संविधान संशोधन कार्यदल : प्रतिनिधि नपठाई कांग्रेसले पठायो पत्र, सरकारसँग माग्यो ४ विषयमा स्पष्टता
सारांश
- नेपाली कांग्रेसले संविधान संशोधन कार्यदलमा प्रतिनिधि नपठाई सरकारलाई पत्रमार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ।
- कांग्रेसले कार्यदलको विधि, क्षेत्राधिकार र संशोधनका विषयवस्तुसहित चारवटा बुँदामा सरकारसँग स्पष्टता माग गरेको छ।
- संविधानका आधारभूत मूल्य र मान्यतामा सम्झौता नहुने गरी सरकारको प्रयासमा सहयोग गर्न कांग्रेस तयार रहेको जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा पार्टीको प्रतिनिधि नपठाई पत्रमार्फत धारणा पठाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पत्रमार्फत धारणा पठाइएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउने सम्बन्धमा नेपाली कांग्रेसको धारणा शीर्षकमा पत्र पठाएर पार्टीको धारणा प्रस्तुत गरेको हो ।
- यस्तो छ कांग्रेसले पठाएको पत्रको ब्यहोरा
मिति २०८२/१२/१८ (प.सं. २०८२/८३, च.नं. का/७११/३४९६) मा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२/१२/१६ को निर्णय बमोजिम “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल” को सदस्यमा नेपाली कांग्रेसको तर्फबाट एक जना प्रतिनिधि मनोनयन गरी विवरण उपलब्ध गराइदिनु भन्ने ब्यहोराको पत्र प्राप्त भई अवगत भयो। संविधान संशोधनपूर्व व्यापक छलफल र सहमति आवश्यक भएकाले सरकारले यस विषयलाई प्राथमिकतामा दिएकोमा नेपाली कांग्रेस स्वागत गर्दछ।
वि.सं. २०७२ सालमा नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको नेपालको संविधान नेपाली जनताले २००७ सालको जनक्रान्ति अघिदेखि विभिन्न सङ्घर्ष, आन्दोलन र संविधानसभा मार्फत नै संविधान निर्माण गर्ने जनआकाङ्क्षा र मागलाई सम्बोधन गर्ने अनवरत प्रयासको ऐतिहासिक उपलब्धि हो। संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू तथा पहिचानका लागि उठेका विभिन्न समुदाय र क्षेत्रका आन्दोलन र समूहबिच तत्कालीन परिस्थितिमा भएको सहमतिका आधारमा एक सम्झौताको दस्ताबेजको रूपमा नेपालको संविधानलाई मूर्त रूप प्रदान गरिएको थियो। नेपाली कांग्रेस त्यसको गौरवपूर्ण स्मरण गर्दछ।
संविधानसभामार्फत नेपालको संविधान जारी भएको १० वर्ष पुगेको छ। संविधान स्वयंले पनि आफैँभित्र पुनरावलोकनको परिकल्पना गरेको छ। संविधान एक गतिशील र परिवर्तनशील दस्ताबेज भएकाले नागरिकको भावना र आवश्यकताअनुसार यसलाई समयानुकूल संशोधन, परिमार्जन र अद्यावधिक गर्दै लैजानु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ।
नेपाली कांग्रेस संविधानले अङ्गीकार गरेका लोकतन्त्र, नेपाल राज्यको विशेषताहरू, गणतन्त्र, सङ्घीयता, नागरिक सर्वोच्चता, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुलवादमा आधारित बहुदलीय संसदीय व्यवस्था, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, समानुपातिक समावेशी सिद्धान्त, खुला समाज र मानवअधिकार लगायतका सारभूत मूल्य-मान्यतामा कुनै पनि सम्झौता नगरी र सङ्कुचित नहुने गरी यसलाई अझ सुदृढ बनाउनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेस राख्दछ।
अत: लोकतन्त्रलाई परिणाममुखी बनाउन, संविधानलाई थप समावेशी र अधिकारसम्पन्न बनाउन, र यसको गतिशील कार्यान्वयन एवं सुशासन र प्रभावकारी सेवा प्रवाह (Delivery) को लागि कतिपय विषयमा संशोधन आवश्यक छ भन्नेमा पनि हामी प्रस्ट पनि छौँ। सरकारको यस प्रयासमा कांग्रेसले साथ र सहकार्य गर्नेछ।
यद्यपि, यस कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि मनोनयन गर्नु अगाडि कार्यदलको विधि, कार्यक्षेत्र तथा विषयवस्तु लगायतका केही विषयमा स्पष्ट हुन आवश्यक देखिएको छ। यो स्पष्टताले कार्यदललाई नै आफ्नो कार्यसम्पादन गर्न मद्दत पुग्नेछ र संविधान संशोधनका सन्दर्भमा थप प्रष्टता एवं अपनत्व बढ्नेछ।
१. हामीलाई प्राप्त पत्रमा उल्लेख भए अनुसार यस कार्यदलको काम बहसपत्र तयार गर्ने भनिएको छ। तर पत्रमा कार्यदलको क्षेत्राधिकार, सीमा र भूमिकाबारे स्पष्ट उल्लेख नगरिएको हुँदा कार्यदलको विधि र कार्यक्षेत्रका सन्दर्भमा हामी स्पष्ट हुन चाहन्छौँ।
२. सशस्त्र द्वन्द्व पश्चात् संक्रमणकालको कठिन परिस्थितिबाट यो संविधान निर्माण भएको थियो। त्यसपछि पनि संविधानमाथि आम अपनत्व र स्वामित्व स्थापित गर्न विभिन्न समयमा पहिचान लगायतका अधिकारका आन्दोलन र समूहसँग राज्यले गरेका सम्झौता विषयलाई पनि स्मरणमा राख्नु पर्दछ। संविधान संशोधन आफैँमा संवेदनशील विषय भएकोले नेपाल सरकारले यो पहल लिँदा सुरुवातदेखि नै यसको बहसलाई सहभागितामूलक, समावेशी र न्यायपूर्ण बनाउने सन्दर्भमा सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्दछ।
३. संविधान संशोधनको बहसमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने बाहेकका राजनीतिक दलहरूसँगको सम्बन्ध एवं समन्वयका विषयमा समेत वर्तमान सरकार स्पष्ट हुनु आवश्यक देखिन्छ। यस सन्दर्भमा खासगरी संविधान निर्माणका महत्त्वपूर्ण सरोकारवाला पक्ष मधेसी, आदिवासी-जनजाति, थारु, दलित, अल्पसङ्ख्यक लगायत पहिचानका लागि आन्दोलनरत समुदाय र क्षेत्रलाई प्रक्रियामा जोड्न सरकारले के आधार लिएको छ र संविधान कार्यान्यनसँग जोडिएका प्रदेश र स्थानीय सरकारको सहभागिताको विषयमा सरकारको धारणा के छ स्पष्ट हुनुपर्छ।
४. अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको नेतृत्वमा सरकार गठन भएको छ। वर्तमान संविधान, संविधानले अंगीकार गरेको आधारभूत मूल्य-मान्यता र संशोधन गर्ने प्रस्तावित विषयप्रति नेपाल सरकार र सरकारको नेतृत्वकर्ता दलको प्रतिबद्धता एवं धारणा प्रस्ट रूपमा आउन आवश्यक छ। सरकार र नेतृत्वकर्ता दलको प्रतिबद्धता र बहसपत्रको तयारीका निमित्त संशोधनका प्राथमिकताका विषयमा स्पष्ट धारणा आयो भने कार्यदलको भूमिका र उपस्थिति थप प्रभावकारी हुन सक्दछ।
अत: नेपाल सरकारले संविधान संशोधन बहसपत्र तयार गर्नुको सान्दर्भिकता, यसको विधि, क्षेत्राधिकार र सीमा, यसले हासिल गर्न खोजेको राजनीतिक र संवैधानिक लक्ष्य र संविधानका आधारभूत विषयवस्तु एवं संशोधनका प्रावधानहरूका बारेमा आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गरी स्पष्ट हुन सकेमा संविधान संशोधन जस्तो संवेदनशील विषयमा बहसपत्र तयार गर्ने कार्यदलमा पार्टीको सहभागिता सार्थक हुन्छ र आम अपनत्व पनि हुन्छ भन्नेमा नेपाली कांग्रेसको विश्वास रहेको छ। सरकारको यस प्रयासमा कांग्रेसको साथ र सहयोग रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण