बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

धनगढी उपमहानगरपालिकाले ल्यायो साढे २ अर्बभन्दा बढीको बजेट

बुधबार, १० असार २०८३, १२ : ५९
बुधबार, १० असार २०८३

सारांश

  • धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँको बजेट ल्याएको छ।
  • बजेटमा चालुतर्फ १ अर्ब ४३ करोड ६३ लाख ८७ हजार ७८१ रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २३ करोड ७६ लाख ६८३ रुपैयाँ खर्च हुने अनुमान छ।
  • आगामी बजेटले नगर बस सेवा विस्तार, नगर गौरवका आयोजना, शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छ।

धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि साढे २ अर्बभन्दा बढीको बजेट ल्याएको छ। आइतबार आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकलाकुमारी रानाले कूल २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँको आय–व्यय विवरण प्रस्तुत गरेकी हुन् । 

विनियोजित बजेटमध्ये चालुतर्फ १ अर्ब ४३ करोड ६३ लाख ८७ हजार ७८१ रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २३ करोड ७६ लाख ६८३ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यस बजेटको स्रोत व्यवस्थापनका लागि उपमहानगरले आन्तरिक आयबाट ५५ करोड १० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ। त्यसैगरी राजस्व बाँडफाँडबाट ६० करोड ४५ लाख, सङ्घीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ६ करोड र प्रदेश सरकारबाट १४ करोड २२ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। 

अपुग रकम चालु आर्थिक वर्षको बचतबाट व्यवस्थापन गरिने उपप्रमुख रानाले जानकारी दिइन् । बजेट भाषणका क्रममा उनले गत आर्थिक वर्षहरूमा भएको खर्चको समीक्षा गर्दै चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको खर्च विवरण समेत नगर सभामा पेस गरिन्।

आगामी वर्षको बजेटले नगरको यातायात प्रणालीलाई थप व्यवस्थित बनाउन नगर बस सेवाको विस्तारलाई विशेष प्राथमिकता दिएको छ। 

हाल सञ्चालनमा रहेका रुटबाहेक अब धनगढी–कनरी–रामपुर–चौमाला, धनगढी, पथरी–बनबेहडा,धनगढी–बेली–जुगेडा र धनगढी–घोडसुवा–स्याउले रुटमा पनि बस सेवा विस्तार गरिने भएको छ। यसका साथै नगर गौरवका आयोजना, दिगो पूर्वाधार विकास, सडक बत्ती व्यवस्थापन र रात्रिकालीन पर्यटन प्रवर्द्धनलाई बजेटले विशेष जोड दिएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा उपमहानगरले पुरानै प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिएको छ। विद्यार्थीलाई सीपसँग जोड्ने ‘पढ्दै सिक्दै’ कार्यक्रम, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र शुक्रबारीय सीप विकास कार्यक्रमलाई आगामी वर्ष पनि प्राथमिकतामा राखिएको छ। स्वास्थ्यतर्फ विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक र ‘आमा बचाउ’ कार्यक्रमलाई थप सुदृढ बनाइने बजेटमा उल्लेख छ। 

त्यस्तै, खेलकुदको जग बलियो बनाउन ग्रासरुट फुटबल र क्रिकेट विकासलाई निरन्तरता दिइनेछ। वातावरण संरक्षण र सहरी सौन्दर्यीकरणका लागि ‘हाम्रो धनगढी, सफा धनगढी’, ‘उज्यालो धनगढी’ र ‘जहाँ खाली, त्यहाँ हरियाली’ जस्ता अभियानहरूलाई बजेटले समेटेको छ। 

रोजगारी सिर्जनाका लागि सीप तथा रोजगार मेलाको आयोजना गर्ने र नगर प्रहरीको परिचालनलाई थप प्रभावकारी बनाउने नीति उपमहानगरले लिएको छ।  बजेट प्रस्तुत गर्नुअघि उपप्रमुख रानाले नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप