आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बाफ्टा टेलिभिजन अवार्डमा नेटफ्लिक्स ड्रामा ‘एडोलेसेन्स’को वर्चस्व

सोमबार, २८ वैशाख २०८३, ०६ : ३८
सोमबार, २८ वैशाख २०८३

सारांश

  • बाफ्टा टेलिभिजन अवार्डमा नेटफ्लिक्सको ड्रामा ‘एडोलेसेन्स’ले चारवटा अवार्ड जित्दै सबैभन्दा ठुलो विजेता बनेको छ।
  • एडोलेसेन्स’का कलाकार स्टिफन ग्राहम, ओवेन कुपर र क्रिस्टिन ट्रेमार्कोले अभिनय तर्फका अवार्डहरू प्राप्त गरे, जसमा १६ वर्षीय ओवेन कुपर उत्कृष्ट सहायक अभिनेता बने।
  • इरानी मुलकी नर्गेस रशिदीले ‘प्रिजनर ९५१’मा नाजनिन जघारी-राटक्लिफको भूमिकामा उत्कृष्ट मुख्य अभिनेत्रीको अवार्ड जितिन्।

लण्डन । आइतबार सम्पन्न बाफ्टा टेलिभिजन अवार्डमा नेटफ्लिक्सको चर्चित ड्रामा ‘एडोलेसेन्स’ सबैभन्दा ठुलो विजेता बनेको छ। यसका साथै ‘द सेलिब्रेटी ट्रेटर्स’ र ‘लास्ट वन लाफिङ’ ले पनि अवार्डमा आफ्नो कब्जा जमाएका छन्। 

द सेलिब्रेटी ट्रेटर्स र लास्ट वन लाफिङले दुई-दुईवटा विधामा पुरस्कार जित्दा एडोलेसेन्सले भने चारवटा अवार्ड हात पार्न सफल भयो। यो कुनै पनि मुख्य बाफ्टा टिभी अवार्डको एकै वर्षमा भएको सबैभन्दा धेरै जित हो।

सन् २०२५ को मार्चमा रिलिज भएपछि निकै चर्चामा रहेको एडोलेसेन्सले उत्कृष्ट लिमिटेड सिरिजको उपाधि जित्यो। यसका कलाकारहरू स्टिफन ग्राहम, ओवेन कुपर र क्रिस्टिन ट्रेमार्कोले अभिनय तर्फका अवार्डहरू प्राप्त गरे। 

१६ वर्षकै उमेरमा कुपर बाफ्टाको उत्कृष्ट सहायक अभिनेताको पुरस्कार जित्ने सबैभन्दा कान्छो व्यक्ति बनेका छन्। उनले यसअघि नै एमी, गोल्डेन ग्लोब, नेसनल टेलिभिजन र रोयल टेलिभिजन सोसाइटी अवार्ड जितिसकेका छन्। अवार्ड थाप्दै कुपरले जोन लेननको भनाइ उद्धृत गर्दै सफल हुनका लागि पागलपन, एउटा सपना र बिटल्स ब्यान्ड आवश्यक रहेको बताए।

ओवेन कुपरका अन-स्क्रिन बुवाको भूमिका निर्वाह गरेका स्टिफन ग्राहमले उत्कृष्ट मुख्य अभिनेताको अवार्ड जिते। सात पटकको मनोनयनपछि ग्राहमले पहिलो पटक बाफ्टा जितेका हुन्। उनले युवा पुस्तालाई अभिनयमा लाग्न प्रेरित गर्दै सुन्दर कथाहरू सुनाउनु आफ्नो दायित्व भएको बताए। त्यस्तै कुपरकी आमाको भूमिकामा देखिएकी क्रिस्टिन ट्रेमार्कोले उत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार जितिन्।

यसैगरी बीबीसी वानको वास्तविक घटनामा आधारित ड्रामा ‘प्रिजनर ९५१’ मा नाजनिन जघारी-राटक्लिफको भूमिका निर्वाह गरेकी इरानी मुलकी नर्गेस रशिदीले उत्कृष्ट मुख्य अभिनेत्रीको अवार्ड जितिन्। उनले यो पुरस्कार तेहरानमा ६ वर्ष जेल जीवन बिताएकी ब्रिटिस-इरानी महिला नाजनिन र उनको परिवारलाई समर्पित गरिन्। अर्कोतर्फ आईटीभीको ‘कोड अफ साइलेन्स’ ले उत्कृष्ट ड्रामाको उपाधि जितेको छ।

सार्वजनिक मतदानबाट चुनिएको वर्षकै सबैभन्दा स्मरणीय क्षणको अवार्ड द सेलिब्रेटी ट्रेटर्समा एलान कारको जितले प्राप्त गर्‍यो। मनोरञ्जनतर्फ प्राइम भिडियोको हिट शो ‘लास्ट वन लाफिङ’ ले ‘द ग्राहम नोर्टन शो’ जस्ता ठुला कार्यक्रमलाई पछि पार्दै उत्कृष्ट मनोरञ्जन कार्यक्रमको अवार्ड जित्यो। 

उक्त कार्यक्रममा अन्य कमेडियनहरूलाई हसाउन सफल भएका बब मोर्टिमरले उत्कृष्ट मनोरञ्जन प्रस्तुतिको बाफ्टा अवार्ड हात पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप