बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

प्रसिद्ध गायिका अलका याग्निकलाई ‘पद्म भूषण’ सम्मान

बुधबार, १० असार २०८३, १६ : ०३
बुधबार, १० असार २०८३

सारांश

  • बलिउडकी चर्चित गायिका अलका याग्निकलाई भारतको प्रतिष्ठित ‘पद्म भूषण’ सम्मान प्रदान गरिएको छ।
  • कमजोर शारीरिक अवस्थाका कारण अलकाले दुई वर्षदेखि सार्वजनिक कार्यक्रमहरूमा भाग लिएकी थिइनन् र स्वास्थ्य लाभ गरिरहेकी छिन्।
  • अलकाले यो सम्मान आफ्ना श्रोताहरूलाई समर्पित गरेकी छिन् जसले उनको आवाजलाई आफ्नो जीवनको हिस्सा बनाए।

काठमाडौँ । बलिउडकी चर्चित गायिका अलका याग्निकलाई मङ्गलबार भारतको प्रतिष्ठित ‘पद्म भूषण’ सम्मानबाट सम्मानित गरिएको छ। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले उनलाई उक्त सम्मान प्रदान गरेकी हुन् ।

समारोहमा उनले हिँडडुल गर्न सुरक्षाकर्मी र कार्यक्रमका कर्मचारीहरूको सहयोग लिएकी थिइन् । उनको कमजोर शारीरिक अवस्था देखेपछि प्रशंसकहरूले उनको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गरेका छन् ।

यसैबिच अलकाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत लामो समयदेखि आफू सार्वजनिक जीवनबाट टाढा रहनुको कारण खुलाएकी छिन् । उनले लेखेकी छिन्, ‘पछिल्लो दुई वर्षदेखि म सार्वजनिक कार्यक्रमहरू र आफ्नो यात्राका कुराहरू साझा गर्नबाट टाढा थिएँ। तपाईँहरूमध्ये धेरैलाई थाहा छ कि मेरो स्वास्थ्य ठिक थिएन । तर, यो कठिन समयमा तपाईँहरूको माया, प्रार्थना र साथले मलाई निरन्तर हौसला दिइरहेको छ।’

पद्म भूषण सम्मान ग्रहण गरेपछि भावुक हुँदै उनले लेखेकी छन्, ‘आज देशको सबैभन्दा ठुलो नागरिक सम्मानमध्ये एक ‘पद्म भूषण’ ग्रहण गर्न पाउँदा म निकै कृतज्ञ छु । यो सम्मान निकै महत्त्वपूर्ण छ। नाम मेरो भए पनि, यो सम्मान ती हरेक श्रोताको हो जसले मेरो आवाजलाई आफ्नो जीवनको हिस्सा बनाउनुभयो ।’ उनले आफू बिस्तारै स्वास्थ्य लाभ गरिरहेको जानकारी दिएकी छन् ।

अलका याग्निकले आफ्नो साङ्गीतिक करियरमा विभिन्न भारतीय भाषाहरूमा हजारौँ कालजयी गीतहरू गाएकी छिन् । ‘चोली के पीछे’ ‘दिल ने यह कहा है दिल से’, ‘हम तुम’, ‘कुछ कुछ होता है’ जस्ता उनका कयौँ सदबहार गीत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप