बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

संस्कृत व्याकरणका सूत्रधारको तपस्यास्थल प्रवर्द्धनमा ऐक्यबद्धता

मङ्गलबार, १५ वैशाख २०८३, १३ : ०२
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • संस्कृत व्याकरणका सूत्रधार पाणिनि ऋषिको तपस्यास्थल अर्घाखाँचीको पाणिनि तपोभूमि क्षेत्रलाई प्रवद्र्धन गर्न काठमाडौँमा छलफल भएको छ ।
  • छलफलमा सहभागी सरोकारवालाहरूले तपोभूमि क्षेत्रलाई अध्ययन, अनुसन्धान, सांस्कृतिक, धार्मिक, जैविक, प्राकृतिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्नुपर्ने योजना प्रस्तुत गरे ।
  • पाणिनि तपोभूमि व्यवस्थापन समिति, पाणिनि सरोकार समुह र अर्घाखाँची पोखराथोक काठमाडौँ सम्पर्क मञ्चको सहकार्यमा सम्पन्न कार्यक्रममा अमेरिका लगायत विभिन्न देशबाट पनि यसको प्रवद्र्धनका लागि सङ्गठित प्रयास भइरहेको जानकारी गराइयो ।

काठमाडौँ । संस्कृत व्याकरणका सूत्रधार पाणिनि ऋषिको तपस्यास्थल अर्घाखाँचीको पाणिनि तपोभूमि क्षेत्रलाई प्रवद्र्धन गर्न काठमाडौँमा छलफल भएको छ ।  छलफलमा सहभागी सरोकारवालाहरूले संस्कृत व्याकरणका १४ सूत्रका प्रणेता महर्षि पाणिनिको महत्वबारे चर्चा गर्दै तपोभूमि क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्नु पर्नेमा जोड दिए ।

उनीहरुले तपोभूमि क्षेत्रलाई अध्ययन तथा अनुसन्धान केन्द्रको रूपमा विकास गर्नुपर्ने, सांस्कृतिक, धार्मिक, जैविक, प्राकृतिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्नुपर्ने, संस्कृत व्याकरण, साहित्यका विश्वका विद्वानहरूलाई आकर्षित गर्नुपर्ने लगायतका योजनाहरू प्रस्तुत गरेका थिए । 

त्यस्तै पाणिनिलाई विश्व सम्पदा सूचीमा विकास गर्ने, पाणिनिको तथ्यबारे प्रचार पर्ने, नजिकका धार्मिक/पर्यटकीय केन्द्रलाई जोड्ने, प्राज्ञिक तीर्थको रूपमा वृहत् गुरुयोजना बनाउने, समुदायदेखि सबै तहका सरकारले यसको गुरुयोजनालाई कार्यान्वयन गर्ने लगायतका अवधारणा प्रस्तुत गरेका थिए । 

अर्घाखाँचीको पाणिनि गाउँपालिका १ र २ वडाको शिखरमा यो स्थल रहेको छ । पाणिनि तपोभूमि व्यवस्थापन समिति, पाणिनि सरोकार समुह र अर्घाखाँची पोखराथोक काठमाडौँ सम्पर्क मञ्चको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।  

कार्यक्रममा संस्कृत अध्येता डा।चिन्तामणि योगीले चौध सूत्रीय संस्कृत व्याकरण मात्रै नभई नेपाली भाषामा प्रचलित स्वर र व्यञ्जन वर्ण पनि चौध सूत्रीय नै रहेको तथ्य प्रस्तुत गरे । उनले विश्वमा महत्त्वपूर्ण बन्दै गरेको संस्कृतलाई जोगाउन र प्रवर्द्धन गर्न जरुरी भएको बताए । 

सो अवसरमा प्रतिनिधि सभा सदस्य हरि प्रसाद भुसाल, पूर्व सांसद ठाकुर गैरे, पूर्व मन्त्री रेवती भुसाल, व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज पोखरेल, मञ्चका अध्यक्ष मदन गौतम, संरक्षक बाबा योगिराज लगायतले लगायतले अवधारणासहित मन्तव्य राखेका थिए । त्यस्तै अभियन्ताहरू जय बहादुर टन्डन, तुलसी गौतम, धनन्जय पौडेल, कपिल पोखरेल, सुबासचन्द्र पोखरेल, नवीन पौडेल, अर्जुन पोखरेल, खिमलाल भट्टराई, विष्णुप्रसाद खनाल, खगेश्वर गौतम, नेत्रबन्धु पोखरेलले आआफ्ना धारणा राखेका थिए । संरक्षण अभियन्ता राम प्रसाद भट्टराईले संरक्षण तथा प्रवर्धन योजनाहरुको निष्कर्ष प्रस्तुत गरेका थिए । 

कार्यक्रममा अर्घाखाँचीसहित लुम्बिनी प्रदेशका सबै जिल्ला, अर्घाखाँचीका काठमाडौबासी तथा अमेरिका लगायत विभिन्न देशका अगुवाहरूको सहभागिता रहेको थियो । सो अवसरमा तपोभूमि प्रवर्द्धनका लागि अमेरिकामा क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया लगायतका देशमा सङ्गठित प्रयास भइरहेको जानकारी गराइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप