सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अतीतबाट साभार

फूलमाया– ६

शनिबार, ०९ जेठ २०८३, १२ : ००
शनिबार, ०९ जेठ २०८३

सारांश

  • गन्जेले फूलमायालाई हिंस्रक व्यवहार गरेपछि फूलमायाले आफ्नो बाध्यता र दुःख व्यक्त गरिन् ।
  • गन्जे मुगलानबाट फर्किँदा खाली हात र रोगले थलिएको थियो, जसले फूलमायालाई थप निराश बनायो ।
  • गन्जे र फूलमायाबीच मुगलानको कष्ट र घरको आर्थिक अवस्था बारे चर्काचर्की बहस भयो ।

स्याउले बजार झपक्क निदाइसकेपछि गन्जे हातमा बल्छी र माछाको सानो माला बोकेर थाकेका गोडा चलाउँदै दुखेको मन समाल्दै खोलाको डिलबाट अँध्यारो, भोको छाप्रोतिर लम्¥याङ–लम्¥याङ् आयो । उसले बाहिर अलपत्रसँग पल्टिएको फरिको उठाएर लगायो अनि चुल्हामा आगो बालेर टिनको पातोमा माछा सेकायो । छाप्रो एकदम चकमन्न र उदास थियो । 

भित्र फूलमायाले सास फेरेको आवाज टड्कारै सुनियो । त्यो सास फेराइमा उसले केही ननिको संकेतको छनक पायो । टुकी बालेर ऊ भित्र गयो र मधुरो उज्यालोमा स्वास्नीको अनुहार जाँच्यो । नाकको टुप्पोमा सानो घाउ, नाकको डाँडीमा रगतको दाग, निधार दर्फरिएको र अनुहार नराम्रोसँग सुन्निएको देखियो । सास फेर्दा उसका नाकका पोरा उदेकसँग फुलिरहेका देख्दा उसलाई सारै मर्का पो परेछ कि भन्ठान्दै गन्जे अताल्लियो ।

“ए उठ् त,” उसले फूलमायालाई कुममा समातेर हल्लायो । 

“हँ...” सुन्निएका राता आँखाले पुलुक्क हेर्दै उसले मुन्टो उठाउन खोजी । पीडाले विरक्तिएका उसका आँखामा वेदनाको भाव देख्दा गन्जेको मनमा दोषी भावना झन्–झन् बाक्लो हुँदै गयो । र, घुँडा टेकेर माफी माग्न उसको आत्मा हड्बडायो ।

एक वचन नबोली फूलमाया उठी । चार–पाँचोटा माछा पोलेर अचार बनाई र भात पस्किेर लोग्नेका अघिल्तिर राखिदिई ।

“तैंले खाइस् ?”

“खान्नँ ! मलाई सन्च छैन ।”

“उसोभए म पनि खान्नँ ।”

चोरी चालले लोग्नेलाई पुलक्क हेर्दै र चुरोटको धुवाँ फुुस्फुस् उडाउँदै फूलमाया चुल्हाको छेउमा बसिरही ।

“बेकसुरमा लोग्नेले पिट्यो भनेर मन दुखाइस् ?” स्वास्नीले दिएको चुरोटको ठुटो तान्दै गन्जेले सोध्यो । फूलमायाले भावशून्य आँखाले लोग्नेलाई हेरी अनि उसका आँखा झुके ।

 “तेरो चाल अल्लि ननिको लागेर मैले आँखा देखिनँ ।” पछुतो र वेदना मिसिएको स्वरमा उसले भन्यो– “दुनियाँले फत्तुर लाएपछि अल्लि चनाखो हुनुपर्छ । आफ्नो इज्जत भनेको अरुका आँखामा हुन्छ । सबैले आ–आफ्ना थान्कामा बस्नुपर्छ । के तँ मसँग रिसाइस् ?” कुइनाले स्वास्नीलाई छ्यास्स छुँदै र ओठमा हाँसो खेलाउँदै उसले सोध्यो ।

“रिस होइन, तँ बौलाएको देखेर मेरो मुटु जल्यो । तँसँग मेरो केको रिसराग ?” गुन्युको फुर्को उचालेर फूलमायाले आँसु पुछी । अनि रसिला आँखा लोग्नेका निस्तेज आँखासँग जुधाउँदै भनी– “टाउकामा भूत चढेपछि तँ आँखा देख्दैनस् र राछ्छेसभन्दा कठोर हुन्छस् । तँ मेरो हृदयको दुःखको ज्वाला बुझ्दैनस् ।”

ती वचनले गन्जेको मन पगाले । उसले फूलमायाको पाखुरो समात्यो र उसको हत्केलो सुम्सुम्यायो । “लोग्नेकै अगाडि अर्कासँग तँ कुम जोरेर बस्छेस् ।” गन्जेको स्वर गम्भीर भयो– “तेरो मन बिटुलो छ मैले कैल्यै भनिनँ । मैले तँलाई सधैं फुक्का छोडें । जता जान्छु भने पनि बन्देज छैन । जे गर्छु भने पनि छेकथुन छैन । तँमाथि विश्वास नभए म कैल्यै त्यसरी फुक्का छोड्दो हुँ ? ठाउँ यस्तो छुल्याहा छ । अर्काको हुर्मत लिँदा मान्छेलाई मजा लाग्छ । तैं भन् त, अरुका नजरमा म गिरेको देख्ता तँलाई मजा लाग्छ ? लाग्दैन भने मेरो मन दुखाउने काम तँ किन गर्छेस् ? मान्छेलाई कुरा काट्ने मौका किन दिन्छेस् तँ ? तैं भन्त... स्वास्नी अर्कासित कुम जोरेर बसेको देख्दा कुन लोग्नेको मनमा रिस नउठ्ला ?”

“रिस उठ्तैन म भन्दिनँ ।” फूलमायाले मुन्टो उठाई र बाहिरको अँध्यारोमा आँखा गाडेर भनी– “के गर्ने ? मेरो बानी यस्तै छ । नानीदेखिको बानी । मलाई अलपत्र पारेर तँ मुगलान पसिस् । आफ्नो पेट भर्न पाएपछि तैंले चिचिला छोराछोरी पनि भनिनस् । घरको माउ भएपछि वेभार चलाउन मलाई कति गाह्रो प¥यो होला तँ भन्न सक्छस् ? राछ्छेस जस्ता बैरीका घेरामा परेर प्राण धान्न सजिलो हुन्छ ? त्यसमाथि म त स्वास्नीमान्छे । न सम्पत्तिको जिलो न अरुको आड–भरोसा । तँ मरे–बाँचेको खुटखबर केही छैन । लोग्नेमान्छेको काम समालेपछि मुख छोपेर काम नचल्ने, लाजले काज नहुने । बोल्ने ठाउँमा बोल्नुप¥यो । लर्ने ठाउँमा लर्नुप¥यो । त्यस्तै हो, बेला–मौकामा रङ्ग र उस गर्नै प¥यो । तँ मेरो बानी बुझ्दैनस् । तँ मेरो हृदयको दुःखको ज्वाला बुझ्दैनस् ।”

“हैन तँ आफ्नो सत्बाट चुकिस् कि के हो ?”शङ्कालु नजरले फूलमायालाई हेर्दै गन्जेले खुल्दुली पोख्यो ।

आज भने फूलमायालाई निकै झर्को लाग्यो । झनक्क रिस उठ्यो । एउटै कुरो कति सोधेको ?

 “हैन तँ निकै गनाएजस्तो छाँट छ नि, कसो हो ?” एक रात सुत्ने बेलामा गन्जेले सोध्यो ।

फूलमायाले दयनीय आँखाले उसलाई हेरी र आँसु चुहाई ।

“हैन भुसतिघ्रे मगरसँग तँ किन ज्यास्ती इत्रिन्छेस् ?” दिउँसोको हाँसखेलको कुरो उक्काउँदै अर्कोपल्ट गन्जेले पिरिँदै सोध्यो ।

“लाटी झैं मुख थुनेर बस्ने त ?” फूलमायाले जवाफ दिई । आपत्–विपत्मा चोखो मनले सरसघाउ गर्ने मगर कान्छामाथि लोग्नेले पाप चिताएको देख्दा उसलाई नमज्जा लाग्यो ।

“साहुनी कान्छीले तँलाई खोट लाएर कुरा गरेको सुन्दा मेरो आँत जल्यो । मान्छे तँलाई किन यतिविघ्न पखाल्छन् हँ ?”

“तैंले किन होला भन्ठानिस् त ?” दिक्क भएकी फूलमायाले भनी ।

आज भने उसका आत्मामा निसासिएको सत्यले प्रकट हुने बाटो खोज्यो ।

“यत्रा बर्ख मैले कसरी वेभार चलाएँ भन्ठान्याथिस् त तैंले ?” कठोर स्वरमा फूलमायाले भनी । उसको बोलीमा इमान बोल्यो । “तर त्यसले मेरो मन डगेन । विपत्तिको पहाडले थिचेपछि मान्छे बौलाउँदो रहेछ । तर मैले हिम्मत हारिनँ । म बौलाइनँ । तँ आफ्ना छोराछोरीलाई आफ्नो जिन्दगीभन्दा प्यारो गर्थिस् अनि म तँलाई जीवन अर्पेर माया गर्थें । मैले जे गरें छोराछोरीको प्राण धान्न गरें । तेरो मनलाई रिझाउन गरें । म पोइल जान पनि सक्थें, सेरिएर मर्न पनि सक्थें । तर तेरो खुसीका लागि आफ्नो सर्वस्व अर्पन गरें– जीवन, जोवन र सुख सबै । 

घिनलाग्दा काममा हात हाल्दा कलेजो कति जल्छ मलाई थाहा छ । सारा बैरीले ग्याइँग्याइँ कुरा काट्दा मन कति दुख्छ मलाई थाहा छ । तँलाई थाहा छ मैले यो सब किन गरें ? तेरो लागि । तेरा छोराछोरीका लागि । आफ्ना आँखमा आपूm जति तल गिरे पनि मेरो मनमा तँ बाहेक अर्को कोही थिएन । तेरो मूर्ति, तेरो माया, तेरो सुखको सपना...”

“हैन, तँ साँच्चै त्यति सारो गिरिस् त ?” गन्जे रन्थनियो ।

“मेरो जस्तो सफा दिल तँ कतै खोजेर पाउँछस् ? तेरो दिमागमा खालि गोबरै–गोबर छ । यतिका बर्ख तेरा छाप्रामा भगवान्ले अन्नपानी वर्षाइदिए भन्ठान्याथिस् त तैंले ?”

“उसोभए तँ सडिस् होइन ?” गन्जेको अनुहार हुनुसम्म विकृत भयो । उसको हृदयमा भुइँचालो हल्लियो– “उसो भए तँ खेर गइस् हैन ?”

“तँ मुगलान जाँदा मलाई सुनको भकारी छोडेर गाथिस् र ? स्वास्नी छोराछोरी भोकै छन् भनेर तैंले कहिल्यै सोचिस् ? म सडें भने तेरो भलोको लागि सडें । गिरें भने तेरो कुलको रछ्छे गर्न गिरें । खेर गएँ भने तेरो ढुङ्गाको हृदयले गर्दा खेर गएँ ।” पूmलमायाको अनुहारमा आगो बल्यो । “सबैले छिःछि दुर्दुर गरुन् भन्ने रहर कल्लाई हुन्छ ? कल्लाई हुँदैन इज्जतको ख्याल ? पेट पाल्ने मेसो छँदाछँदै जोवनको पसल थाप्ने सुँगुर हुन् सुँगुर । अर्काका जोवनको जात्रा गर्ने पनि सुँगुर हुन् । दुःखले सुँगुरको जुनी बिताउन कर लागेका माथि तेरो दया माया छैन ? तँ ढुङ्गाको मूर्ति होस् । तँ गुन बुझ्दैनस् । अरुका कुरा सुनेर तँ हो मा हो मिलाउँछस् । तेरो दिमाग खोक्रो छ । गोबर भरिएको ।”

गन्जे चिलाउनेको ठुटो झैं भावनाहीन हुँदै जिल्लियो । उसको मनमा द्वन्द्वको भुमरी चल्यो । तर त्यो भुमरीको अर्थ उसले केही पनि बुझेन । स्वास्नीका मुखबाट त्यस्ता भयानक कुरा निस्कन सक्लान् भन्ने उसले सपनामा पनि चिताएको थिएन ।

०००

गन्जबहादुर गुरुङ मुगलानबाट फर्केको ६ महिना भयो । झमक्क साँझ परेपछि ऊ अचानक छाप्रोमा आइपुगेको थियो । काखीमुनि थोत्रो छाता र हातमा मैलो झोला । उसको सात वर्षको जम्मा कमाई तीन बट्टा पर्वत चुरोट, दुई पुरिया ग्लुकोज बिस्कुट, पाँच–सात गेडा काँचा आँप, एउटा थोत्रो लाइटर, पातला खैरा जुँगा र मुटु दुख्ने डरलाग्दो रोग अनि खल्तीमा सौ–पचास रmपियाँ । 

मनमा मधुरा आशा र टाक्सिएका तिर्सना बोकेर वर्षौंदेखि एकनासले उसको बाटो हेरिरहेको अँध्यारो छाप्रोमा झन्डैजसो खाली हात आउँदा झनै अँध्यारो भयो । जीवनको अजङ्गको भारी बोक्न आडभरोसा दिन लोग्ने आउला भनी आजसम्म फूलमायाले परमेश्वरसँग प्रार्थना गरेकी थिई, तर निर्मोही परमेश्वरले गन्जेलाई नै अर्को भारी बनाएर फूलमायाको लुलो टाउकोमा खन्याइदियो । धन्य परमेश्वर !

भोको परिवारको आशाको त्यान्द्रो भएको गन्जे अचानक घर आइपुग्दा नेप्टी छक्क परी । आमाको मुखबाट बारम्बार बाबुका कुरा सुन्दा उसको अबोध हृदयमा बाबुको एउटा अस्पष्ट तर मायालु तस्बिर कोरिएको थियो । आश्चर्य भरिएका आँखाले उसले बाबुलाई ट्वाल्ल परेर हेरी । आफ्नो मनको काल्पनिक तस्बिर बाबुको सक्कलसँग नमिल्दा उसलाई कसोकसो नमज्जा लाग्यो । गन्जेले मयालु आँखाले उसलाई हे¥यो अनि पाखुरामा समातेर तान्दै काखमा राख्यो र च्वाँक्क म्वाई खायो ।

“मलाई के ल्याइदेऊ बा ?” तिर्सनामय स्वरमा नेप्टीले सोधी । अनुहार अमिलो पार्दै हारेका आँखाले गन्जेले छोरीलाई टुलुटुलु हे¥यो ।

“माथ्ला घरेहेर्ले हाम्लाई झन्नै मारे बा ! तिन्ले हाम्रो घर भत्काए ।” छोरीले बाबुलाई पोल लगाई ।

फूलमायालाई हताश आँखाले हेर्दै गन्जे पक्क परिरह्यो ।

फूलमायाले गाउँघरको भाँडिएको चलन, स्याउले बजारको नारकीय जिन्दगानी र साहु कान्छाका जहानको निठुरी कर्तुतको कथा उसलाई सुनाई ।

“निर्धालाई जहाँ पनि हेप्छन् । यहाँ पनि, मुगलानमा पनि ।” थाकेको स्वरमा गन्जेले आफ्नो राय सुनायो ।

लोग्ने आउँदा फूलमायालाई हर्कभन्दा औडाहा र गर्वभन्दा लाज लाग्यो । कम्तिमा पनि लोग्ने देशमा जागिरे छ भनेर जोरीपारीलाई धाक लाउने निहुँ त थियो अब त्यो पनि रहेन । लोग्नेस्वास्नी रात ढल्किउन्जेलसम्म घोस्सेमुन्टो लाएर बसे– चुपचाप, निराश र हैरान ।

“तँ आइस् जाती भो । पीर नमान् । पाखुरी छउन्जेल जसरी पनि गुजारा चल्छ ।”

“तर मेरा पाखुरी पनि लुलिए । म बर्बाद भएँ ।”

फूलमायालाई पटक्कै निद्रा लागेन । छाप्रो स्याहार्दा–स्याहार्दा उसको जीउ थिल्थिलो भएको थियो । अब उसको हृदय पनि थिल्थिलो भयो । आठ वर्षअघिको हृष्टपुष्ट, रातोपिरो र तन्नेरी गन्जबहादुर साठी वर्षको रोगी बूढोजस्तो भएर फर्कियो । लोग्नेको त्यो हविगत देख्दा उसलाई आफ्नो उमेर पनि चाँच्चाँडो ढल्दै गएजस्तो लाग्यो ।

गन्जे घर आएको भोलिपल्ट इष्टमित्र र साथीभाइको धुइरो लाग्यो । तर उसको रुप देख्नेबित्तिकै सबैका मन चाउरी परे ।

“हेर लाउरे दाइको चाला, ज्या है !” सबैका भनाइको सार यस्तो थियो । त्यो सारमा गन्जे र उसकी स्वास्नीले घोचपेचको खपिनसक्नु बज्रवाण घुसेको छनक पाए र लाजले तिनका नुर गिरे ।

“तँ जैरी आफ्नै दुःख मात्र बढाई चढाई भन्छेस् ।” मुखमा हालेको भातको गाँस चपाउन अल्छी मान्दै गन्जेले भन्यो– “मैले खपेको दुःख कल्ले सुनिदेओस् ?”

“तँ भनेको मर्द । तंैले जे बोले पनि राम्रै सुनिन्छ । जस्तै फोहोरी काम गरे पनि राम्रै ठहर्छ । म आइमाई, म अदना । आइमाईका पाइला–पाइलाको चियो गर्न हज्जारौं आँखा चारतिर झुत्तिन्छन् । कसैले एक वचन फत्तुर लाउनासाथ आइमाईको जुनी गनाउँछ । आइमाईको दुःखका कथा सुन्न यो छातीमा पस्नुपर्छ ।” छाती छाम्दै उसले भनी– “यस छातीभित्रको तस्बिर देख्न पाए सके तँ भाउन्न हुन्थिस् ।”

“मुगलानको मुख देख्न पाए तैंले चेत्थिस् ।” गन्जेले आफ्नो दुःखको पन्तुरो फुकायो । “मैले खपेको कष्टका लेखी तेरो यो गनगन त पहाडका सामुन्ने तिलको गेडो हो । पिर्थिवीमुनि नर्क छ भन्छन्, यो कुरो झटो हो । यो उडन्ते कल्पना हो । संसारमा नर्क कतै छ भने त्यो मुगलानमा छ । हातमा लाठो बोकेर लगातार दस–बाह्र घण्टा मालिकका कम्पनीको ढोकामा ठिङ्गे लागेर उभिनु... हे दैव ! समय कति ढिलो जान्छ त्यहाँ ? संसार बिरानोे छ । न बोल्ने साथी, न मन बहलाउने ठाउँ । न मायाका वचन, न दयाका नजर ।”

गन्जेले सुस्केरा हाल्यो मानौं दुःख पोख्दा उसलाई मन अलिक चङ्गा भएको अनुभव हुँदैछ । “जिन्दगी दुश्मनका झ्यालखानको कैदी जस्तो । सधैं सराप, सधैं मुटु छेड्ने गाली– एक छाक खोले चाट्न नपार आको गोर्खाली गोरु । अरे बहादुर ऐसा करो, अरे बहादुर ओइसा करो । मन बहलाउन मान्छेले सजाएको भालु जस्तो । मस्त भाते निद्रामा सपना देख्दादेख्दै सुगुर्नीजस्ती थल्थले मालिक्नी लात्तले भ्वाक्क चाकमा हिर्काउँदै झल्याँस्स बिउँझाउँछे । एक्ैकछिन सपनामा रमाउने फुर्सद पनि नपाइने । उप्युँ, उडुस र लाम्खुट्टेबाहेक आफ्नो भन्नु कोही छैन । अझ त्यसमाथि डाकाको हमला । स्याबास बहादुर ! गोरु झैं काममा जोतिएपछि मालिक भन्छ । कहीँ नबिकेर यहाँ आएको गदाहा गोर्खे । मालिक गाली गर्छ । अहो ! गदाहाकै जुनी भोगियो । त्यो हो साँचो नर्ककुण्ड । लोग्नेले मोज ग¥यो, पैसा उडायो भनेर तँ सराप्छेस् । पैसा कसरी आयो र गयो भन्ने तैंले कहिल्यै राम्रा मुखले सोधिस् मलाई ?”

चिम्टाले आगाको कोइलो चेपेर थुतुनो पसार्दै उसले ठुटो चुरोट सल्कायो । स्वाट्ट सर्को तान्यो र धुवाँको तीरजस्तै सुइरो बनाउँदै हावामा फुस्फुस् उडायो । धुवाँको मुस्लोमा परेको स्वास्नीको अनुहारमा उसले पुलुक्क हे¥यो र आफ्नो कष्टको कथाले उसको मनमा गहिरो छाप पारेछ भन्ने लख काट्दै उसले फेरि स्वाट्ट चुरोट तान्यो ।

“आफन्तको काखबाट टाढा भएपछि न मनमा शान्ति न जीउमा चैन । आज पनि छट्पटी, भोलि पनि छट्पटी र पर्सि पनि छट्पटी । सधैं औडाहा, सधैं एकनास । छट्पटी उखर्माउलो भएपछि बौलाहा जस्तो भएर रक्सी पसलमा हाजिर । यो रक्सी भनेको साला कस्तो जब्बर जिनिस छ भने जति खायो मनको ताप त्यति उर्लिने । अनि लठ्ठ भएपछि बल्ल एकछिनलाई ढुक्क भो । तैं भन् त ! अनि कसरी जोगियोस् पैसा ?”

“बेलैमा खुरुक्क मुन्टिएको भए के तेरो शिर ढल्थ्यो त ?” च्याँठ्ठिएको स्वरमा फूलमायाले भनी । 

“घरबारी डिक लेखेर हिँडेको मान्छे जोगी जस्तो रित्तै मुन्टिने त फुँडी ?”

“यतिका बर्खमा खोइ के लछारिस् त ?”

“म आउँदा तेरो देह जल्यो त जैरी ?”

“तँ पानीमरुवा होस्, पानीमरुवा ।” कठोर स्वरमा फूलमाया कड्किई– “तँ तेरी स्वास्नीको खेदो खन्ने माथ्लाघरे राछसका पाउ मल्छस् । तँ त्यसका अगाडि छाती फुलार कुरा गर्न सक्तैनस् ? यस्तो हजुर, उस्तो हजुर ! त्यसलाई भुत्रोको हजुर ? आफ्नो बासउठ्ठा गर्ने डाकासँग केको चाप्लुसी ! अझ त्यसकै कुरामा होमा हो मिलाउने ? म मर्द भए जिन्दगीभरि ईख लिएर त्यससँग साटो फेर्थें ।”

“तँ बढ्ता नबोल् ।” निलुँला झैं गरी गन्जेले आँखा पल्टायो– “म तेरो मर्जीमा चल्छु थोडै ?”

“तँ नामर्द होस्, नोकर हुन जन्मेको । मुगलानमा पनि नोकर, गाउँमा पनि नोकर । तेरो इज्जत एउटी आइमाईको जति पनि छैन ।”

“भो... तँ रण्डीसँग म बस्दिनँ ।”

“मलाई रण्डी बनाउने तंै होस् ।” फूलमाया जङ्गिई– “मलाई रण्डीको फत्तुर लाउने तँ माथ्लाघरे व्याधाको घोडा होस् ।”

निद्राबाट ब्युँझेको चतुरेले आमाबाबुलाई उदेकलाग्दा आँखाले हे¥यो । एक छिनपछि रातको सन्नाटालाई चिर्दै भाले बास्यो– कुखुरी काँ आँ–आँ–आँ...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप