मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद

मङ्गलबार, ०९ असार २०८३, १७ : २८
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • अछामको पञ्चदेवल विनायक नगरपालिकाका विनोद शाहीको मृत्यु प्रकरणमा उच्च अदालत दिपायलले ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
  • जन्मकैदको सजाय पाउनेमा नेपाली कांग्रेसका नगर सभापति सज्जन शाहीसहित ६ जना प्रतिवादी छन्।
  • यसअघि जिल्ला अदालत अछामले सबै प्रतिवादीलाई सफाइ दिएको थियो।

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्ट्याउँदै ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

उच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुनम सिंह चन्दको संयुक्त इजलासले मङ्गलबार जिल्ला अदालत अछामको फैसला उल्ट्याउँदै उनीहरूलाई दोषी ठहर गरेको हो।

अदालतका प्रवक्ता नरबहादुर नेगीका अनुसार प्रतिवादी सज्जन शाही, महेन्द्र शाही, बिरेन्द्र शाही, देवेन्द्र शाही, पृथ्वी शाही र अक्कल शाहीलाई जनही जन्मकैदको सजाय सुनाइएको छ। सज्जन शाही नेपाली कांग्रेसका नगर सभापति समेत हुन्।

त्यस्तै अदालतले प्रत्येक प्रतिवादीलाई पीडित पक्षलाई १/१ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न पनि आदेश दिएको छ।

अन्य चार प्रतिवादी–पानमति बम शाही, द्रोपति शाही, कर्णबहादुर शाही र शान्ति कुमारी शाहीका हकमा भने जिल्ला अदालतको सफाइ फैसला नै सदर गरिएको छ।

यसअघि ४ मंसिर २०८२ मा जिल्ला अदालत अछामले सबै प्रतिवादीलाई सफाइ दिने निर्णय गरेको थियो।घटना २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमाले कार्यकर्ताबिच भएको विवादबाट सुरु भएको थियो।

विवादपछि एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि कुटपिट गरेको र त्यसपछि झडपको अवस्था बनेको थियो। त्यही क्रममा विनोद शाही बेपत्ता भएका थिए भने २०७९ जेठ २१ गते उनको शव घर नजिकैको जंगलमा फेला परेको थियो।

पीडित पक्षले नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको भए पनि जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयरसहित केही आरोपितविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप