आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आशा भोसलेलाई स्वर खराब भन्दै जब रेकर्डिङ स्टुडियोबाट टाढा राखियो...

आइतबार, २९ चैत २०८२, १४ : १६
आइतबार, २९ चैत २०८२

सारांश

  • भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ ।
  • हृदयघातका कारण निधन भएकी भोसलेले आफ्नो जीवनकालमा १२ हजारभन्दा बढी सदाबहार गीतहरू गाएकी थिइन् ।
  • उनको अन्त्येष्टि भोलि दिउँसो ४ बजे शिवाजी पार्कमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मुम्बई । भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको आइतबार दिउँसो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो । हृदयघात भएपछि उनलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । 

उनकी नातिनी जनाई भोसलेले आशालाई थकान र छातीमा केही समस्या भइरहेको बताएकी थिइन् । ‘उनको आज निधन भयो । अन्तिम श्रद्धाञ्जली दिन चाहनेहरू भोलि बिहान ११ बजे उनको घरमा आउन सक्छन् । अन्त्येष्टि भोलि दिउँसो ४ बजे शिवाजी पार्कमा गरिनेछ” उनका छोरा आनन्द भोसले जानकारी दिएका छन् ।

आशाले १२ हजारभन्दा बढी गीतहरू गाएकी छन् । उनका दम मारो दम, पिया तू अब तो आजा, चुरा लिया है तुम्ने जस्ता गीतहरू आज पनि सदाबहार छन् । आशा प्रसिद्ध रंगमञ्च अभिनेता र शास्त्रीय गायिका दीनानाथ मंगेशकरकी छोरी र प्रसिद्ध गायिका लता मंगेशकरकी कान्छी बहिनी हुन् । आशा केवल ९ वर्षकी हुँदा उनका बुबाको मृत्यु भएको थियो । उनी र उनकी दिदी लता मंगेशकरले परिवारको पालनपोषण गर्नका लागि गाउन सुरु गरेका थिए ।

आशा भोसलेले १६ वर्षको उमेरमा भागेर विवाह गरेकी थिइन् । लताका ३१ वर्षीय सचिव गणपतराव भोसलेसँग उनको विवाह भएको थियो । लता र उनको परिवारले आशाको विवाहको कडा विरोध गरेका थिए । बिहेपछि आशा र परिवार बिचको सम्बन्ध चिस्सियो र धेरै कठिनाइहरूको सामना गर्नुपर्‍यो ।

उनी घरेलु हिंसाको शिकार पनि भइन् । जीवनबाट निराश भएकी उनी सन् १९६० मा आफ्नो पहिलो पतिबाट अलग्गिइन् । आशा आफ्ना तीन छोराछोरी हेमन्त, वर्षा र आनन्दलाई लिएर आफ्नो माइतीमा फर्किइन् । बिस्तारै परिवार र आशाबिचको दूरी कम हुन थाल्यो ।

आशाको दोस्रो बिहे

आशा भोसलेको दोस्रो विवाह संगीतकार आरडी बर्मनसँग भएको थियो । दुवैको पहिलो भेट सन् १९५६ मा भएको थियो । उनीहरूको घनिष्ठ मित्रता र संगीत यात्रा सन् १९६६ को फिल्म तिसरी मन्जिलको समयमा सुरु भएको थियो । सँगसँगै काम गर्दा उनीहरूको मित्रता बिस्तारै प्रेममा परिणत भयो । तर आशा बर्मनभन्दा ६ वर्ष जेठी र तीन सन्तानकी आमा भएकोले बिहेमा बर्मनकी आमा तगारो बनिन् ।

त्यसपछि बर्मनले चुपचाप आफ्नी आमाको अनुरोध स्वीकार गरे यद्यपि, बर्मनका बुबा एसडी बर्मनको मृत्यु भएपछि उनकी आमाको मानसिक अवस्था बिग्रियो । उनको अवस्था सुधार गर्न बर्मनले सन् १९८० मा आशा भोसलेसँग विवाह गरे । आशा भोसले र आरडी बर्मनका सन्तान भएनन् ।

आशा भोसलेले सन् १९५० र १९९० को दशकमा ओपी नायर, आरडी बर्मन, खय्याम र बप्पी लाहिरी जस्ता धेरै संगीतकारहरूसँग काम गरिन् र धेरै सदाबहार गीतहरू गाइन् । यद्यपि, एक पटक साउन्ड रेकडिष्टले स्वर खराब भनेपछि आशालाई रेकर्डिङ स्टुडियोबाट टाढा राखिएको थियो ।

उनलाई र किशोर कुमारलाई कमजोर स्वरका कारण रेकर्डिङ स्टुडियो छोड्न भनिएको आरजे अनमोलसँगको कुराकानीमा आशा भोसलेले खुलासा गरेकी थिइन् । उनले सन् १९४७ मा किशोर कुमारसँग राजकपूर र नरगिस अभिनित फिल्म जान पेहचानका लागि गीत रेकर्ड गर्न जे.बी.रुंग्टाको प्रसिद्ध स्टुडियोमा गएको कुरा समेत स्मरण गर्ने गरेकी थिइन् ।

उक्त फिल्मका संगीत निर्देशक खेमचन्द प्रकाश थिए । त्यसरी उनले थुप्रै गीतहरूमा स्वर दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप