आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
कार्यक्रम पारिश्रमिक विवाद

एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’

आइतबार, २४ जेठ २०८३, २१ : ०७
आइतबार, २४ जेठ २०८३

सारांश

  • गायिका एलिना चौहान र मेला आयोजक डिल्ली परियारबिचको विवाद सतहमा आएको छ ।
  • गायिका चौहानले सामाजिक सञ्जालमा आयोजकलाई लक्षित गर्दै ‘रुकुमको ठग’ भन्दै स्ट्याटस लेखेपछि आयोजक परियारले त्यसको विरोधमा कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।
  • आयोजक परियारले आफूले काटेको हवाई टिकट र अन्य भुक्तानीको प्रमाण सुरक्षित रहेको र आवश्यक परे पत्रकार तथा प्रशासनलाई बुझाउन तयार रहेको बताएका छन् ।

काठमाडौँ । गायिका एलिना चौहान र मेला आयोजक डिल्ली परियारबिचको विवाद सतहमा आएको छ । गायिका चौहानले सामाजिक सञ्जालमा आयोजकलाई लक्षित गर्दै ‘रुकुमको ठग’ भन्दै स्ट्याटस लेखेपछि आयोजक परियार त्यसको विरोधमा उत्रिएका हुन्।

सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आयोजक परियारले एलिनाको आरोप निराधार भएको दाबी गर्दै आफूले अपमानित महसुस गरेको र कानुनी उपचारमा जाने चेतावनी दिएका छन् । 

गायिका चौहानसँग विगत ३ वर्षदेखि व्यावसायिक सम्बन्ध रहेको र सधैँ सम्मानजनक पारिश्रमिक दिँदै आएको परियारले बताए । 

विगतका कार्यक्रमहरू २०८० सालमा मुसिकोट खलङ्गामा ६५ हजार रुपैयाँ, २०८१ सालमा सोही ठाउँमा ६० हजार रुपैयाँ, चौरजहारी महोत्सवमा ८० हजार रुपैयाँ, गत वर्षको आइस बिस्कुट महोत्सवमा ७५ हजार रुपैयाँ यी सबै कार्यक्रममा हवाई टिकट र यातायातको सुविधा आयोजकले नै ब्यहोरेको परियारको दाबी छ । 

हालै सम्पन्न कार्यक्रमका लागि एलिनासँग ८५ हजार रुपैयाँमा कुरा मिलेको परियारले बताएका छन् । उनले गायिकालाई काठमाडौँबाट सुर्खेतसम्मको हवाई टिकट र सुर्खेतबाट राडीबजारसम्म गाडीको व्यवस्था गरिदिएको दाबी गरे । 

परियारले भनेका छन्, ‘कार्यक्रम सकिएपछि म र मेरा साथी नीरज विक होटल सन्धिमाको कोठा नम्बर १०२ मा गएर एलिना बहिनीलाई ८० हजार रुपैयाँ नगद बुझाएका हौँ। ५ हजार रुपैयाँ होटल खर्चका लागि व्यवस्था गरिएको थियो।'

एलिनाले भने परियारलाई सामाजिक सञ्जालमा सिङ्गो जिल्लाको नाम जोडेर ‘रुकुमको ठग’ भनी टिप्पणी गरेकी थिइन्। परियारले आफूले काटेको हवाई टिकट र अन्य भुक्तानीको प्रमाण सुरक्षित रहेको र आवश्यक परे पत्रकार तथा प्रशासनलाई बुझाउन तयार रहेको समेत बताएका छन् । 

आयोजकले आफूलाई अलपत्र पारेको र भनेको समयमा भुक्तानी तथा फिर्ता हुने टिकट नदिएको चाैहानले आरोप लगाउँदै आएकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप