सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
'स्टार एन्ड स्टोरिज'मा अभिनेता विपिन कार्की

‘कलाकारले समाज र देश नबुझी जीवन्त अभिनय गर्न सक्दैन’

शुक्रबार, २५ वैशाख २०८३

काठमाडौं । स्टारडम र एक्टरमा निकै ठुलो भिन्नता हुन्छ । स्टार पर्दामा पनि पात्रभन्दा बढी स्टार नै देखिन्छ भने एक्टर कथाको जीवन्त पात्र । निर्विवाद विपिन कार्की एक्टर हुन् । उनले फिल्ममा जुन भूमिका निर्वाह गर्छन्, दर्शकलाई विपिन नै हुन् भनेर चिन्न मुस्किल पर्छ । ‘पशुपति प्रसाद’को ‘भस्मे डन’ भनौं वा ‘जात्रा’को फणीन्द्र । विपिन सोही पात्र लाग्छन् । 

सुनिल पोखरेलको ‘गुरुकुल’मा रङ्गमञ्चको औपचारिक प्रशिक्षण लिएर अभिनयमा होमिएका हुन् विपिन । फिल्म ‘छड्के’मा बिन्दु चरित्र मार्फत डेब्यु गरे पनि ‘पशुपति प्रसाद’को ‘भस्मे डन’ पात्रले रातारात स्टार बनायो । ‘जात्रा’, ‘प्रसाद’, ‘गोपी’, ‘भागवत एक गीता’, ‘सेल्फी किङ’ र ‘पहाड’ जुन फिल्म भनौं, त्यसैमा फरक-फरक भूमिका र लवजमा देखिन्छन् उनी । 

उनी केवल स्क्रिप्ट पढ्दैनन्, पात्रको लवज, हिँडाइ र स्वभावलाई जीवन्त बनाउन समाजका वास्तविक पात्रहरूको रिफरेन्स लिन्छन् । आफूलाई ‘हिरो’ भन्दा बढी कलाकार मान्ने विपिन यतिबेला फिल्म ‘काजी’का कारण चर्चामा छन् । ‘काजी’मा मार्फत एक समर्पित प्रेमीको रूपमा देखिन लागेका कार्की बलिउड निर्देशक सन्दीप रेड्डी वाङ्गासँगको निकट सम्बन्धका कारण भारतमा समेत चर्चामा छन् । 

उम्दा अभिनेता विपिनसँग फिल्म, करिअर र अभिनयका विषयमा केन्द्रित रहेर रातोपाटीको ‘स्टार एन्ड स्टोरिज’मा गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :

अहिलेको तपाईंको परिचय के हो ?

म यतिबेला नयाँ फिल्म ‘काजी’को प्रमोसनमा छु । फिल्म आगामी जेठ ८ गतेबाट देश र विदेशमा एकसाथ लाग्दैछ । त्यसैले अहिले मेरो परिचय काजी भन्दा पनि हुन्छ । सधैँको परिचय विपिन हो ।

Bipin Karki

तपाईंलाई फिल्म प्रचारमा हिँडाउन गाह्रो छ भन्छन्, फेरि हिँडिरहेको पनि देख्छु ?

म यो कुराको कडा प्रतिवाद गर्छु । म कसरी प्रचारमा हिँडिनँ ? हरेक फिल्मको समयमा म मिडिया र दर्शकसँग प्रत्यक्ष जोडिएकै हुन्छु । फिल्म ‘ऊनको स्वीटर’को समय मलाई चाहिने भन्दा बढी प्रचारमा हिँड्यो भनेर साथीहरूले नै भने । मेरो विचारमा प्रचार पनि फिल्म निर्माणकै एउटा अभिन्न अङ्ग हो । आफूले गरेको काम धेरै मान्छेमाझ पुगोस् भन्ने त मलाई पनि हुन्छ नि । एउटा कलाकारलाई प्रचारमा समय दिन्नँ भन्ने छुट हुँदैन, यो कुरामा म क्लियर छु ।

‘काजी’मा कस्तो भूमिकामा देखिँदै हुनुहुन्छ ?

‘काजी’मा मैले अहिलेसम्म नगरेको एउटा फरक चरित्र निर्वाह गरेको छु । प्रायः दर्शकले मलाई चकलेटी हिरो वा सामान्य लभ स्टोरीमा फिट देख्नुहुन्न, तर ‘काजी’को प्रेमकथा अलि फरक छ । यो आजभन्दा ३०–३५ वर्ष अगाडिको परिवेशमा बुनिएको कथा हो । ‘काजी’ भन्ने बित्तिकै धेरैले जमिनदार वा रवाफिलो मान्छे सोच्नुहोला । तर यसमा काजी एउटा समर्पित प्रेमी हो । 

यसमा केकी अधिकारी र मेरो जोडीलाई हामीले नेपाली साहित्यका मुना–मदन वा रोमियो–जुलियट जस्तै एउटा बिम्बका रूपमा स्थापित गर्न खोजेका छौँ । यो एउटा यस्तो प्रेम कथा हो, जहाँ समर्पणको पराकाष्ठा देखिन्छ ।

फिल्मको प्रेमकथा वर्षौँसम्म याद गरिने भन्नुभएको थियो, के छ र त्यस्तो ?

प्रेम भन्ने बित्तिकै समर्पण हो । एउटा मान्छेले प्रेमका लागि कतिसम्म त्याग गर्न सक्छ भन्ने देखाइएको छ । मान्छेलाई धनसम्पत्ति भएर पनि दुःखी हुन सक्छ, तर प्रेमको चोटले धनी–गरिब भन्दैन । यसमा विश्वासको तह र अन्डरस्ट्यान्डिङलाई गहिरोसँग देखाइएको छ । यसको भिजुअल ल्याङ्ग्वेज पनि निकै स्ट्रङ छ । यो एउटा विशुद्ध र गहिरो प्रेम कथा हो, त्यसैले दर्शकले यसलाई लामो समयसम्म सम्झिरहनुहुनेछ भन्ने मेरो विश्वास हो ।

तपाईंलाई फिल्म साइन गराउन गाह्रो छ भन्छन् नि, किन ?

म हत्तपत्त फिल्म साइन गर्दिनँ, त्यो सत्य हो । किनभने म आफूलाई भन्दा पनि दर्शकलाई केन्द्रमा राखेर निर्णय लिन्छु । फिल्म साइन गर्दा म आजको दिन मात्र सोच्दिनँ, रिलिज भएपछि हलमा जाँदा मेरा दर्शकले के भन्नुहोला भन्ने कुराले मलाई सधैँ दबाब दिन्छ । ममाथि दर्शकको जुन विश्वास छ, त्यसलाई तोड्ने अधिकार मलाई छैन ।

Bipin Karki1

स्क्रिप्ट पढ्न र त्यसलाई बुझ्न म लामो समय लिन्छु । तर एक पटक होमिएपछि भने म कामप्रति एकदमै इमानदार र सजिलो हुन्छु । मलाई डाइरेक्टरले स्क्रिप्टको लयमा कसरी ढाल्छन् भन्ने मात्र चिन्ता हुन्छ ।

हरेक चरित्र मार्फत दर्शकको मनमा गहिरो गरी बस्नुहुन्छ, त्यसको राज के हो ?

म चरित्र निर्माण गर्दा जहिले पनि समाजमा हामीले देखिरहेका वास्तविक पात्रहरूको रिफरेन्स लिन्छु । हरेक कलाकारको आफ्नै शैली हुन्छ, मेरो शैली भनेकै स्थानीय र टिपिकल पात्रहरूलाई पर्दामा उतार्नु हो । जब दर्शकले पर्दामा आफूले देखिरहेको छिमेकी, साथी वा आफन्त जस्तै चरित्र देख्नुहुन्छ, तब उहाँहरूले सजिलै रिलेट गर्नुहुन्छ । म कम्युनिटीबाट क्यारेक्टर टिप्छु, सायद त्यही इमानदारिताले गर्दा दर्शकले मन पराउनुहुन्छ ।

धेरै चरित्रको चर्चा भइसक्दा धेरैले चाहिँ ‘भस्मे डन’ नै भनेर चिन्छन् हो ?

‘भस्मे डन’ मेरो करिअरको माइलस्टोन चरित्र हो । यसलाई नकार्न सकिँदैन । यसले मलाई नेपाली दर्शकको मासमा चिनायो । तर मलाई लाग्छ अब बिस्तारै त्यो छाया मेटिँदैछ । हिजोआज कतिले मलाई ‘सेल्फी किङ’, ‘फणीन्द्र’ वा ‘गोपी’ जस्ता पात्रबाट पनि चिन्नुहुन्छ । अब भने बल्ल पात्रभन्दा पनि ‘विपिन कार्की’ को रूपमा चिन्न थाल्नुभएको छ । यो मेरो लागि खुसीको कुरा हो ।

बलिउड फिल्म ‘एनिमल’मा तपाईंले काम गर्ने चर्चा निकै भयो, तर काम हुन सकेन, किन ?

यसलाई म समयको खेल मान्छु । समयभन्दा अगाडि केही हुँदैन । अनुकूलता नमिलेर ‘एनिमल’ मिस भयो, तर त्यसले मलाई फाइदा नै पुर्‍याएको छ । निर्देशक सन्दीप रेड्डी वाङ्गासँग मेरो अझै पनि कुराकानी भइरहन्छ ।

Bipin Karki2

उहाँले मलाई एउटा राम्रो कलाकारको रूपमा सम्मान गर्नुहुन्छ । हामी भविष्यमा पक्कै पनि सँगै काम गर्नेछौँ । ‘एनिमल’ नखेल्दैमा बलिउडको ढोका बन्द भएको छैन, बरू अझ राम्रो सम्बन्ध बनेको छ । बलिउडका धेरैसँग चिनजान छ, मेरा लागि बलिउडको बाटो सधै खुल्ला छ, जहिले पनि खेल्नसक्छु ।

फेरि रंगमञ्चमा देखिने सम्भावना छ कि ?

रङ्गमञ्च मेरो जग हो । नाटक गर्न मन निकै छ, तर यसका लागि धेरै समय छुट्याउनुपर्छ । दुई–चार महिना फिल्मका काम छोडेर बस्नुपर्ने हुन्छ । एउटा राम्रो नाटक गर्ने रहर पलाएको छ, समय मिलाएर पक्कै गर्नेछु ।

कलाकारले राजनीति गर्नु ठीक कि बेठिक ? 

कलाकारले राजनीति गर्नु हुँदैन भन्ने कतै लेखिएको छैन । तर एउटा काममा फोकस हुँदा नतिजा राम्रो आउँछ । यद्यपि, राजनीति, देश र समाजको चेतना हुनु भने कलाकारका लागि अनिवार्य छ । मेरो देशको राजनीति कता जाँदैछ, समाज कस्तो छ भन्ने कुरा नबुझी म जीवन्त अभिनय गर्न सक्दिनँ । देश र जनताप्रति कलाकारको पनि उत्तरदायित्व हुन्छ । राजनीतिमा सक्रिय लाग्ने वा नलाग्ने आफ्नो कुरा हो, तर सचेत भने हुनैपर्छ ।

भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया