आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभा बैठकः सुकुमबासीमाथि बिनातयारी डोजर चलाएको भन्दै आपत्ति

बिहीबार, १७ वैशाख २०८३, १८ : ०४
बिहीबार, १७ वैशाख २०८३

बुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आज (बिहीबार)देखि सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुमबासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतासम्ममा व्यापक छलफल भयो ।

बैठकमा प्रदेश सभा सदस्यहरूले शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सुझाव दिएका छन् । 

बैठकमा नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नयाँ भनिएका राजनीतिक शक्तिहरूले मुलुक निर्माण गर्न नसक्ने दाबी गर्दै पुराना राजनीतिक दलहरूसँग नै देश निर्माणको अनुभव र क्षमता रहेको बताए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकालले नयाँ अधिवेशनले प्रदेश विकासलाई थप गति दिने विश्वास व्यक्त गर्दै विगतका कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने धारणा राखिन् । 

नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक इन्द्रजीत थारूले संघीय सरकारले सुकुमबासीहरूको मौलिक हकमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै बिनातयारी डोजर चलाइएकोमा आपत्ति जनाए । उनले भूमि व्यवस्थापन र उपयोगबारे गम्भीर अध्ययन गर्न संघीय सरकारलाई आग्रह गरे । 

प्रदेश सभा सदस्य भण्डारीलाले अहिरले इमानदारी, समावेशिता र आवश्यकतामा आधारित बजेट ल्याउनुपर्ने बताए भने हेमा वेल्वासेले विगतका कमजोरी नदोहोर्‍याई कार्यान्वयनयोग्य बजेट आवश्यक रहेको उल्लेख गरिन् । 

त्यस्तै चन्द्रकेश गुप्ताले किसानका समस्या समाधान हुनेगरी बजेट आउनुपर्नेमा जोड दिए । प्रदेश सभा सदस्य मिनाकुमारी श्रेष्ठले वास्तविक आवश्यकता र प्राथमिकतालाई आधार बनाएर पारदर्शी तथा परिणाममुखी बजेट निर्माण गर्नुपर्ने बताइन् । 

प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले आगामी बैठकको मिति सूचनामार्फत सार्वजनिक गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप