सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
विश्वकप

तथ्यांकमा विश्वकप २०२६

सोमबार, २५ जेठ २०८३, ११ : ५६
सोमबार, २५ जेठ २०८३

सारांश

  • सन् २०२६ को फिफा विश्वकपमा ४८ टोलीले भाग लिनेछन्, जुन इतिहासकै सबैभन्दा ठूलो संस्करण हुनेछ ।
  • ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकप उपाधि जितेको छ भने जर्मनी र इटालीले चार-चार पटक जितेका छन् ।
  • जर्मनीका मिरोस्लाभ क्लोजले विश्वकप इतिहासमा सर्वाधिक १६ गोल गरेका छन्, भने फ्रान्सका जस्ट फोन्तेनले एकै संस्करणमा १३ गोलको कीर्तिमान राखेका छन् ।

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकप अहिलेसम्मकै सबैभन्दा भव्य हुने अपेक्षा गरिएको छ । सबैभन्दा धेरै आयोजक राष्ट्र, सबैभन्दा धेरै सहभागी टिम र खेलले यो देखाइसकेको छ । 

कम्तीमा आयोजकहरूको दाबीलाई मान्ने हो भने यस विश्वकपमा दर्शक उपस्थिति पनि कीर्तिमानी नै हुनेछ । 

इतिहासमै पहिलो पटक तीन राष्ट्र आयोजक

यसपालि क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले १६ सहरमा फैलिएको यस विश्वव्यापी प्रतियोगिताको आयोजना गर्दैछन् । यहाँ कुल १०४ खेल खेलिनेछन् । यस संस्करणमा साबिक ३२ टोलीको सट्टा ४८ टोलीले भाग लिँदैछन् ।

फिफाले पटक पटक सन् १९९४ को विश्वकपमा स्थापित ३५ लाख दर्शकको संयुक्त उपस्थितिको कीर्तिमान यस वर्ष तोडिने दाबी गरेको छ । उक्त संस्करण पनि अमेरिकाले नै आयोजना गरेको थियो । 

त्यसो त विश्वकप फुटबल प्रतियोगिता निश्चित खेलभित्रको दोहोरो भिडन्त मात्र पनि होइन, बरु प्रमुख रेकर्ड र खास तथ्यांकहरूको खेल पनि हो । फुटबलप्रेमीका लागि खेलले जत्तिकै विश्वकपमा प्रमुख तथ्यांकहरूले पनि आकर्षित गर्ने गरेको छ । केही प्रमुख तथ्यांक यसप्रकारका छन्ः

सबैभन्दा धेरै उपाधि जित्ने टोली कुन हो ?

ब्राजिल (१९५८, १९६२, १९७०, १९९४ र २००२) : ब्राजिलले पाँच पटक विश्वकप जितेर अग्रता कायम गरेको छ । अनि सन् १९३० देखि आयोजना भएका सबै विश्वकप संस्करणमा सहभागी हुने एकमात्र टोली पनि ब्राजिल नै हो । 

‘क्यानारिन्हो’ अर्थात् ब्राजिलियन फुटबल टोलीले कुल गरेर सात फाइनल र ११ सेमिफाइनल खेलेका छन् ।

त्यसैगरि, जर्मनी र इटालीले समान चार–चार उपाधि जितेका छन् । तर यस वर्ष इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएकाले जर्मनीसँग मात्र थप उपाधि जित्ने सम्भावना छ ।

व्यक्तिगत स्तरमा ब्राजिलका महान् खेलाडी पेलेले आफ्नो करियरमा सबैभन्दा धेरै तीन विश्वकप (१९५८, १९६२ र १९७०) जित्ने कीर्तिमान राखेका छन् । उनका टोलीसाथी बेलिनी र कास्टिल्होले १९५८ र १९६२ मा उनीसँगै उपाधि जितेका थिए भने काफूले १९९४ र २००२ मा ब्राजिललाई विश्वकप जिताउन सहयोग गरेका थिए ।

विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी को हुन् ?

मिरोस्लाभ क्लोज (१६ गोल): जर्मनीका मिरोस्लाभ क्लोजेले चार विश्वकपमा २४ खेल खेल्दै १६ गोल गरेका छन्, जुन विश्वकप इतिहासको सर्वाधिक गोलको कीर्तिमान हो ।

त्यस्तै अन्य शीर्ष गोलकर्ताहरूमा  रोनाल्डो (ब्राजिल)ले चार विश्वकपका १९ खेलमा १५ गोल गरेका छन् । 

गर्ड मुलर (तत्कालीन पश्चिम जर्मनी)ले दुई विश्वकपका १३ खेलमा १४ गोल, जस्ट फोन्तेन (फ्रान्स) ले एक विश्वकपका ६ खेलमा १३ गोल, लियोनेल मेस्सी (अर्जेन्टिना)ले पाँच विश्वकपका २६ खेलमा १३ गोल, किलियन एम्बाप्पे (फ्रान्स)ले दुई विश्वकपका १४ खेलमा १२ गोल र पेले (ब्राजिल) ले चार विश्वकपका १४ खेलमा १२ गोल गरेका छन् ।

एकै विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी को हुन् ?

 फ्रान्सका जस्ट फोन्तेनले सन् १९५८ मा स्विडेनमा आयोजित विश्वकपका केवल ६ खेलमा १३ गोल गरेका थिए ।

त्यस्तै एकै विश्वकपका अन्य शीर्ष गोलकर्ताहरूमा  सान्दोर कोचिस (हंगेरी)ले १९५४ मा ११ गोल, गर्ड मुलर (पश्चिम जर्मनी)ले १९७० मा १० गोल, अडेमिर (ब्राजिल) ले १९५० मा ९ गोल, युसेबियो (पोर्चुगल)ले १९६६ मा ९ गोल, गिलेर्मो स्टाबिले (अर्जेन्टिना)ले १९३० मा ८ गोल गरेका थिए । 

यस्तै रोनाल्डो (ब्राजिल) ले  २००२ मा ८ गोल र किलियन एम्बाप्पे (फ्रान्स) ले २०२२ मा ८ गोल गरेका थिए । 

विश्वकप २०२६ का सबैभन्दा कान्छा खेलाडी को हुन् ?

गिल्बर्टो मोरा (उद्घाटन खेलको दिन १७ वर्ष २४० दिन): जनवरी २०२५ मा मोरा १६ वर्षको उमेरमा मेक्सिकोका लागि सिनियर अन्तर्राष्ट्रिय डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । अगस्ट २०२४ मा उनी १५ वर्षकै उमेरमा मेक्सिकन शीर्ष डिभिजनमा सुरुआती खेल खेल्ने र गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।

यस प्रतियोगितामा २० वर्षभन्दा कम उमेरका २२ खेलाडी छन् ।

विश्वकप २०२६ का सबैभन्दा ज्येष्ठ खेलाडी को हुन् ?

क्रेग गोर्डन (उद्घाटन खेलको दिन ४३ वर्ष १६२ दिन): स्कटल्याण्डका खेलाडी गोर्डनले सन् २००४ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए । २०२६ उनको सम्भवतः अन्तिम विश्वकप हुनेछ । विश्वकप इतिहासमा सबैभन्दा ज्येष्ठ खेलाडीको कीर्तिमान भने इजिप्टका गोलरक्षक इसाम एल हदारीको नाममा छ, जो २०१८ विश्वकपमा ४५ वर्षका थिए ।

प्रतियोगितामा ४० वर्ष वा सोभन्दा माथिका सात खेलाडी छन् । जसमा क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)–४१ वर्ष, गिलेर्मो ओचोआ (मेक्सिको)– ४० वर्ष, मानुएल नोयर (जर्मनी)– ४० वर्ष, लुका मोड्रिच (क्रोएसिया)– ४० वर्ष  र लियोनेल मेस्सी (अर्जेन्टिना)–३८ वर्षको नाम समेत समावेश छ । 

कति टोलीले विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदैछन् ?

केप भर्डे, उज्बेकिस्तान, जोर्डन र कुरासाओले पहिलो पटक सहभागिता जनाउँदैछन् । सन् २००६ पछि पहिलो पटक यति धेरै नयाँ टोली विश्वकपमा प्रवेश गर्दैछन् । त्यसबेला आठ टोलीले डेब्यु गरेका थिए । अहिले कुल ८९१ खेलाडी आफ्नो पहिलो विश्वकप खेल्दैछन् ।

सबैभन्दा धेरै सम्पत्ति भएका खेलाडी को हुन् ?

क्रिस्टियानो रोनाल्डो (१ अर्ब ४० करोड अमेरिकी डलर) सबैभन्दा धेरै सम्पत्ति भएका खेलाडी हुन् ।  फोर्ब्सका अनुसार रोनाल्डो विश्व फुटबलका पहिलो अर्बपति खेलाडी बनेका हुन् । ब्रान्ड प्रवर्द्धन तथा साउदी क्लब अल–नासरसँगको आकर्षक सम्झौताका कारण उनी विश्वका सर्वाधिक कमाइ गर्ने खेलाडीमध्ये निरन्तर पर्छन् ।

सबैभन्दा धेरै विश्वकप खेल्ने खेलाडी को हुन् ?

लियोनेल मेस्सी (२६ खेल): अर्जेन्टिनाका महान् खेलाडी मेस्सीले पाँच विश्वकप (२००६, २०१०, २०१४, २०१८ र २०२२) मा २६ खेल खेलेका छन् । उनको पछाडि जर्मनीका लोथार म्याथाउस (२५ खेल) र मिरोस्लाभ क्लोज(२४ खेल) छन् । इटालीका पाओलो माल्दिनीले २३ खेल खेलेका छन् भने क्रिस्टियानो रोनाल्डोले २२ खेल खेलेका छन् ।

औसत उमेरका आधारमा सबैभन्दा कान्छो टोली कुन हो ?

आइभरी कोस्ट – औसत उमेर २५.४८ वर्ष ।

औसत उमेरका आधारमा सबैभन्दा ज्येष्ठ टोली कुन हो ?

कोलम्बिया – औसत उमेर २९.९८ वर्ष

विश्वकपको पुरस्कार राशि कति हो ?

फिफाले डिसेम्बरमा ७२ करोड ७० लाख अमेरिकी डलरको कीर्तिमानी पुरस्कार कोष घोषणा गरेको थियो । विजेता टोलीले ५ करोड अमेरिकी डलर प्राप्त गर्नेछ भने प्रत्येक टोलीले कम्तीमा १ करोड ५ लाख अमेरिकी डलर पाउनेछ ।

यो अघिल्लो संस्करणको ४४ करोड अमेरिकी डलरको पुरस्कार कोषभन्दा उल्लेखनीय वृद्धि हो । अघिल्ला संस्करणमा अर्जेन्टिनाले उपाधिसहित ४ करोड २० लाख अमेरिकी डलर प्राप्त गरेको थियो ।

विश्वकपमा छनोट हुने सबैभन्दा सानो राष्ट्र कुन हो ?

कुरासाओ (१ लाख ५८ हजार जनसंख्या) हो । पहिलो पटक छनोट भएको कुरासाओ विश्वकप २०२६ को सबैभन्दा सानो राष्ट्र हो र विश्वकप इतिहासमा छनोट हुने सबैभन्दा सानो राष्ट्रसमेत बनेको छ ।

कति राष्ट्रियता प्रतिनिधित्व भइरहेका छन् ?

यस प्रतियोगितामा जम्मा ४८ राष्ट्रिय टोलीले सहभागिता जनाउँदैछन् तर त्यसमा सहभागी खेलाडीले भने विश्वव्यापी रुपमा ७१ राष्ट्रियताको प्रतिनिधित्व गर्नेछन् । त्यसमा युरोपेली फुटबल महासंघबाट ३५, एसियाली फुटबल महासंघबाट १४, दक्षिण अमेरिकी फुटबल महासंघबाट  ८, उत्तर तथा मध्य अमेरिकी र क्यारिबियन फुटबल महासंघबाट  ७, अफ्रिकी फुटबल महासंघबाट  ६ र ओसियाना फुटबल महासंघबाट १ राष्ट्रियताको प्रतिनिधित्व रहनेछ । 

यस विश्वकपमा सबैभन्दा धेरै खेलाडी प्रतिनिधित्व गर्ने क्लब कुन हो ?

क्लब प्रतिनिधित्वका हिसाबले म्यानचेस्टर सिटीका (१९ खेलाडी) छन् ।  यस्तै बायर्न म्युनिखका १८, पेरिस सेन्ट–जर्मेन र आर्सनलका १६/१६, बार्सिलोनाका १५, म्यानचेस्टर युनाइटेड, क्रिस्टल प्यालेस, एट्लेटिको म्याड्रिड र अल–हिलालका १२/१२ खेलाडी छन् । 

अलजजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप