सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जमुनाहा–नेपालगन्ज–चिसापानी सडक सीमाभित्रका अनधिकृत संरचना हटाउन अल्टिमेटम

शनिबार, ०९ जेठ २०८३, ११ : २२
शनिबार, ०९ जेठ २०८३

सारांश

  • डिभिजन सडक कार्यालय नेपालगन्जले जमुनाहा–नेपालगन्ज–कोहलपुर–चिसापानी सडक खण्डमा सडक सीमाभित्रका अनधिकृत संरचना हटाउन ३० दिने सूचना जारी गरेको छ ।
  • सडक सीमा अतिक्रमण गरी बनाइएका घर, टहरा, छाप्रो, खोका, ठेला, होर्डिङ बोर्ड र निर्माण सामग्री हटाउन निर्देशन दिइएको छ ।
  • सूचनाको ३० दिनभित्र संरचना नहटाए सडक विभागले डोजर प्रयोग गरी भत्काउने र खर्च असुल उपर गर्ने चेतावनी दिएको छ ।

काठमाडौँ ।  डिभिजन सडक कार्यालय नेपालगन्जले जमुनाहा–नेपालगन्ज–कोहलपुर–चिसापानी सडक खण्डमा पर्ने सडक सीमाभित्रका अनधिकृत संरचनाहरू हटाउन ३० दिने सार्वजनिक सूचना जारी गरेको छ ।

बिहीबार (२०८३ जेठ ८ गते) एक सूचना प्रकाशित गर्दै डिभिजन कार्यालयले कर्णाली राजमार्गको यो खण्डमा सडक सीमा अतिक्रमण गरी बनाइएका घर, टहरा, छाप्रो, खोका, ठेला, होर्डिङ बोर्ड र निर्माण सामग्री हटाउन निर्देशन दिएको हो ।

डिभिजन कार्यालयका अनुसार  जमुनाहादेखि गणेशमान चोकसम्म, कारकाँदो चोकदेखि कोहलपुर बजारको चैनजे २०+९०० सम्म र कोहलपुर २१+७५० देखि बैजनाथ गाउँपालिकाको चिसापानी बजार (चैनजे ३२+८००० सम्म सडकको केन्द्र रेखादेखि दायाँ–बायाँ दुवैतर्फ २५–२५ मिटरको सीमा तोकेको छ ।

यस्तै, गणेशमान चोकदेखि कारकाँदो चोकसम्म र कोहलपुर बजारको बिच खण्ड (चैनजे २०+९०० देखि २१+७५० सम्म) सडकको केन्द्र रेखादेखि दायाँ बायाँ २१–२१ मिटरको सीमा तोकेको छ ।

सार्वजनिक सडक ऐन २०३१ को दफा ३ क र १९ को प्रावधानअनुसार राष्ट्रिय राजमार्गमा कुनै पनि स्थायी वा अस्थायी संरचना बनाउन पाइँदैन । सडक सीमा अतिक्रमणका कारण दैनिक रूपमा सडक दुर्घटनाहरू बढेको पाइएकाले पहिलो चरणमा यो सडक खण्डलाई व्यवस्थित गर्न लागिएको कार्यालयले जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित सरोकारवालाले आफै संरचना नहटाएमा सडक विभागले आफ्नै डोजर प्रयोग गरी ती संरचना भत्काउने जनाएको छ । 

यसरी भत्काउँदा लागेको खर्च समेत सार्वजनिक सडक ऐन २०३१ बमोजिम सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने चेतावनी दिइएको छ ।

sadak

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप