आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

केशवराज ज्ञवालीको पुस्तक ‘अज्ञात’ बुटवलमा लोकार्पण

शुक्रबार, १८ वैशाख २०८३, ०९ : ५७
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • लेखक केशवराज ज्ञवालीको पुस्तक ‘अज्ञात’ बुटवलमा लोकार्पण गरिएको छ।
  • पुस्तकमा गोर्खा राज्य विस्तारका क्रममा अनगन्ती अज्ञात व्यक्तिहरूको कथा उजागर गरिएको छ।
  • समीक्षकहरूले पुस्तकले ओझेलमा परेका पात्रहरूको इतिहास प्रेमको आलोकमा सामान्यजनको कथाका रूपमा प्रस्तुत गरेको बताएका छन्।

बुटवल । लेखक केशवराज ज्ञवालीको पुस्तक ‘अज्ञात’ एक समारोहबीच बुटवलमा लोकार्पण गरिएको छ। पाठक मञ्च, बुटवलको आयोजनामा न्यू होराइजन माध्यमिक विद्यालयका संस्थापक प्राचार्य लोकनाथ उपाध्यायले पुस्तक लोकार्पण गरेका हुन्।

‘अज्ञात’ पुस्तकमा गोर्खा राज्यको विस्तारका क्रममा अनगन्ती अज्ञात व्यक्तिहरूका कथालाई उजागर गर्ने प्रयास गरिएको छ। बुटवलका लेखक ज्ञवाली हाल अमेरिकामा बसोबास गर्दै आएका छन्।

लेखक तथा अध्येता रामचन्द्र श्रेष्ठले पुस्तकको समीक्षा गर्दै यसले नेपाल राज्य निर्माण र नेपाल–अंग्रेज युद्धलाई जोड्दै त्यहाँका अज्ञात पात्रहरूको कथा प्रस्तुत गरेको बताए। उनका अनुसार पुस्तकले इतिहासलाई प्रेमको आलोकमा सामान्यजनको कथा रूपमा प्रस्तुत गरेको छ। साथै, उनले लेखक ज्ञवालीको यो कृतिले साहित्य जगतमा बलियो हस्तक्षेप गरेको उल्लेख गरे।

अर्की समीक्षक उपप्राध्यापक माया घिमिरेले पुस्तकले ओझेलमा परेका पात्रहरूको इतिहास उजागर गरेको बताइन्। त्यसैगरी डा. मनोज ढुंगानाले पाठक मञ्चका तर्फबाट लेखकलाई धन्यवाद ज्ञापन गर्दै आगामी लेखनकार्यका लागि शुभकामना दिए।

लोकार्पण कार्यक्रममा पाठक मञ्चकी सरिता श्रीस र लेखक सुमिना लगायतले पनि मन्तव्य राख्दै पुस्तकले इतिहासको गहिरो खोजी गरेको धारणा व्यक्त गरे।

नेपालको वर्तमान भूगोल निर्माणमा आफ्नो प्राण र पसिना अर्पण गरेका अज्ञात व्यक्तिहरूको कथा पुस्तकमा समेटिएको छ।

लेखक ज्ञवालीको पहिलो कृति, कथासंग्रह ‘अर्को भोर’, २०७८ सालको पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप