शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मानव अधिकार संरक्षणका लागि शिक्षा र स्वास्थ्य सुधार अपरिहार्य

बुधबार, १३ जेठ २०८३, १८ : ५०
बुधबार, १३ जेठ २०८३

जनकपुरधाम । राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयले बुधबार २६औँ वार्षिक उत्सव समारोह आयोजना गरेको छ। कार्यक्रममा मानव अधिकार संरक्षणका लागि शिक्षा, स्वास्थ्य, सुशासन र न्याय प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।

मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले मानव अधिकारमैत्री बजेट तथा नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन भए मात्र मानव अधिकारको सुनिश्चितता सम्भव हुने बताए। उनले मानव अधिकार आर्थिक तथा सामाजिक अधिकारसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै नागरिकका आधारभूत आवश्यकता पूरा गर्नु राज्यको मुख्य दायित्व भएको धारणा राखे।

कर्णले मधेश प्रदेशमा मानव अधिकारको अवस्था सुधार गर्न विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार आवश्यक रहेको बताए।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले सुशासनबिना मानव अधिकारको परिकल्पना गर्न नसकिने उल्लेख गर्दै राज्य सुशासन स्थापना गर्ने दिशामा केन्द्रित रहेको बताए।

महिला मानव अधिकार रक्षक सञ्जाल धनुषाकी अध्यक्ष रेखा झाले मधेश प्रदेशका विभिन्न जिल्लामा महिलामाथि हिंसाका घटना बढ्दै गएको बताइन्। उनले पीडकलाई कानुनी कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न सके मात्र मानव अधिकारको प्रभावकारी संरक्षण हुने धारणा राखिन्।

एडभोकेसी फोरम मधेश प्रदेशका संयोजक अधिवक्ता राजकुमार महासेठले मानव अधिकार उल्लङ्घनका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न राज्य गम्भीर हुनुपर्ने बताए। उनले आयोगको कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग र समन्वय बढाउनुपर्नेमा जोड दिए।

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनीले प्रदेश कार्यालयमा हालसम्म ४३२ वटा उजुरी दर्ता भएको जानकारी दिए। तीमध्ये ७१ वटा उजुरीमा कारबाही प्रक्रिया पूरा गरी सक्कल फाइल आयोगको केन्द्रीय कार्यालय पठाइएको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप