नोरा फतेहीले फिफा विश्वकप २०२६ को उद्घाटन समारोहमा प्रस्तुति दिने
सारांश
- बलिउड अभिनेत्री नोरा फतेही फिफा विश्वकप २०२६ को उद्घाटन समारोहमा प्रस्तुति दिने पहिलो बलिउड कलाकार बन्ने भएकी छन्।
- नोराले यसअघि फिफा विश्वकप २०२२ को समापन समारोह र आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को उद्घाटन समारोहमा पनि प्रस्तुति दिइसकेकी छन्।
- विश्वकप २०२६ अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ, जसमा प्रत्येक आयोजक देशमा छुट्टाछुट्टै उद्घाटन समारोह हुनेछन्।
मुम्बई । बलिउड अभिनेत्री नोरा फतेही फिफा विश्वकप २०२६ को ओपनिङ सेरेमनीमा प्रस्तुति दिने पहिलो बलिउड कलाकार बन्ने भएकी छन्। यो समारोह १२ जुनमा क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा आयोजना हुनेछ।
यसअघि नोराले फिफा विश्वकप २०२२ को क्लोजिङ सेरेमनी र आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ओपनिङ सेरेमनीमा आफ्नो कला प्रदर्शन गरिसकेकी छन् । फुटबल र क्रिकेट दुवै विधाको विश्वकपको ओपनिङ सेरेमनीमा प्रस्तुति दिने उनी पहिलो र एक मात्र बलिउड कलाकार बन्दैछिन्।
विश्वकप २०२६ अमेरिका, मेक्सिको र क्यानडा गरी तीन देशमा आयोजना हुँदैछ। यसकारण फिफाले प्रत्येक आयोजक देशको पहिलो खेलअघि तीनवटा छुट्टाछुट्टै ओपनिङ सेरेमनी गर्ने योजना बनाएको छ।
क्यानडामा हुने समारोहमा नोराका साथै बंगलादेशी मूलका अमेरिकी डीजे संजोयले पनि प्रस्तुति दिनेछन्। संजोयले सन् २०११ मा बलिउड चलचित्र ‘रावन’ को चर्चित गीत ‘छम्मक छल्लो’ को आधिकारिक रिमिक्स तयार पारेका थिए। कार्यक्रममा माइकल बुब्ले, एलेसिया कारा र जेसी रेयेज लगायतका अन्य कलाकारहरू पनि सहभागी हुनेछन्।
अर्कोतर्फ, चर्चित गायिका केटी पेरीले अमेरिकामा हुने ओपनिङ सेरेमनीमा प्रस्तुति दिने कुरा इन्स्टाग्राममार्फत निश्चित गरेकी छन्। १२ जुनमा क्यालिफोर्नियाको सोफी स्टेडियममा हुने उक्त समारोहमा उनले प्रस्तुति दिनेछिन्। सोही स्थानमा अमेरिका र पाराग्वेबिच खेल हुनेछ।
अमेरिकाको कार्यक्रममा लिसा, टायला, अनिता र रेमा जस्ता कलाकारले पनि प्रस्तुति दिने तालिका छ। त्यस्तै, ११ जुनमा मेक्सिको सिटीमा हुने ओपनिङ सेरेमनीमा अलेजान्द्रो फर्नान्डेज, डैनी ओशन र जे बल्विन लगायतका कलाकारहरू देखिनेछन्।
विश्वकपमा सांगीतिक जादु छर्न सिपालु गायिका शकिराले पनि आफ्नो पुनरागमन घोषणा गरेकी छन्। उनले यस प्रतियोगिताका लागि नाइजेरियाली गायक बर्ना ब्वाईसँग मिलेर ‘दाई दाई’ नामक नयाँ गीत ल्याउने जानकारी दिएकी छन्।
सन् २०१० को विश्वकपमा शकिराको ‘वाका वाका’ गीत निकै चर्चित भएको थियो। फिफा विश्वकप २०२६ को मुख्य प्रतियोगिता ११ जुनदेखि १९ जुलाईसम्म सञ्चालन हुनेछ। कुल १०४ खेल हुने यस प्रतियोगिताको पहिलो खेल मेक्सिको सिटीमा र फाइनल खेल न्यु जर्सी क्षेत्रमा आयोजना हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण