लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो
सारांश
- लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न भएको छ ।
- सहभागी सदस्यहरूले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण तथा आत्मनिर्भरतामुखी कार्यक्रमलाई केन्द्रमा राखेर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
- सांसदहरूले युवालाई लक्षित रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।
बुटवल । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न भएको छ ।
शनिबार बसेको प्रदेशसभा बैठकमा सहभागी सदस्यहरूले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण तथा आत्मनिर्भरतामुखी कार्यक्रमलाई केन्द्रमा राखेर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
सांसदहरूले आगामी बजेट कार्यान्वयनयोग्य, परिणाममुखी तथा नागरिकमा आशा र भरोसा जगाउने खालको हुनुपर्ने धारणा राख्दै युवालाई लक्षित रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।
लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १३५ को उपनियम (३) बमोजिम विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल सञ्चालन गरिएको हो । सभामुखले छलफलका लागि तीन घण्टा अर्थात् १८० मिनेट समय निर्धारण गरेका थिए ।
छलफलमा प्रदेशसभा सदस्यहरू दीपेन्द्रकुमार पुन, यमुना रोका तामाङ, तुल्सीराम शर्मा, कृष्णा कुश्मा थारु, रेखा शर्मा, धनबहादुर केसी, इन्द्राकुमारी गहतराज, नवराज लामिछाने, राजकुमार चौधरी तथा तुलसीप्रसाद चौधरीले सहभागिता जनाएका थिए ।
बैठकको प्रारम्भमा भएको शून्य समयमा सदस्यहरूले विभिन्न समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए । शून्य समयमा राजुप्रसाद श्रेष्ठ, तारा थापा, मालती सोडारी, भगवती अधिकारी, बसन्ती न्यौपाने, नरमाया ढकाल, सुशीला बादी र मिनाकुमारी श्रेष्ठले बोलेका थिए ।
प्रदेशसभाको अर्को बैठक जेठ १० गते आइतबार दिउँसो १ बजे बस्ने तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण