सुन व्यवसायीको अस्वाभाविक ‘यू–टर्न’ : हिजो भन्सार दर घटाउन आन्दोलन, आज बढाउन दबाब
सारांश
- केही समयअघि भन्सार दर घटाउन दबाब दिने सुन व्यवसायी अहिले बढाउन माग गरिरहेका छन् ।
- छिमेकी मुलुक भारतले सुनको भन्सार दर भारी वृद्धि गरेपछि नेपाली व्यवसायीहरूको बोली फेरिएको हो ।
- भारतमा भन्सार दर बढेसँगै नेपालमा पनि तुरुन्तै भन्सार दर पुनरवलोकन गर्नुपर्ने माग उठेको छ ।
काठमाडौँ । केही समय अघिसम्म तस्करी बढेको र व्यापार घटेको भन्दै सुनको भन्सार दर घटाउन सरकारलाई निरन्तर दबाब दिँदै आएका व्यवसायीहरू अहिले ठ्याक्कै उल्टो ‘लबिङ’मा लागेका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत सरकारले सुनको भन्सार दर बढाउँदा महिनौँ आन्दोलनमा उत्रिएका व्यवसायी अहिले भन्सार दर बढाउन सरकारलाई दबाब दिइरहेका छन् ।
आर्थिक २०८१/०८२ को बजेटमार्फत सरकारले सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत पुर्याउँदा सुन व्यवसायी आन्दोलनमा उत्रिएका थिए । मन्त्रिपरिषद्को २०८१ मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम गरेपछि उनीहरूले आन्दोलन स्थगित गरेका थिए ।
तिनै व्यवसायी अहिले सरकारसँग सुनमा भन्सार दर बढाउन माग गरिरहेका छन् । छिमेकी मुलुक भारतले सुनको भन्सार दरमा भारी वृद्धि गरेपछि नेपाली व्यवसायीहरूको बोली फेरिएको हो ।
भारतले मंगलबारमात्रै सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ । भारतको यो कदमले नेपालमा सुनको तस्करी बढ्ने र विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने भन्दै नेपाली व्यवसायीहरूले नेपालको भन्सार दर पनि भारतको तुलनामा बढी बनाउनुपर्ने माग अघि सारेका हुन् ।
व्यापार घाटा कम गर्ने भारतको रणनीति
विश्वकै दोस्रो ठुलो सुन उपभोक्ता राष्ट्र भारतले आफ्नो आवश्यकताको करिब ९९ प्रतिशत सुन विदेशबाट आयात गर्छ । पछिल्लो समय बढ्दो व्यापार घाटा र कमजोर बन्दै गएको भारतीय रुपैयाँ (भारु)लाई थप गिरावटबाट जोगाउन भारत सरकारले सुनको भन्सार दर बढाएको हो ।
नयाँ व्यवस्थाअनुसार भारतले १० प्रतिशत बेसिक कस्टम ड्युटी र ५ प्रतिशत कृषि पूर्वाधार एवं विकास महसुल लागु गरेको छ । यसरी कुल प्रभावकारी कर १५ प्रतिशत पुगेको छ । यसअघि सन् २०२४ को मध्यतिर कर घटाएर ६ प्रतिशत कायम गरिएको थियो ।
भारतको कुल आयात खर्चमा सुनको हिस्सामात्रै ९ प्रतिशत छ, जसले गर्दा सुन आयात घटाउँदा विदेशी मुद्रा सञ्चितिमा ठुलो राहत मिल्ने भारतको विश्वास छ ।
यसै सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूलाई एक वर्षसम्म सुन नकिन्न सार्वजनिक अपिलसमेत गरेका छन् । उनले विदेशी मुद्रा बचाउनु देशभक्ति भएको भन्दै घरमा हुने विवाह वा अन्य समारोहमा सुनका गहना नकिन्न आग्रह गरेका हुन् ।
मोदीको यो अपिलपछि भारतका ठुला ज्वेलरी कम्पनीहरू टाइटन, कल्याण ज्वेलर्स र सेन्को गोल्डको सेयर मूल्यमा १० प्रतिशतसम्म गिरावट आइसकेको छ ।
नेपालमा तुरुन्तै भन्सार दर बढाउन व्यवसायीको माग
भारतमा भन्सार दर बढेसँगै नेपालमा पनि तुरुन्तै भन्सार दर पुनरवलोकन गर्नुपर्ने माग उठेको छ । हाल नेपालमा सुनको भन्सार दर १० प्रतिशत छ भने भारतले १५ प्रतिशत पुर्याएको छ । दुई देशबिच ५ प्रतिशतको मूल्य अन्तर हुनु भनेको नेपालबाट भारततर्फ अवैध सुन तस्करीका लागि ठुलो इन्सेन्टिभ (प्रोत्साहन) मिल्नु रहेको सरोकारवाला बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भारतको नीतिगत परिवर्तनपछि नेपालले पनि सोही अनुसारको नीति लिनुपर्ने बताए । आगामी जेठ १५ गते आउने बजेटका लागि महासंघले सरकारलाई भारतको भन्दा कम्तीमा १ प्रतिशत बढी भन्सार दर कायम गर्न सुझाव दिइसकेको छ ।
अध्यक्ष रसाइलीले भने, ‘नेपाल र भारतबिच खुला सिमाना भएका कारण यहाँ भन्सार सस्तो भयो भने नेपालको डलर खर्चिएर आएको सुन भारततर्फ तस्करी हुने जोखिम रहन्छ । तस्करी रोक्नका लागि पनि भारतसँग समान वा त्योभन्दा १ प्रतिशत बढी (करिब १६ प्रतिशत) भन्सार राख्नुपर्ने हाम्रो माग हो ।’
नेपालमा सुन मुख्यतया दुबई, कंगो, हङकङ र सिंगापुरजस्ता देशबाट आयात हुने गर्छ । भारतले पनि तिनै देशबाट सुन आयात गर्ने हुनाले दुई देशबिचको मूल्यमा तालमेल नमिले अवैध कारोबार फस्टाउने व्यवसायीको चिन्ता छ ।
‘भारतमा पानी पर्दा नेपालमा छाता ओढ्नुपर्छ’
महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले पनि भारतको नीतिगत परिवर्तनले नेपाली बजारमा प्रत्यक्ष प्रभाव पार्ने र तस्करीको जोखिम बढ्ने चेतावनी दिए । नेपालले सुनमा भन्सार दर १६ प्रतिशतको हाराहारीमा पुर्याउनु पर्ने उनको सुझाव छ ।
शाक्यले भने, ‘भारतमा पानी परेमा नेपालमा छाता ओढ्नुपर्छ भनेजस्तै हो । भारतले भन्सार दर बढाएपछि नेपालले पनि तुरुन्तै पुनरवलोकन गरेर समायोजन गर्नुपर्छ । नभए नेपालबाट भारततिर सुनको तस्करी हुने सम्भावना रहन्छ ।’
शाक्यका अनुसार भन्सार दर बढाउँदा नेपाली बजारमा सुनको मूल्य अझै महँगो हुने र उपभोक्ताहरूको क्रयशक्तिमा कमी आउन सक्नेतर्फ पनि ध्यान दिनुपर्छ । यद्यपि तस्करी नियन्त्रण र अर्थतन्त्रको संवेदनशीलतालाई ध्यानमा राख्दै यो कदम चाल्नुपर्ने उनको तर्क छ ।
कोटा बढाउन माग, तर बजार सुस्त
अध्यक्ष रसाइलीले आगामी बजेटमा सुनको दैनिक आयात कोटा बढाएर ४० किलो पुर्याउन माग गरिएको पनि जानकारी दिए । हाल नेपाल राष्ट्र बैंकले दैनिक २५ किलो सुन आयातको अनुमति दिएको छ । व्यवसायीले सिजनको समयमा आवश्यकता अनुसार सुन मगाउन पाउने गरी वार्षिक सिलिङ राखेर दैनिक कोटा बढाउनुपर्ने माग राखेका छन् ।
हाल बजारमा सुनको मूल्य अत्यधिक बढेका कारण कारोबार भने निकै सुस्त छ । ‘अहिले बजारमा व्यापार छैन, त्यसैले २५ किलोको कोटा भए पनि दैनिक १०–१५ किलोको अनुपातमा मात्र सुन आयात भइरहेको छ,’ रसाइलीले थपे ।
हाल बैंकहरूमा पनि सुनको मौज्दात (स्टक) खासै नरहेको र बजारमा माग नहुँदा आयात नै घटेको व्यवसायीको भनाइ छ ।
अर्थ मन्त्रालयको गृहकार्य
भारतमा सुन महँगो भएपछि नेपालका विमानस्थल र सीमा नाकाहरूमा अवैध सुनको कारोबार बढ्ने संकेत देखिएसँगै नेपालको अर्थ मन्त्रालयले आन्तरिक छलफल र गृहकार्य सुरु गरेको छ । मन्त्रालयका अधिकारीहरूका अनुसार, भारतसँगको मूल्य अन्तरले तस्करहरूलाई ठुलो मुनाफाको अवसर दिने भएकाले यसलाई सम्बोधन गर्न नीतिगत परिवर्तन आवश्यक छ ।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, ‘उता (भारतमा) भन्सार बढेपछि सुन महँगो भयो, हाम्रोमा दर कम हुँदा यहाँबाट अवैध रूपमा सुन उता जाने सम्भावना रहन्छ । यसबारे हामीले गृहकार्य सुरु गरिसकेका छौँ, तर अहिले नै औपचारिक रूपमा यसो गर्छौं भन्न सक्ने अवस्था छैन ।’
व्यवसायीहरूले पनि भन्सार दर मिलाउनुपर्छ भनेर जानकारी गराइरहेको उनको भनाइ छ ।
नेपालमा विमानस्थल भन्सारमार्फत यात्रुहरूले ल्याउने बेरुवा औँठी र बालाजस्ता गहनाका नाममा काँचो सुन भित्रिने र त्यसलाई अवैध रूपमा बजारमा पठाउने प्रवृत्ति बढिरहेको सन्दर्भमा भारतको नयाँ नीतिले थप दबाब सिर्जना गरेको ती अधिकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण