‘नयाँ ऊर्जाको आवश्यकता’ औंल्याउँदै पेपले गरे सिटी छाड्ने घोषणा
सारांश
- म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबमा आफ्नो १० वर्ष लामो यात्रा समाप्त गर्ने घोषणा गरेका छन्।
- क्लबले पुष्टि गरे अनुसार आगामी आइतबार एस्टन भिल्ला विरुद्ध हुने लिगको अन्तिम खेल नै सिटीका लागि उनको अन्तिम खेल हुनेछ।
- ग्वार्डिओलाको सम्झौता अवधि अझै एक वर्ष बाँकी रहे पनि सिटीले उनको बहिर्गमनको तयारी एक वर्ष अगाडि नै सुरु गरिसकेको थियो।
लण्डन। म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबमा आफ्नो १० वर्ष लामो ऐतिहासिक यात्रा समाप्त गर्ने घोषणा गरेका छन्। क्लबलाई नयाँ ऊर्जाको आवश्यकता रहेको उल्लेख गर्दै ५५ वर्षीय ग्वार्डिओलाले आफ्नो सुखद कार्यकालको अन्त्य गरेका हुन्।
क्लबले पुष्टि गरे अनुसार इतिहाद स्टेडियममा आगामी आइतबार एस्टन भिल्ला विरुद्ध हुने लिगको अन्तिम खेल नै सिटीका लागि उनको अन्तिम खेल हुनेछ। एक दशकअघि सिटी भित्रिएका ग्वार्डिओलाको नेतृत्वमा क्लबले ६ वटा प्रिमियर लिग र एक च्याम्पियन्स लिग सहित १७ वटा ठूला उपाधिहरू जित्न सफल भयो।
क्लबका लागि उनले पुर्याएको ऐतिहासिक योगदानको सम्मान गर्दै सिटीको नवनिर्मित उत्तरी स्ट्यान्डको नाम उनको नाममा राखिने भएको छ। युरोपा लिग विजेता भिल्लाविरुद्धको अन्तिम खेलमा यो स्ट्यान्ड पहिलो पटक पूर्ण रूपमा खुला गरिनेछ।
यसका साथै उक्त स्ट्यान्डतर्फ जाने बाटोमा ग्वार्डिओलाको एउटा पूर्ण कदको सालिक समेत निर्माण गरिने क्लबले जनाएको छ। ग्वार्डिओलाको सम्झौता अवधि अझै एक वर्ष बाँकी रहे पनि सिटीले उनको बहिर्गमनको तयारी एक वर्ष अगाडि नै सुरु गरिसकेको थियो।
आफ्नो अन्तिम खेल अघिको पत्रकार सम्मेलनमा शुक्रबार बोल्दै ग्वार्डिओलाले ‘१० वर्ष निकै लामो समय हो र मलाई लाग्छ क्लबलाई अब नयाँ व्यवस्थापक र नयाँ ऊर्जाको आवश्यकता छ, ताकि यी उत्कृष्ट खेलाडीहरूले अर्को नयाँ अध्याय लेख्न सकून्’ भन्दै आफ्नो निर्णयबारे प्रस्टीकरण दिए।
उनले अगाडि थपे, ‘भविष्यमा प्रत्येक तीन दिनमा उपाधिका लागि लड्न र खेलाडीहरूको अघि उभिन मसँग आवश्यक ऊर्जा नहुने मैले महसुस गरेँ। १० वर्षपछि टोलीमा परिवर्तन आउनु, फरक अनुहारहरू देखिनु सबैका लागि राम्रो कुरा हो। यदि मलाई यो कुरामा विश्वास नभएको भए र उनीहरूले मलाई बर्खास्त नगरेको भए म यहीँ बस्ने थिएँ, तर यो निर्णयका लागि यो नै एकदम सही समय हो।’
ग्वार्डिओलाले शुक्रबार बिहान टोलीका खेलाडीहरू माझ आफ्नो निर्णय सुनाएका थिए। तर खेलाडीमाझ दिएको उक्त मन्तव्य निकै भावनात्मक बनेको उनले स्वीकार गरे। सो क्रममा आफू विगतमा भन्दा निकै बढी भावुक र त्रसित बनेको उनले बताए।
शुक्रबार नै सार्वजनिक गरिएको एक भिडियो सन्देशमा बार्सिलोना तथा बायर्न म्युनिखका यी पूर्वप्रशिक्षकले भनेका थिए, ‘कुनै पनि कुरा सधैँका लागि रहँदैन, यदि हुन्थ्यो भने म यहीँ रहने थिएँ। तर म्यानचेस्टर सिटीका मानिसहरू, यहाँका सम्झना र मैले पाएको माया भने मेरो मनमा सधैँ अमर रहनेछ ।’
ग्वार्डिओलाको बहिर्गमनसँगै सिटीमा उनी मातहत काम गरिसकेका चेल्सीका पूर्व प्रशिक्षक एन्जो मारेस्का नयाँ प्रशिक्षकको दौडमा सबैभन्दा अगाडि देखिएका छन्। आर्सनलले म्यानचेस्टर सिटीलाई पछि पार्दै सन् २०२५-२६ को प्रिमियर लिग उपाधि जितेको तीन दिनपछि ग्वार्डिओला बाहिरिने निर्णय बाहिर आएको हो।
मंगलबार बोर्नमाउथसँग १-१ को बराबरीमा रोकिएपछि आर्सनल सन् २००४ पछि पहिलो पटक च्याम्पियन बनेको थियो। ग्वार्डिओलाले आफ्नो अन्तिम सिजनमा सिटीलाई एफए कप र लिग कपको उपाधि दिलाए।
प्रशिक्षक पदबाट केही समय विश्राम लिने घोषणा गरे पनि उनी सिटी फुटबल ग्रुप (सीएफजी) को विश्वव्यापी सद्भावना दूतका रूपमा जोडिनेछन् र यस अन्तर्गतका क्लबहरूलाई प्राविधिक सल्लाह दिने कार्यमा सक्रिय रहनेछन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण