एमालेमा विशेष महाधिवेशनको चर्चा, नेतृत्व बदल्न चौथो पुस्ता सक्रिय
सारांश
- एमालेमा चुनावी पराजय र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवा पुस्ताले विशेष महाधिवेशनको माग गरेका छन्।
- पार्टी नेतृत्व परिवर्तन र रूपान्तरणका लागि युवा तथा विद्यार्थी नेताहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्।
- एमाले विधानको धारा ६९ अनुसार बहुमत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ।
काठमाडौँ । चैत २० गते एमाले केन्द्रीय सचिवालय बैठकका लागि पार्टी पदाधिकारीहरू ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासल पुग्दा केही युवाहरूले फूल दिएर स्वागत गरे । युवाहरूले नेताहरूलाई त्यसरी स्वागत गर्नुको सङ्केत थियो, ‘अब तपाईँहरू पार्टीको सक्रिय भूमिकाबाट बिदा हुनुस् र युवाहरूलाई नेतृत्व पुस्तान्तरण गर्नुस् ।’
१९ सदस्यीय एमाले सचिवालयमा अध्यक्ष ओली पक्राउ परेका कारण उक्त दिनको बैठकमा अध्यक्षबाहेकका सबै पदाधिकारीहरू सहभागी हुन च्यासल पुगेका थिए । बैठकमा सहभागी हुन पुगेका सबै नेताहरूलाई फूल दिँदै युवा विद्यार्थी नेताहरूले समयको मागअनुसार नेतृत्व परिवर्तन गर्नका लागि तत्काल बहस र छलफल सुरु गर्न दबाबस्वरूप आग्रहसमेत गरेका थिए ।

फूल समात्दै युवा–विद्यार्थीको आग्रहप्रति अधिकांश एमाले नेताहरूले युवाहरूको भावना सम्बोधनार्थ प्रयत्न गर्ने आश्वासन पनि दिए । तर, पार्टी अध्यक्षविनाको उक्त बैठकले युवाहरूको माग सम्बोधन गर्ने गरी कुनै निर्णय गर्न सक्ने अवस्था भने थिएन ।
यसै पनि अध्यक्षलाई प्रतिशोधपूर्ण ढङ्गले गिरफ्तारी गरिएको बताउँदै आएको एमालेले पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । अर्कातिर पार्टी रूपान्तरण र नेतृत्व परिवर्तनको चर्चा भइरहेका बेला एमालेले संसदीय दलको नेतामा पुरानै पुस्ताका नेता उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चयन गरेपछि एमालेभित्र परिवर्तनको पक्षमा रहेका नेता–कार्यकर्ताहरू आक्रोशित बन्न पुगेका थिए ।
त्यही बेला कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापाले संसद्को पहिलो बैठक (चैत १३)मा दिएको अभिव्यक्तिले युवाहरूमा नेतृत्वप्रतिको असन्तुष्टि थप बढ्न पुग्यो । बादलकै अभिव्यक्तिप्रति छलफल गर्न बोलाइएको चैत २० गतेको बैठक करिब ६ घण्टा चल्यो । बैठकमा पार्टी जीवनका आन्तरिक विविध विषयमा छलफल भयो ।

चुनावमा रास्वपाको जादुमयी नतिजा आउनुमा संलग्न व्यक्ति तथा संस्थाहरूको भूमिकाबारे थापाले दिएको अभिव्यक्ति पार्टीको संस्थागत नभएको भन्दै एमालेले सोही बैठकबाट सच्यायो । त्यसबाहेक सचिवालय बैठकमा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले ल्याएको नतिजाबारे सामान्य समीक्षा भयो ।
चुनावी समीक्षाका क्रममा समय र युवाको मागअनुसार पार्टी अघि बढ्न नसकेको, पुराना नेताहरूप्रति जनताको भरोसा टुट्दै गएको तथा पार्टीको रूपान्तरण अनिवार्य भएकाले त्यसबारे गम्भीर बहस र छलफल गर्नुपर्ने धारणा नेताहरूले राखेका थिए ।

‘पार्टीभित्र गम्भीर बहस र छलफल हुनुपर्छ भन्नेमा नेताहरूले कुरा राख्नुभयो’, एमाले सचिव शेरधन राईले भने, ‘त्यो छलफल सचिवालय र केन्द्रीय कमिटीमात्र पनि पर्याप्त छैन भन्ने उहाँहरूको कुरा थियो ।’
राईले एमालेभित्र नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठेको स्वीकारसमेत गरे । जब कि एमालेका युवा विद्यार्थी नेताहरूले पार्टी रूपान्तरणका लागि विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर अभियान नै सुरु गरिसकेका थिए ।
एमाले निकट अनेरास्ववियुका उपमहासचिव कमल जोशीले समयको मागअनुसार पार्टी र नेतृत्वको रूपान्तरण जरुरी रहेकाले विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान सुरु गरेको बताए ।

भदौको जेनजी आन्दोलनपछि गत मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गरेको एमालेले तेस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओलीलाई अनुमोदन गरेको थियो ।
‘पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू, केन्द्रीय सदस्य र केही सचिवालय सदस्यहरूसमेत विशेष महाधिवेशनको पक्षमा हुनुहुन्छ’, उपमहासचिव जोशी भन्छन्, ‘हालैको निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको ऐतिहासिक पराजय र नेतृत्वप्रति जनताको अविश्वास मुख्य कारण रहेकाले हस्ताक्षर अभियान सुरु गरेका हौँ ।’
हस्ताक्षर अभियानमा संलग्नहरूले झन्डै पाँच सय जनाले हस्ताक्षर गरिसकेको दाबी गरेका छन् । उनीहरूका अनुसार विशेष महाधिवेशनको मागपत्रमा एमालेको संसदीय यात्रामा पार्टीले सबैभन्दा लज्जास्पद हार पछिल्लो निर्वाचनमा व्यहोरेको उल्लेख छ । प्रत्यक्षतर्फ १६५ मध्ये ९ सिटमा खुम्चिनु र समानुपातिकमा पनि कमजोर नतिजा आउनुले पार्टीको कमिटी प्रणाली र वर्तमान नेतृत्वप्रति जनताको अविश्वास देखिएको नेताहरूको ठहर छ ।
_gNc5Pri14c.jpg)
एमालेका एक केन्द्रीय सदस्यका अनुसार देशभरका युवाहरू लामो समय पार्टीमा रहेर दुःख–मेहनत गरे पनि पार्टी कमिटीको साङ्गठनिक ढाँचाका कारण उचित जिम्मेवारी पाउन नसक्दा वितृष्णा पैदा भएको छ ।
‘अर्कोतिर पार्टीका सिनियर नेताहरूलाई जनताले मन नपराएको देखिन्छ । यस्तो अवस्थामा नेतृत्व परिवर्तन र रूपान्तरण गर्दै पुराना नेताहरूलाई बिदा गर्नुपर्छ भन्ने भावना छ’, ती केन्द्रीय सदस्यले भने, ‘नयाँ नेतृत्वका लागि प्रतिस्पर्धालाई खुला राख्नुपर्छ । पहिलो, दोस्रो, तेस्रो वा चौथो लेयरबाट पनि नेतृत्वमा आए भयो ।’
उनका अनुसार पार्टीमा रहेको सिन्डिकेट र टाइमिङको ढाँचा परिवर्तन गर्दै पुरानो ढर्राको पार्टी कमिटी फङ्सन (कार्यशैली) नै परिवर्तन गर्नुपर्ने अवस्था छ ।
‘जनमत डिजिटल र मास बेस्डमा गएको छ तर हाम्रो साङ्गठनिक संरचना पुरानै छ, यसलाई खुला गर्नुपर्छ’, ती नेताको भनाइ छ । एमालेमा विशेष महाधिवेशनको वकालत गरिरहेका युवाहरूले पार्टी महासचिव शङ्कर पोखरेललाई समेत जानकारी गराइसकेको बताएका छन् ।
‘हामीले चुनावी समीक्षा केन्द्रीय कमिटीमा मात्र गरेर सम्भव छैन, त्यसैले विशेष महाधिवेशन गर्नुपर्छ भनेका छौँ’, ती नेताले भने, ‘यसमा महासचिव पनि सकारात्मक हुनुहुन्छ ।’
विशेष महाधिवेशनको माहोल बनाउन एमाले निकट अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल, सुजन कडरिया, युवा सांसद सुहाङ नेम्वाङ, नेताहरू नरेश रोकाया, प्रकाश पौडेललगायतले अग्रसरता देखाएका छन् ।
- विशेष महाधिवेशनबारे के छ एमाले विधानमा ?
एमाले पार्टी विधानअनुसार ठोस कार्यसूची र उचित कारण देखाएर बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले लिखित रूपमा माग गरेको मितिले ६ महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने उल्लेख छ ।
विधानको धारा ६९ मा विशेष महाधिवेशन र अधिवेशनसम्बन्धी व्यवस्था रहेको छ । विधानअनुसार बहुमत प्रतिनिधि परिषद् सदस्यको मागअनुसार केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना नगरे महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू नै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण भएर विशेष महाधिवेशन गर्न सक्ने वैधानिक व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण