कांग्रेसले स्पष्टीकरण सोधेपछि मन्त्री सुनुवारको प्रतिक्रिया, ‘यो अप्रत्याशित र षड्यन्त्रपूर्ण छ’
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रदीप कुमार सुनुवारसहितका नेताहरूलाई स्पष्टीकरण सोधेपछि तरंग पैदा भएको छ।
- मन्त्री सुनुवारले आफूमाथि अन्याय र षड्यन्त्र भएको दाबी गर्दै चुनावमा पार्टीका उम्मेदवारलाई सहयोग गरेको बताएका छन्।
- कांग्रेस अनुशासन समितिले मन्त्री सुनुवारसँगै लुम्बिनीका दुई मन्त्री र अन्य सात प्रदेश सांसदहरूलाई पनि पाँच दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।
विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रदीप कुमार सुनुवारसहितका नेताहरूलाई स्पष्टीकरण सोधेपछि तरङ्ग पैदा भएको छ। गत चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै पत्र काटिएपछि मन्त्री सुनुवारले आफूमाथि अन्याय र षड्यन्त्र भएको दाबी गरेका छन्।
मन्त्री सुनुवारले आफूले चुनावमा इमानदारिताका साथ खटिएर पार्टीका उम्मेदवारहरूलाई सहयोग गरेको दाबी गर्दै अनुशासन समितिको यो कदमप्रति आश्चर्य प्रकट गरे। ‘मैले त कोशी प्रदेशभरि नै पार्टीका उम्मेदवारहरूलाई सहयोग गरेको हो, यस्तो पत्र आउला भन्ने कल्पनै गरेको थिइन,’ उनले भने, ‘पत्रका बारेमा मलाई सामाजिक सञ्जाल र ह्वाट्सएप मार्फत मात्रै थाहा भयो। यस्तो कुरा त अप्रत्याशित भयो।’
सुनुवारले आफू हालै मात्र पार्टीका शीर्ष नेताहरूसँग भेटघाटमा रहेको तर त्यतिबेला यस्तो कुनै सङ्केत नपाएको जिकिर गरे। उनले भने, ‘मैले केही समय अगाडि मात्रै पार्टी सभापति र महामन्त्रीलाई भेटेको थिएँ। त्यतिबेला यस्तो कुनै कुरा उठेको थिएन, अहिले एक्कासि यस्तो आउनुमा कुनै षड्यन्त्र हुनसक्छ।’
आफ्नो निर्वाचन क्षेत्र र जिल्लाको अवस्थाबारे स्पष्ट पार्दै उनले आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन अहोरात्र खटिएको दाबी गरे। मन्त्री सुनुवारले भने, ‘मैले त राम्रोसँग रुख चिह्नमा भोट हाल्न सबैलाई सिकाएको र सहयोग गरेको मान्छे हुँ। अहिले के मकसदले र कसरी यस्तो पत्र काटियो, त्यो मलाई थाहा छैन।’
आफूमाथि लागेको आरोपको राजनीतिक रूपमै सामना गर्ने सङ्केत दिँदै उनले भने, ‘यो कुन खालको षड्यन्त्र भएको हो, मलाई थाहा छैन। अब यसबारे राजनीतिक रूपमै सबै साथीहरूसँग सरसल्लाह गरेर अगाडि बढ्नेछु।’
कांग्रेस अनुशासन समितिले मन्त्री सुनुवारसँगै लुम्बिनीका दुई मन्त्री र अन्य सात प्रदेश सांसदहरूलाई पनि पाँच दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। ओखलढुङ्गामा प्रतिनिधि सभातर्फ कांग्रेसका उम्मेदवार ५ मतले पराजित भएपछि त्यसको दोष सुनुवारमाथि लगाइएको छ।
मन्त्री सुनुवार पूर्वसभापति शेरबहादुर देउवा निकट मानिन्छन्। उनले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ राजनीतिक परामर्शपछि मात्र दिने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : महामन्त्री बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण