फ्रान्सको २६ सदस्यीय विश्वकप टोली घोषणा, को–को परे ?
सारांश
- फ्रेन्च राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन् ।
- स्टार खेलाडी किलियन एम्बाप्पे र बालोन डि'ओर विजेता ओसमान डेम्बेलेले फ्रान्सको अग्रपङ्क्तिको नेतृत्व गर्नेछन् ।
- सन् २०२२ को विश्वकप खेलेका रियल मड्रिडका मिडफिल्डर एडुआर्डो कामाभिंगा र टोटनह्यामका रान्डल कोलो मुआनी दुवैले यसपटक टोलीमा स्थान बनाउन सकेनन् ।
पेरिस । फ्रेन्च राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले यस सिजनको विश्वकपका लागि २६ सदस्यीय टोलीको घोषणा गरेका छन् । स्टार खेलाडी किलियन एम्बाप्पे र बालोन डि’ओर विजेता ओसमान डेम्बेलेले फ्रान्सको अग्रपङ्क्तिको नेतृत्व गर्नेछन्।
रियल मड्रिडका फरवार्ड समेत रहेका एम्बाप्पेले भर्खरै मात्र तिघ्राको चोटको सामना गरे पनि उनले देशको कप्तानी गर्ने अपेक्षा गरिएको छ। फ्रान्सका लागि ५६ गोल गरेका एम्बाप्पेभन्दा अगाडि ५७ गोल गरेका ओलिभर जिरुड मात्र रहेका छन्।
गत सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट ३५ गोल गर्दै च्याम्पियन्स लिग जितेका डेम्बेले यस शताब्दीमा बालोन डि’ओर जित्ने दोस्रो फ्रान्सेली खेलाडी हुन्। यद्यपि, अघिल्ला दुई विश्वकप टोलीमा परेर पनि उनले विश्वकपमा भने गोल गर्न सकेका छैनन्।
बायर्न म्युनिखका माइकल ओलिसे र डेम्बेलेका पीएसजी सहकर्मी डिजायर डोउले फ्रान्सको उत्कृष्ट अट्याकिङ लाइनअप पूरा गर्नेछन्। म्यानचेस्टर सिटीका प्लेमेकर रायन चेर्की र आर्सनलका डिफेन्डर विलियम सालिबा सहित इंग्लिस प्रिमियर लिग खेल्ने सातजना खेलाडी टोलीमा अटाएका छन्।
फ्रान्सले सन् २०१८ को विश्वकप जित्दाको टोलीबाट एम्बाप्पे र डेम्बेलेसँगै फुलब्याक लुकास हर्नान्डेज र मिडफिल्डर एनुगोलो कान्टे मात्र यसपटक टोलीमा परेका छन्। फ्रान्सलाई लगातार दुई विश्वकपको फाइनलमा पुर्याएका प्रशिक्षक डेसच्याम्प्सका लागि मुख्य प्रशिक्षकको रूपमा यो अन्तिम ठूलो प्रतियोगिता हुनेछ।
आफ्नो अन्तिम प्रतियोगिताअघि डेसच्याम्प्सले टोली छनोटमा केही आश्चर्यजनक निर्णयहरू लिएका छन्। सन् २०२२ को विश्वकप खेलेका रियल मड्रिडका मिडफिल्डर एडुआर्डो कामाभिंगा र टोटनह्यामका रान्डल कोलो मुआनी दुवैले यसपटक टोलीमा स्थान बनाउन सकेनन्।
पीएसजीका गोलकिपर लुकास चेभालियर पनि टोलीमा परेनन् भने राष्ट्रिय टोलीबाट हालसम्म नखेलेका लेन्सका गोलकिपर रोबिन रिसेरले माइक मेइगनको ब्याकअपको रूपमा ब्राइस साम्बासँगै टोलीमा स्थान बनाएका छन्। अप्रिलमा एकिलिजको चोटका कारण सिजन गुमाएका लिभरपुलका ह्युज एकिटिके टोलीमा नपर्नुलाई भने अपेक्षित नै मानिएको छ।
टोली छनोटको विषयमा फ्रान्सेली टिभी च्यानल टिएफवानसँग कुरा गर्दै प्रशिक्षक डेसच्याम्प्सले भने, ‘यो एउटा टोली हो, २६ जना उत्कृष्ट खेलाडीहरू मात्र होइनन्, यो सन्तुलन र टोली कसरी एकसाथ अघि बढ्छ भन्ने कुरा हो।’
कामाभिंगा टोलीमा नपरेको विषयमा उनले थपे, ‘उनी कति निराश होलान् भन्ने म कल्पना गर्न सक्छु, उनी एउटा कठिन सिजनबाट आउँदैछन् जहाँ उनले धेरै खेल्न पाएनन् र चोटको सामना गरे, तर मैले निर्णय लिनुपर्छ र टोली बनाउनुपर्छ ।’
समूह ‘आई’ मा रहेको फ्रान्सले आफ्नो विश्वकप अभियान जुन १६ मा न्यु जर्सीमा सेनेगलविरुद्ध खेल्दै सुरु गर्नेछ। त्यसपछि फ्रान्सले जुन २२ मा इराक र जुन २६ मा नर्वेको सामना गर्नेछ।
घोषित २६ सदस्यीय टोलीको गोलकिपरमा एसी मिलानका माइक मेइगन, लेन्सका रोबिन रिसेर र रेनसका ब्राइस साम्बा रहेका छन्। डिफेन्डरहरूमा एस्टन भिल्लाका लुकास डिग्ने, चेल्सीका मालो गुस्टो, पीएसजीका लुकास हर्नान्डेज, अल हिलालका थियो हर्नान्डेज, लिभरपुलका इब्राहिमा कोनाटे, क्रिस्टल प्यालेसका म्याक्सेन्स लाक्रोइक्स, बार्सिलोनाका जुल्स कुन्डे, आर्सनलका विलियम सालिबा र बायर्न म्युनिखका डायोट उपामेकानो छानिएका छन्।
यसैगरी मिडफिल्डरहरूमा फेनरबाचेका एन’गोलो कान्टे, रोमाका मनु कोने, एसी मिलानका एड्रियन राबिओट, रियल मड्रिडका ओरेलियन चुवामेनी र पीएसजीका वारेन जाइरे(एम्री रहेका छन्।
फरवार्डमा मोनाकोका म्याग्नेस अक्लिउचे, पीएसजीका ब्राडली बार्कोला, म्यानचेस्टर सिटीका रायन चेर्की, पीएसजीका ओसमान डेम्बेले र डिजायर डोउ, बायर्न म्युनिखका माइकल ओलिसे, रियल मड्रिडका किलियन एम्बाप्पे, क्रिस्टल प्यालेसका जिन-फिलिप माटेटा र इन्टर मिलानका मार्कस थुरामले टोलीमा स्थान पक्का गरेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण