बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘सम्पत्ति शुद्धीकरणको कारबाहीबाट सेयर लगानीकर्ता आत्तिनुपर्ने अवस्था छैन’

आइतबार, २२ चैत २०८२, १८ : ००
आइतबार, २२ चैत २०८२

सारांश

  • नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले सम्पत्ति शुद्धीकरणको अनुसन्धानबाट सेयर लगानीकर्ताहरू डराउनुपर्ने कुनै कारण नरहेको बताएका छन्।
  • बजारमा देखिएको हालको गिरावटलाई उनले नाफा बुक गर्ने प्रक्रिया र लगानीकर्ताहरूमा रहेको मनोवैज्ञानिक त्रासको उपजका रूपमा व्याख्या गरेका छन्।
  • उनले पूँजी बजारको दीर्घकालीन भविष्य उज्ज्वल रहेको र बजार छिट्टै लयमा फर्किने विश्वास व्यक्त गरेका छन्।

काठमाडौँ । पछिल्लो समय नेपालको सेयर बजारमा तीव्र गिरावट देखिएको छ । नयाँ सरकार गठनसँगै करिब तीन हजारको विन्दुमा पुगेको नेप्से परिसूचक पछिल्ला दिनमा तीन सय भन्दा धेरै  केही ओरालो लागेको छ । विशेषगरी सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र कारबाहीलाई तीव्रता दिएपछि बजारमा त्यसको मनोवैज्ञानिक असर परेको र लगानीकर्ता त्रसित भएको विश्लेषण भइरहेको छ । 

हाल डिम्याट खाता खोल्नेको संख्या ७० लाख नाघिसकेको अवस्थामा पुँजी बजार आम सर्वसाधारणको चासोको विषय बनेको छ । यसै सन्दर्भमा पुँजी बजारका समसामयिक विषय, बजार घट्नुका कारण, नयाँ स्टक एक्सचेन्जको आवश्यकता, नयाँ अर्थमन्त्रीप्रतिको अपेक्षा र आम लगानीकर्ताले अपनाउनुपर्ने रणनीतिका विषयमा केन्द्रित रहेर नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालसँग गरिएको कुराकानीको सम्पादित अंशः

(विस्तृत भिडियाेमा) 

नयाँ सरकार आएसँगै बजारमा बजार डाउन ट्रेन्डमा गइरहेको देखिन्छ । बजार बन्ने तरखर हुँदा बढेको सेयर बजार बनेपछि निरन्तर घट्यो । यो अवस्थालाई कसरी नियाल्नुभएको छ ?

पुँजी बजारको एउटा प्रवृत्ति के छ भने जबजब नयाँ सरकारहरू आउँछन् र राजनीतिमा परिवर्तन आउँछ, तबतब पुँजी बजारले आफ्ना नयाँ नयाँ रेकर्ड राख्दै हिँडेको अवस्था छ । 

हाम्रो पुँजी बजारलाई अहिलेको अवस्थामा केलाएर हेर्ने हो भने सरकार बन्नुभन्दा अगाडि बजार डाउन ट्रेन्डमा नै थियो । विगतका केही आन्दोलन र अस्थिरताले पुँजी बजारमा पारेको प्रभावका कारण बजार जुन तरिकाले अगाडि बढ्नुपर्ने थियो, त्यो बढ्न सकेन । त्यसपछि लगानीकर्ता आतंकित र भयभीत भएका थिए । 

फलस्वरूप नयाँ अन्तरिम सरकारको गठन भयो र चुनाव सम्पन्न भयो । चुनाव अघिसम्म पनि हामी आम लगानीकर्ताहरू चुनाव हुन्छ वा हुँदैन भन्नेमा पूर्ण रूपले विश्वस्त हुन सकेका थिएनौँ । तर सरकारले चुनाव गरायो र चुनावको परिणाम स्वरूप एक किसिमको स्पष्ट जनादेश आयो । राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले ल्याएको मत र नयाँ सरकारको गठनले लगानीकर्ता र जनतामा उत्साह पैदा भयो । 

पुँजी बजारले खोजेको पनि एउटा स्थिर सरकार र स्पष्ट नीति नै हो । त्यही अनुरुपको सरकार बनेपछि बजार साढे २६ सयको इन्डेक्सबाट बढेर करिब ३ हजारसम्म पुगेको थियो । कारोबार रकम पनि दैनिक २२ अर्ब रुपैयाँसम्म पुगेको थियो । तर सरकार बन्दै गर्दा र नयाँ अर्थमन्त्रीले मन्त्रालय सम्हाल्दै गर्दा सम्पत्ति शुद्धीकरणका कुराहरू बाहिर आए । आफ्नो लय पक्रिसकेको बजारमा सम्पत्ति शुद्धीकरणको विषयले प्रवेश पाएपछि लगानीकर्ताहरू भयभीत भएका हुन् कि र उनीहरूले यो विषयलाई राम्रोसँग बुझ्न नसकेको हो कि जस्तो भान अहिले भएको छ । 

अहिले बजार घट्नुको कारण सम्पत्ति शुद्धीकरणको विषय मात्रै हो कि अरू कारण पनि छन् ?

बजार घट्नुपर्ने कारणमा एउटा मुख्य कुरा प्रोफिट बुक पनि हो । साढे २६ सयको मार्केट ३ हजार पुगिसकेपछि लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न खोज्नु स्वाभाविक हो । अहिले हाम्रा लगानीकर्ताहरू निकै स्मार्ट हुनुहुन्छ । दीर्घकालीन लगानीकर्ताभन्दा पनि डे–टु–डे ट्रेडिङ गर्ने लगानीकर्ताहरू बजारमा बढी हाबी छन् । 

लगानीकर्ताहरू सबैको एउटै किसिमको प्रकृतिको लगानी हुँदैन । कसैले दीर्घकालका लागि लगानी गर्छन् भने कसैले अल्पकालका लागि । त्यसैले अहिलेको गिरावटमा प्रोफिट बुकिङको ठुलो हात छ । अर्को कुरा भनेको साँच्चिकै सम्पत्ति शुद्धीकरणको विषयले पारेको प्रभाव हो । हामीले अहिले पनि आम लगानीकर्तालाई सम्पत्ति शुद्धीकरण भनेको के हो भनेर पूर्ण रूपमा बुझाउन सकेका छैनौँ । राजनीति स्थिर रहेको र बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहेको अवस्थामा बजार घट्नुमा यी दुई वटा कारणबाहेक अन्य हुन सक्दैन ।

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी चालिरहेको कदमलाई तपाईहरूले कसरी लिनुभएको छ र लगानीकर्ता यसबाट किन डराइरहेका छन् ? उनीहरूलाई कसरी आश्वस्त पार्न सकिन्छ ?

सर्वप्रथम त सरकारले गरेको यो निर्णय अत्यन्तै स्वागतयोग्य छ । सम्पत्ति शुद्धीकरणको विषयलाई लिएर हामी आत्तिनुपर्ने, कराउनुपर्ने वा त्रसित भएर हिँड्नुपर्ने कुनै कारण नै छैन । नेपाल अन्तर्राष्ट्रिय स्तरमा सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परिसकेको अवस्था छ । सरकारले ग्रे लिस्टबाट देशलाई हटाउँछु भनेर अगाडि बढ्छ भने त्यसलाई हामीले पूर्ण रूपमा स्वागत गर्नुपर्छ । 

तर मुख्य कुरा सम्पत्ति शुद्धीकरण भनेको के हो, यसले पार्ने प्रभावहरू के–के हुन् र यसलाई हेर्ने निकायहरू को को हुन् भन्ने कुरा स्पष्ट हुनुपर्छ । लगानीकर्तालाई कन्भिन्स गराउने दायित्व हामीजस्ता संघ संस्थाको भन्दा पनि बढी राज्यको हो । राज्यले नै आम लगानीकर्तालाई आत्तिनु पर्दैन भनेर स्पष्ट सन्देश दिनुपर्छ । पुँजीबजार हेर्ने हो भने अहिले सबै कारोबार औपचारिक च्यानलबाट मात्रै भित्रिने गर्छ । 

सेयर बजारमा पूर्ण रूपमा पेपरलेस र अनलाइनमार्फत काम हुन्छ । हामीले सेयर किन्दा बैंकको चेकमार्फत वा अनलाइन पेमेन्टमार्फत पैसा तिर्छौं र बेच्दा पनि बैंक खातामै पैसा आउँछ । यस्तो पारदर्शी र फर्मलाइज च्यानलबाट काम भइरहेको हुनाले यहाँ सम्पत्ति शुद्धीकरणका कुराहरू जोडिन आउँदैनन् । 

हामीले पुँजी बजारमा लगानी गरेर कमाएको नाफामा अग्रिम रूपमा राज्यलाई कर तिरेका हुन्छौँ । नेपालमा यस्तो पारदर्शी र कर तिरेर मात्रै पैसा हात पर्ने अर्को कुनै व्यवसाय छैन । हामीले कि त आफ्नो जागिरको कमाइ लगानी गरेका छौँ कि त बैंकबाट ऋण लिएर लगानी गरेका छौँ । त्यसैले पुँजीबजारका लगानीकर्ताहरू डराउनुपर्ने र सशंकित हुनुपर्ने कुनै ठाउँ म देख्दिनँ ।

सम्पत्ति शुद्धीकरणको आरोपमा केही व्यवसायीहरू पक्राउ परिरहेका छन् । यसलाई तपाईंहरूले कसरी लिनुभएको छ ?

राज्यले गर्ने अनुसन्धान र कानुनी प्रक्रियालाई हामीले सहयोग गर्नुपर्छ । राज्यले विनाप्रमाण कसैलाई पक्राउ गर्छजस्तो लाग्दैन । अनुसन्धानकै क्रममा रहेका विषयमा अहिले नै धेरै टीकाटिप्पणी गर्नु हतारो हुनेछ । भर्खरै बनेको सरकारलाई काम गर्न दिनुपर्छ र सचेत नागरिकको हैसियतले कानुन कार्यान्वयनमा सघाउनु हाम्रो दायित्व हो । यो विषय अलिकति परिपक्व भएपछि थप विश्लेषण गर्न सकिन्छ ।

पुँजीबजार भनेकै नाफा घाटाको व्यवसाय हो र यो पैसाको खेल हो । कसैलाई नाफा हुन्छ भने उसले सेयर बेच्छ र बाहिर निस्किन्छ, यो अत्यन्तै स्वाभाविक प्रक्रिया हो । तर बजारमा ठुला र साना लगानीकर्ता भनेर विभेद गर्न मिल्दैन । जसले जति लगानी गरे पनि सबैको हक अधिकार बराबर हुन्छ । कसैको लागि एक लाख ठुलो होला, कसैको लागि हजार रुपैयाँ नै ठुलो होला ।

तपाईं त्यसो भन्दै हुनुहुन्छ । तर सरकारको गतिविधिका कारण केही केही ठुला लगानीकर्ता जुनसुकै हालतमा सेयर बेचेर निस्किने मानसिकतामा छन् भन्ने सुनिन्छ ? यो अवस्थाले बजारमा प्यानिक सेल हाबी भएको हो कि?

पुँजीबजार भनेकै नाफा घाटाको व्यवसाय हो र यो पैसाको खेल हो । कसैलाई नाफा हुन्छ भने उसले सेयर बेच्छ र बाहिर निस्किन्छ, यो अत्यन्तै स्वाभाविक प्रक्रिया हो । तर बजारमा ठुला र साना लगानीकर्ता भनेर विभेद गर्न मिल्दैन । जसले जति लगानी गरे पनि सबैको हक अधिकार बराबर हुन्छ । कसैको लागि एक लाख ठुलो होला, कसैको लागि हजार रुपैयाँ नै ठुलो होला । डिमान्ड र सप्लाइले नै बजारलाई तलमाथि गराउने हो । 

अहिले पुँजीबजार ४०/५० खर्बको भइसकेको छ । यस्तोमा एउटा सानो कम्पनीलाई खेलाएर रेट बढाउँछु अनि बाहिर निस्किन्छु भन्न सक्ने अवस्था अहिले छैन । जहाँसम्म कमजोर कम्पनीको मूल्य बढ्ने कुरा छ, यसको मुख्य जरो प्राथमिक निष्कासनमै छ । 

धितोपत्र बोर्डको नियमअनुसार अहिले आईपीओमा न्यूनतम १० कित्ता सेयर बाँड्ने गरिन्छ । लाखौँले आवेदन दिँदा चिट्ठामार्फत १० कित्ता सेयर पर्छ । यसरी सेयर बजारमा आउँदा नै छरपष्ट भएर आउँछ । जब त्यो सेयर दोस्रो बजारमा सूचीकृत हुन्छ, तब खरिद गर्नेलाई सयौँ कित्ता चाहिएको हुन्छ तर बेच्ने मान्छेसँग १० कित्ता मात्र हुन्छ । यसले गर्दा डिमान्ड अत्यधिक हुन्छ र सप्लाई एकदमै कम हुन्छ । 

tulasi-dhakal (2)

लगानीकर्ताले त्यो कम्पनीको अवस्था, नाफा घाटा वा लाभांश क्षमता केही नहेरी केवल पुँजीगत लाभ मात्र हेर्छन् । जहाँ सप्लाई कम हुन्छ, त्यहाँ लगानीकर्ताले खेल्ने मौका पाउँछन् र सय रुपैयाँको सेयर छ सय पुग्छ । यसलाई रोक्न धितोपत्र बोर्डले सेयर बाँडफाँटको नीतिमै परिवर्तन गरेर बजारमा सेयरको सप्लाई बढाउनुपर्छ ।

तपाईं इन्भेस्टर्स फोरमको अध्यक्ष हुनुहुन्छ । तपाईहरूले बजार सुधारका लागि के के पहल गरिरहनुभएको छ र अहिलेको सरकारले पुँजी बजारका लागि तत्काल गर्नुपर्ने कामहरू के–के हुन् ?

हाम्रो संघ संगठनको मुख्य काम भनेको सरकारसँग लडाइँ गर्ने नभई सरकारलाई सहयोग गर्ने र साझेदारी गर्ने हो । सरकारले ल्याएको नीति पुँजीबजारमैत्री छ कि छैन र त्यसले बजारको भविष्य कता लैजान्छ भन्ने कुरामा हामी निरन्तर संवाद गरिरहेका छौँ । विगतमा ओपन क्राइ सिस्टमबाट कारोबार हुने अवस्थादेखि अहिलेको अनलाइन प्रणालीसम्म ल्याउन हामीले निरन्तर लबिङ गरेका हौँ । 

तर अहिले पनि बजारको आकार अनुसारको प्रविधि हामीसँग छैन । दुई तीन अर्बको कारोबार हुँदा ल्याइएको सफ्टवेयरले अहिलेको भोलुम धान्न गाह्रो छ । त्यसैले प्रविधिमैत्री बजार बनाउन र वास्तविक क्षेत्रका कम्पनीहरूलाई बजारमा ल्याउन हामीले सरकार र धितोपत्र बोर्डसँग निरन्तर पहल गरिरहेका छौँ । सरकारले पनि हामीसँगको सल्लाह र सुझावलाई सकारात्मक रूपमा लिएर नीतिगत सुधारका कामहरू अगाडि बढाउनुपर्छ ।

tulasi-dhakal (3)

नयाँ स्टक एक्सचेन्जको विषयमा तपाईंहरूको धारणा के छ ? के अझै पनि नयाँ स्टक एक्सचेन्ज चाहिन्छ भन्ने तपाईहरूको माग हो ?

हामी नयाँ स्टक एक्सचेन्जको मागमा हिजो पनि थियौँ, आज पनि छौँ र भोलि पनि हुनेछौँ । अहिलेको स्टक एक्सचेन्जले प्रविधिमैत्री सेवा दिन नसकेको, टाइममा काम गर्न नसकेको र देशका ७७ वटै जिल्लाका दूरदराजका लगानीकर्तालाई समेट्न नसकेको हुनाले हामीलाई नयाँ स्टक एक्सचेन्ज अपरिहार्य छ । यद्यपि, नयाँ स्टक एक्सचेन्ज ल्याउनुभन्दा अगाडि भइरहेको नेप्सेलाई पूर्ण रूपमा पुनःसंरचना गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । 

नेप्सेको पुनःसंरचनासम्बन्धी रामेश्वर खनाल नेतृत्वको कमिटीले दिएको सुझाव अत्यन्तै राम्रो छ र त्यसको कार्यान्वयन हुनुपर्छ । नयाँ स्टक एक्सचेन्ज आउँदा प्रतिस्पर्धा बढ्छ । विगतमा नेपाल टेलिकम मात्र हुँदा एनसेल आउँदा टेलिकम डुब्छ भनिन्थ्यो तर दुवैले राम्रो व्यापार गरिरहेका छन् । त्यस्तै सरकारी बैँकहरू मात्र हुँदा नबिल बैँक आउँदा बैंकिङ सेवामा क्रान्ति नै आयो र प्रतिस्पर्धाले सबैको स्तर उकास्यो । त्यसैले नयाँ स्टक एक्सचेन्ज आउँदा लगानीकर्ताले उत्कृष्ट सेवा पाउँछन् र बजारको दायरा फराकिलो हुन्छ ।

नयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेप्रति तपाईहरूको अपेक्षा र बुझाइ कस्तो छ ?

नयाँ अर्थमन्त्रीज्यूलाई हामी शुभकामना दिन्छौँ । उहाँको नाम नै काफी छ । उहाँसँग देश विदेशमा रहेर काम गरेको र विश्व अर्थतन्त्रलाई बुझेको गहिरो अनुभव छ । उहाँ योजना आयोगमा रहेर काम गरिसकेको हुनाले नेपालको अर्थतन्त्रका आयामहरूबारे जानकार हुनुहुन्छ । 

पुँजीबजारको विकास नभई समग्र अर्थतन्त्र चलायमान हुन सक्दैन भन्ने उहाँको स्पष्ट बुझाइ छ । त्यसैले उहाँले पुँजी बजार मैत्री नीतिहरू ल्याउनुहुनेछ र उहाँको पालामा बजारले नयाँ उचाइ कायम गर्नेछ भन्ने हाम्रो पूर्ण विश्वास छ । पुँजीबजार अर्थतन्त्रको ऐना भएकाले अर्थमन्त्रीको नीतिले बजारलाई सही दिशामा डोर्‍याउनेछ ।

धितोपत्र बोर्डमा लामो समयदेखि नेतृत्व नहुँदा दर्जनौँ कम्पनीका आईपीओ र राइट सेयरहरू रोकिएका छन् । यसलाई कसरी हेर्नुहुन्छ ?

हामीले धितोपत्र बोर्डलाई यस विषयमा निरन्तर घच्घचाइरहेका छौँ । आईपीओ, राइट सेयर र प्रिफरेन्स सेयरका लागि धेरै कम्पनीहरू लामो समयदेखि पाइपलाइनमा बसेका छन् । ११/१२ महिनासम्म बोर्डले अध्यक्ष नपाउँदा ठुलो समस्या झेल्यौँ । अहिले नयाँ सरकार बनेको छ र नीतिगत कामहरू हुँदैछन् । 

नयाँ अर्थमन्त्रीज्यूलाई हामी शुभकामना दिन्छौँ । उहाँको नाम नै काफी छ । उहाँसँग देश विदेशमा रहेर काम गरेको र विश्व अर्थतन्त्रलाई बुझेको गहिरो अनुभव छ । उहाँ योजना आयोगमा रहेर काम गरिसकेको हुनाले नेपालको अर्थतन्त्रका आयामहरूबारे जानकार हुनुहुन्छ । 

बोर्डलाई बुझ्न केही समय लागेको हुन सक्छ तर सधैँभरि ढिलासुस्ती गर्ने छुट उहाँहरूलाई छैन । हामीलाई आशा छ, अब रोकिएका निष्कासन प्रक्रियाहरू छिट्टै अगाडि बढ्नेछन् ।

आईजीएन नम्बर र संस्थापक सेयरको लकिङ पिरियडका सन्दर्भमा सिडिएससीले लिएको अडानलाई कसरी हेर्नुहुन्छ ?

आईजीएन नम्बरको विषयमा हामी एकदम प्रस्ट छौँ । नयाँ कम्पनीहरूको सेयरमा लकिङ पिरियड हुनैपर्छ । तीन वर्ष वा छ वर्षको जुन प्रावधान छ, त्यो अवधिभर सेयर लक हुनुपर्छ । बिचमा लकिङ भएका सेयरहरू पनि बजारमा आएर समस्या सिर्जना भएको हुनाले सीडीएससीले लिएको दुई वटा लकिङ हुनुपर्ने अडान सही छ । 

तर तीन वर्षको अवधि सकिएपछि भने त्यो अटोमेटिक रूपमा एउटै भएर सहज कारोबार हुने व्यवस्था हुनुपर्छ । इपान लगायतका संस्थाहरूलाई यसले केही अप्ठ्यारो परेको हुन सक्छ, उनीहरूको लगानीको वातावरण पनि सुरक्षित गर्नुपर्छ तर बजारलाई व्यवस्थित बनाउन नियमको पालना अनिवार्य छ ।

बजारमा पर्याप्त तरलता छ, ब्याजदर घटिरहेको छ तर पुँजी बजारमा अपेक्षा अनुसारको उछाल आउन सकेको छैन । अब बजारको दिशा कता जाला ?

बजार पक्कै पनि माथि नै जाने हो । अहिले बैंकिङ प्रणालीमा ७८ खर्ब भन्दा बढी निक्षेप छ र जम्मा ५८ खर्बको हाराहारीमा मात्र कर्जा प्रवाह भएको छ । करिब १२ खर्ब भन्दा बढी लगानीयोग्य रकम बैँकमा थन्किएको छ । ब्याजदर घटे पनि डिमाण्ड बढ्न नसक्नु समग्र अर्थतन्त्रकै समस्या हो । 

tulasi-dhakal (1)

अर्थतन्त्र चलायमान नभई पुँजी बजार मात्र एक्लै कुद्न सक्दैन । अहिले नयाँ सरकार बनेको छ । सरकारले कृषि, पर्यटन, जलविद्युत् र उद्योग क्षेत्रलाई प्रवर्द्धन गर्ने नीति ल्याएपछि अर्थतन्त्रका सबै अवयवहरू सक्रिय हुनेछन् । त्यसपछि बैंकमा रहेको पैसा लगानीमा परिणत हुन्छ र पुँजीबजारले पनि आफ्नो बाटो तय गर्छ । अहिलेको अवस्था भनेको अल्पकालीन करेक्सन मात्र हो, दीर्घकालीन रूपमा बजारको भविष्य उज्ज्वल छ ।

अन्त्यमा, आम लगानीकर्ताहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

म आम लगानीकर्ताहरूलाई सुझबुझका साथ मात्र पुँजीबजारमा लगानी गर्न आग्रह गर्दछु । कसैको लहैलहैमा वा हल्लाको भरमा लगानी गर्नु हुँदैन । कुनै पनि कम्पनीको सेयर किन्नुअघि पुँजीबजार भनेको के हो, यसले कसरी काम गर्छ र कम्पनीको वित्तीय अवस्था कस्तो छ भन्ने राम्रोसँग अध्ययन गर्नुपर्छ । अहिले धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र विभिन्न अनलाइन मिडियामार्फत प्रशस्त जानकारी पाउन सकिन्छ । 

सेयर बजार भनेको एउटा विशाल समुन्द्रजस्तै हो । पौडी खेल्न जानुअघि सुरक्षाका उपाय अपनाएजस्तै बजारमा प्रवेश गर्नुअघि ज्ञान हासिल गर्नुपर्छ । बुझेर लगानी गरे यहाँबाट हिरामोती टिपेर ल्याउन सकिन्छ, नबुझी हाम फाले समुद्रमै हराउने जोखिम रहन्छ । त्यसैले हल्लाको पछि नलागी विवेकपूर्ण लगानी गर्न म सबैलाई विनम्र अनुरोध गर्दछु ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप