय भूमिका निर्वाह गर्न सकेकोमा म गौरवान्वित छु । १९ औँ अधिवेशन छोटो भए पनि यसको महत्त्व र गरिमा निकै माथि रहेको छ ।’ 

उनले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत प्राप्त गरेको र प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको सन्दर्भ उल्लेख गर्दै नयाँ सरकारबाट जनताले सुशासन, पारदर्शिता र तीव्र विकासको ठूलो आशा राखेको बताए ।

अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरूलाई सदनमा स्वागत गर्दै उनीहरूको सक्रिय र रचनात्मक सहभागिताले राष्ट्रिय सभाको गरिमा अझ बढ्ने विश्वास व्यक्त गरे । उनले दलीय वा राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय हित र जनचासोका विषयलाई प्राथमिकता दिन सबै सदस्यहरूलाई अपील समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप