शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका सल्यानका वडाध्यक्षकाे धर्ना फिर्ता, फर्किए घर

सोमबार, ०४ जेठ २०८३, २० : २२
सोमबार, ०४ जेठ २०८३

सारांश

  • सल्यानको कालीमाटी गाउँपालिकाका वडाध्यक्ष मित्रलाल रिजालले मुख्यमन्त्री कार्यालयमा तीन दिनदेखिको धर्ना फिर्ता लिएका छन्।
  • उनको प्रमुख माग बबई-स्वामीबास-घुइयाबारी सडकको स्तरवृद्धि गर्न बजेट विनियोजन गराउनु थियो।
  • मुख्यमन्त्री कार्यालयले सम्बन्धित मन्त्रालय र निकायमा पत्राचार गरेपछि उनले धर्ना फिर्ता लिएका हुन्।

सुर्खेत । कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गेटमा शुक्रबारदेखि धर्ना बसेका सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले धर्ना फिर्ता लिएका छन् ।

सोमबार मुख्यमन्त्री कार्यालयका अधिकारीहरूले उनले राखेका मागका विषयमा सम्बन्धित निकायलाई पत्राचार गरेसँगै उनले धर्ना फिर्ता लिएका हुन् । रिजालको सुर्खेतसँगै सीमा जोडिएको बबई क्षेत्रबाट उनको वडामा जोड्ने बबई–स्वामीबास–घुइयाबारी सडकको स्तरवृद्धि गरिदिनुपर्ने उनको प्रमुख माग थियो।

यो सडक कोहलपुरदेखि सुर्खेत जोड्ने रत्न राजमार्ग अन्तर्गत बबईदेखि उत्तरतर्फ पर्छ । भेरी–बबई डाइभर्सनको किनारै किनार १८ किलोमिटरमा उक्त सडक उनको वडामा प्रवेश गर्छ । उक्त सडकबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५, सल्यानको कालीमाटीका ४, ६ र उनको ७ नम्बर जनता लाभान्वित हुनेछन्।

घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने उक्त सडक वर्खामा बन्द हुने अवस्था छ । उनको प्रमुख माग प्रदेश सरकारले यही सडकमा बजेट विनियोजन गरिदिओस् भन्ने थियो। उनले पटक–पटक प्रदेश सरकारलाई अनुरोध गर्दा पनि बजेट नआएपछि धर्ना बस्न आएको बताएका थिए। सोमबार छलफल पश्चात् उक्त सडकबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडक हेर्ने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई आवश्यक सहजीकरण प्रक्रिया अघि बढाइदिन पत्राचार गरेको छ।

यस्तै, उनको टेलिफोन टावरको समस्याको विषयमा नेपाल दुरसञ्चार प्राधिकरण र टेलिकम तथा विद्युत्को समस्याको विषयमा विद्युत् प्राधिकरण कार्यालयलाई पत्राचार गरिदिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले बताए।

मुख्यमन्त्री कार्यालयले पत्राचार गरिदिएसँगै वडाध्यक्ष रिजालले धर्ना फिर्ता लिएर सल्यान फर्किसकेका छन् । ‘हामीले राखेका मागहरूका सम्बन्धमा मुख्यमन्त्री कार्यालय निकै सकारात्मक लियो, ‘वडाध्यक्ष रिजालले भने, ‘उहाँहरूले सम्बन्धित निकायमा पत्राचार गरिदिनुभयो मैले धर्ना स्थगित गरेर फर्कने निर्णय गरेँ।’

123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप