ल्वाङ गाउँमा सिनेमा संवाद : '९० प्रतिशत फिल्मले निर्मातालाई रुवाइरहेका छन्'
सारांश
- कास्कीको ल्वाङ गाउँमा आयोजित 'सिनेमा संवाद' कार्यक्रममा नेपाली फिल्मको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे छलफल गरियो ।
- कार्यक्रममा फिल्मकर्मीहरूले ९० प्रतिशत फिल्मले निर्मातालाई घाटामा पारिरहेको र गुणस्तरीय सिनेमा बनाउनुपर्नेमा जोड दिए ।
- नेपाली फिल्मको ग्लोबल मार्केट विस्तार, नयाँ पुस्ताको भूमिका र कन्टेन्ट क्रिएटरको सिनेमामा योगदानबारे पनि छलफल भएको छ ।
काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ गाउँ पर्यटनका कारण चिनिन्छ । यही पर्यटकीय गाउँमा चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गत शनिबार नेपाली फिल्मका विभिन्न आयामबारे छलफल गर्ने ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना गर्यो ।
‘सिनेमा संवाद’को चौथो संस्करणमा नेपाली फिल्मको वर्तमान अवस्था, चुनौती, ग्लोबल मार्केटमा सम्भावना लगायत विषयमा फिल्मकर्मी तथा पत्रकारहरूले धारणा राखे । कार्यक्रमको पहिलो सत्रमा ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयमा लेखक तथा निर्देशक सामीप्यराज तिमिल्सिनाले नेपाली सिनेमा बर्लिन र कान्स जस्ता प्रतिष्ठित महोत्सवमा पुगिसकेकाले अब बजार विस्तारमा ध्यान दिनुपर्ने बताए । फिल्म ‘ऊनको स्वीटर’ ले विदेशबाट ६ करोड र ‘जेरी एन्ड टप’ ले साढे ३ करोडको व्यापार गरेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपाली फिल्मको बजार विश्वव्यापी भइसकेको बताए ।

अभिनेत्री बेनिशा हमालले बलियो कथा भए बजेटले सिर्जनालाई नरोक्ने अनुभव सुनाइन् ।
दोस्रो सत्रमा ‘नयाँ पुस्ता र नेपाली सिनेमा’बारे छलफल भएको थियो । अभिनेत्री आँचल शर्माले पुराना पुस्ताको कडा मेहनत, अनुभव र अनुशासनलाई पछ्याउँदै नयाँ पुस्ताले सिर्जनात्मक र फरक विषयवस्तु पस्किन जरूरी रहेको बताइन् । उनले परम्परागत कथावाचनको शैली तोड्न नयाँ पुस्ता तयार रहेको उल्लेख गरिन् । अभिनेता सलोन बस्नेतले फिल्म निर्माण प्रणालीमा रहेका कमजोरी सुधार्नुपर्ने बताए । अभिनेत्री सनिशा भट्टराईले महिला सशक्तीकरणका विषयमा थप फिल्म बन्नुपर्नेमा जोड दिइन् ।
तेस्रो सत्र ‘सिनेमामा द्वन्द्व’ विषयमा केन्द्रित रह्यो । अभिनेता निखिल उप्रेतीले द्वन्द्वलाई दार्शनिक ढंगले परिभाषित गर्दै यो केवल कुटाकुट नभई परिस्थितिको स्पष्टता भएको बताए । विश्व बजारमा द्वन्द्वप्रधान फिल्मको वर्चस्व रहेको उनले बताए । नेपाली फिल्मले स्वदेशमै विदेशी फिल्मको प्रभाव कम गर्नुपर्नेमा अभिनेता उप्रेतीले जोड दिए ।
फिल्म निर्देशक मनोज पण्डितले ९० प्रतिशत फिल्मले निर्मातालाई रुवाइरहेको यथार्थ सुनाए । दर्शकलाई अनुभूति गराउने गरी गुणस्तरीय सिनेमा बनाउनुपर्ने उनको तर्क थियो । पण्डितले विदेशी फिल्मले नेपालबाट वार्षिक २५ देखि ३० करोड रुपैयाँ लैजाने यथार्थ सुनाए ।

अन्तिम सत्रमा ‘कन्टेन्ट क्रिएटर भर्सेस नेपाली सिनेमा’ विषयमा संवाद गरियो । कन्टेन्ट क्रिएटर इस्टु कार्की र महेश भण्डारीले सामाजिक सञ्जाल र सिनेमा एकअर्काका परिपूरक भएको धारणा राखे । कार्कीले आफू पैसाका लागि भन्दा पनि समाजमा प्रभाव पार्ने पात्र निभाउन रुचाउने बताइन् भने भण्डारीले कलाकारितामा ‘प्यासन’सँगै पैसाको हिसाबकिताब पनि महत्त्वपूर्ण हुने यथार्थलाई स्वीकार्नुपर्ने बताए ।

संघका कास्की जिल्ला अध्यक्ष सन्तोष बस्यालले यस्तो कार्यक्रमले फिल्मकर्मी र पत्रकारबिचको सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा भएका छलफलका विषयवस्तुले नेपाली फिल्मको दायरा फराकिलो बनाउने उनले बताए ।
माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी र वडा नम्बर ८ का वडाध्यक्ष राम गुरुङले यस्ता कार्यक्रमले ग्रामीण पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण