शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

४ दिनदेखि विद्युत् अवरुद्ध, स्थानीयलाई सास्ती

बिहीबार, १४ जेठ २०८३, ११ : ४०
बिहीबार, १४ जेठ २०८३

सारांश

  • बाराको जीतपुरसिमरा, निजगढ र पर्सागढी नगरपालिकाका विभिन्न क्षेत्रमा चार दिनदेखि विद्युत् अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।
  • हावाहुरीले गर्दा विद्युत्का पोल ढलेका र ट्रान्सफर्मरमा क्षति पुगेका कारण विद्युत् सेवा अवरुद्ध भएको हो ।
  • नेपाल विद्युत् प्राधिकरणले मर्मतको काम गरिरहेको र करिब ६० प्रतिशत क्षेत्रमा विद्युत् सुचारु भइसकेको जनाएको छ ।

बारा । हावाहुरीका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र पर्सागढी नगरपालिकाका विभिन्न क्षेत्रमा चार दिनदेखि विद्युत् अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।

जेठ ९ र ११ गते आएको हावाहुरीले जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १, २, ७, ११, १४, १५, २१ र २२, निजगढ नगरपालिकाका वडा नं. १० र १३ तथा पर्सागढी नगरपालिकाका वडा नं. ३ र ४ मा विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् अवरुद्ध हुँदा चर्को घाम र अत्यधिक गर्मीमा बस्नै कठिन भएको स्थानीयवासीको गुनासो छ ।

जीतपुरसिमरा–१५ का स्थानीय शिवचन्द्र थारुले तीन दिनअघि गाउँमा पोल ढलेर विद्युत् अवरुद्ध भए पनि अहिलेसम्म मर्मत नभएको बताए ।

‘लाइन नहुँदा गर्मीले बस्नै सकिएको छैन,’ थारुले भने, ‘मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । कहिले बनाउने हो, थाहा छैन ।’

सोमबारको हावाहुरीले जीतपुरसिमरा–१५ की जितनदेवी राउतको घरमाथि विद्युत् पोल ढालेको थियो । घरमाथि पोल ढलेपछि उनी त्रासमा बस्न बाध्य भएकी छन् ।

‘वडा कार्यालयमा पनि खबर गर्‍यौं । आज भोलि भन्दै टारिरहेका छन्,’ जितनदेवीले भनिन्, ‘लाइन नहुँदा बच्चाहरूले पढ्न पाएका छैनन्, गर्मीले राति सुत्न सकिँदैन । विदेशमा रहेको छोरासँग मोबाइल बन्द भएकाले कुरा गर्न पनि पाएका छैनौं ।’

चर्को घाम र अत्यधिक गर्मीका कारण दिनभर खेतमा काम गर्ने ग्रामीण भेगका किसानहरू रातभर सुत्न नसकेको, बालबालिकाले विद्यालयको गृहकार्य गर्न नपाएको तथा ज्येष्ठ नागरिकलाई थप समस्या भएको स्थानीयको भनाइ छ ।

जीतपुरसिमरा–१३ का स्थानीय तथा डुमरवाना विकास मञ्चका अध्यक्ष गोविन्द चौधरीले पटक–पटक ताकेता गर्दा पनि विद्युत् प्राधिकरणले सुनुवाइ नगरेको आरोप लगाए ।

‘बत्ती नहुँदा मोबाइल चार्ज गर्न अर्को गाउँ पुग्नुपरेको छ,’ चौधरीले भने, ‘बच्चाहरूलाई पढ्न र सुत्न गाह्रो भएको छ । शहर बजारमा बिग्रिए तत्काल मर्मत हुन्छ, तर गाउँमा कर्मचारी र हाकिमहरूले वास्ता गर्दैनन् ।’

नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर माधव महतले हावाहुरीका कारण ११ केभी प्रसारण लाइनका ५० वटा पोल ढलेको र पाँच वटा ट्रान्सफर्मरमा क्षति पुगेको जानकारी दिए ।

‘क्षति भएका स्थानमा निर्माण व्यवसायीका तीन टोली परिचालन गरेर काम गरिरहेका छौं,’ प्रमुख महतले भने, ‘हालसम्म करिब ६० प्रतिशत क्षेत्रमा मर्मत गरी विद्युत् सुचारु गरिएको छ । बाँकी स्थानमा पनि एक–दुई दिनभित्र काम सम्पन्न हुन्छ ।’

प्राधिकरणका अनुसार जेठ ९ र ११ गतेको हावाहुरीबाट करिब ७० लाख रुपैयाँ बराबरको विद्युतीय क्षति भएको छ ।

हावाहुरीले अमलेखगञ्ज क्षेत्रमा सबैभन्दा बढी क्षति पुर्‍याएकाले त्यहाँ विद्युत् सेवा पूर्ण रूपमा सुचारु हुन अझ केही दिन लाग्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप