आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सुकुमबासी समस्या समाधानका नाममा नागरिकलाई बेघरबार बनाइँदैछ : मुख्यमन्त्री आचार्य

आइतबार, २० वैशाख २०८३, १८ : ३२
आइतबार, २० वैशाख २०८३

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुकुमबासी समस्या समाधानको नाममा नागरिकलाई बेघरबार बनाउने काम भइरहेको बताएका छन्।
  • उनले पहाडबाट झरेर बुटवल क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरूले आफ्नै मेहनतले घर बनाएको उल्लेख गर्दै उनीहरूलाई अव्यवस्थित बसोबासीको नाममा जबरजस्ती हटाउने र घरमाथि डोजर चलाउने काम भइरहेको बताए।
  • मुख्यमन्त्री आचार्यले अव्यवस्थित बसोबासलाई आधार बनाएर नागरिकलाई अलपत्र पार्नु राज्यको जिम्मेवारी विपरीत भएको उल्लेख गरे।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले सुकुमबासी समस्या समाधान गर्ने नाममा नागरिकलाई बेघरबार बनाउने काम भइरहेको बताएका छन्।

प्रगतिशील लेखक सङ्घ रुपन्देहीद्वारा आइतबार बुटवलमा आयोजित कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ द्वारा लिखित ‘अठोट’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले भूमिहीन तथा सुकुम्वासीको समस्या नागरिकलाई विस्थापित गरेर समाधान नहुने स्पष्ट पारे।

उनले पहाडबाट झरेर बुटवल क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरूले आफ्नै मेहनतले घर बनाएको उल्लेख गर्दै उनीहरूलाई अव्यवस्थित बसोबासीको नाममा जबरजस्ती हटाउने र घरमाथि डोजर चलाउने काम भइरहेको बताए। यस्तो कार्यले नागरिकलाई झन् समस्यामा पार्ने उनको भनाइ थियो।

मुख्यमन्त्री आचार्यले अव्यवस्थित बसोबासलाई आधार बनाएर नागरिकलाई अलपत्र पार्नु राज्यको जिम्मेवारी विपरीत भएको उल्लेख गरे।

कार्यक्रममा पुस्तकका लेखक श्रेष्ठले ‘अठोट’ आफ्नो जीवनका राजनीतिक तथा सामाजिक आरोह–अवरोहमा आधारित कृति भएको बताए। उनले पुस्तकलाई प्रेरणादायी भएको उल्लेख गर्दै विशेष गरी युवा पुस्ताले यसबाट सिकेर अघि बढ्नुपर्ने धारणा राखे।

उक्त कार्यक्रममा डा. मुरारी पराजुली, बुटवलका पूर्व उपमेयर विमल बहादुर शाक्य, प्राध्यापक माधवकुमार पौडेललगायतले पुस्तकबारे आफ्ना धारणा व्यक्त गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप