कांग्रेसको १५औँ महाधिवेशन कार्य प्रारम्भ, ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
सारांश
- नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी स्वरूप देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर 'जरा अभियान' सुरु गरेको छ।
- अभियान अन्तर्गत २०८३ वैशाख महिनाभर सदस्यता अद्यावधिक गर्ने, सांगठनिक विश्लेषण गर्ने र स्थानीय तहमा संवाद गर्ने कार्यक्रम तय गरिएको छ।
- भौतिक उपस्थितिमा सदस्यता नवीकरण गरी 'कांग्रेस आईडी' लिने सदस्यहरू मात्र महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको औपचारिक कार्य प्रारम्भ गरेको छ । पार्टीले 'एक महिने जरा अभियान' घोषणा गर्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।
शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष अभिमुखीकरण कार्यक्रमसँगै महाधिवेशनको कार्यतालिका अनुसारका गतिविधिहरू अगाडि बढेका हुन् । अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले 'जरा अभियान'को उद्देश्य र आवश्यकताका बारेमा प्रकाश पारे । उनले पार्टीको संगठनलाई तल्लो तहसम्मै जीवन्त बनाउन यो अभियान कोसेढुङ्गा सावित हुने बताए । त्यस्तै, युवा नेता प्रताप पौडेलले विशेष महाधिवेशनबाट पारित विधान, खटिने प्रतिनिधिहरूको कार्यविधि र प्राविधिक पक्षका बारेमा जानकारी गराए ।
पार्टीले आगामी २०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म एक महिनाको अवधिमा जरा अभियान सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत देशभरका ७७ वटै जिल्ला र ६,७४३ वटै वडाहरूमा विशेष गतिविधिहरू सञ्चालन गरिनेछन् । अभियानको मुख्य उद्देश्य क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको सांगठनिक स्थितिको विश्लेषण गर्ने र आम जनता एवं युवासँग प्रत्यक्ष संवाद गर्ने रहेको छ ।
यसपटक कांग्रेसले सदस्यता नवीकरणमा नयाँ र कडा व्यवस्था लागू गरेको छ । वैशाख महिनाभित्र केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्यले आआफ्नो सम्बन्धित वडामा स्वयं उपस्थित भएर अनिवार्य रुपमा सदस्यता अद्यावधिक गर्नुपर्नेछ । यसरी भौतिक रुपमा उपस्थित भई सदस्यता नवीकरण गर्ने सदस्यहरूले मात्र 'कांग्रेस आई डी' प्राप्त गर्नेछन् । यो परिचयपत्र प्राप्त गर्ने सदस्यहरूले मात्र १५औं महाधिवेशनको प्रक्रियामा सहभागी हुन र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
अभियानका क्रममा पार्टीले निर्वाचनको समीक्षात्मक कार्यक्रमहरू गर्ने, सामाजिक र सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्ने तथा स्थानीय सरकारको सञ्चालन र आगामी बजेट निर्माणमा सहजीकरण एवं मार्गनिर्देशन गर्ने लक्ष्य समेत राखेको छ ।
यसका लागि केन्द्रबाट खटिएका प्रतिनिधिहरू जिल्ला पुगिसकेका छन् भने जिल्ला कार्यसमिति मार्फत वडाहरूमा समेत प्रतिनिधि खटाउने तयारी पुरा भएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका सबै जिल्लाहरूमा प्रतिनिधिहरूको कार्यविभाजन भई कार्य प्रारम्भ भइसकेको छ । कांग्रेसको १५औँ महाधिवेशन असोजमा हुने भएको छ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण