आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

विजय मुख्यमन्त्री बन्ने लगभग निश्चित

शुक्रबार, २५ वैशाख २०८३, १८ : ५७
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • अभिनेता विजय थालापतिको पार्टी टीवीकेलाई सीपीआई, सीपीआई (एम) र भीसीकेले समर्थन गर्ने घोषणा गरेपछि तमिलनाडुमा उनको मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।
  • टीवीकेले विधानसभा निर्वाचनमा १०८ सिट जितेको छ र सरकार गठनका लागि आवश्यक ११८ विधायकको समर्थन जुटाएको छ ।
  • विजयले आज लगातार तेस्रो दिन राज्यपालसँग भेट्ने समय मागेका छन्, जसले सरकार गठनको प्रक्रियालाई अघि बढाउने अपेक्षा गरिएको छ ।

तमिलनाडु । तमिलनाडुमा अभिनेता विजय थालापति मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । उनको पार्टी तमिलगा वेत्री कझगम (टीवीके) लाई सीपीआई र सीपीआई (एम) ले समर्थन दिने घोषणा गरिसकेका छन् ।

भारतीय पत्रिका दैनिक भाष्करले विदुथलाई चिरुथैगल काची (भीसीके) पनि विजयलाई समर्थन गर्न तयार रहेको लेखेको छ । 

टीवीकेले विधानसभा निर्वाचनमा १०८ सिट जितेको छ । विजयले दुई सिटमा जित हासिल गरेकाले उनले एक सिट छोड्नुपर्नेछ । यस्तोमा बहुमतका लागि थप ११ विधायक आवश्यक पर्छन् । कांग्रेसका ५ विधायकले पहिले नै टीवीकेलाई समर्थन दिइसकेका छन् । सीपीआई, सीपीआई (एम) र भीसीकेसँग दुई–दुई, गरी कुल ६ विधायक छन् । 

यसरी टीवीकेलाई सरकार गठनका लागि आवश्यक ११८ विधायकको संख्या पूरा भएको हो । 

यसैबिच टीवीकेका प्रमुख विजयले आज लगातार तेस्रो दिन राज्यपाल राजेन्द्र आर्लेकरसँग भेट्ने समय मागेका छन् । यसअघि मे ६ र ७ मा पनि उनले राज्यपालसँग भेटेका थिए । 

मे ६ मा विजयले आर्लेकरसँग भेटेर सरकार गठनको दाबी पेस गरेका थिए, तर त्यतिबेला उनीसँग ११३ विधायकको मात्र समर्थन थियो । मे ७ मा राज्यपालले विजयलाई ११८ विधायकको समर्थन देखाएपछि मात्रै उनलाई सरकार गठनका लागि आमन्त्रित गर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप