आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
यात्रा

न्यानो गोआका मधुर सम्झना

शनिबार, १६ जेठ २०८३, १० : ००
शनिबार, १६ जेठ २०८३

सारांश

  • पुस २० गते काठमाडौँबाट दिल्ली हुँदै भारतको गोआका लागि उडान भरियो, जहाँ पुग्दा आकाश अँध्यारोले ढाकिसकेको थियो ।
  • गोआ, जसलाई पर्यटकहरूको स्वर्ग भनिन्छ, पोर्चुगिज शासन र भारतीय संस्कृतिको संगमले भरिएको छ ।
  • यात्रामा ब्यासिलिका अफ बोम जिसस चर्च, कोका विच, फोर्ट अगौडा र श्री मङ्गेशी मन्दिर जस्ता ऐतिहासिक र धार्मिक स्थलहरूको अवलोकन गरियो ।

काठमाडौँको पुस–माघको कठ्याङ्ग्रिने जाडोलाई केही दिन भएपनि छल्ने र दक्षिण भारतसँगै गोआको नयाँ संसार नजिकबाट चिन्न पाइने उत्साह बोकेर ०८२ पुस २० गते काठमाडौँबाट दिल्ली हुँदै भारतको गोआतर्फ उडान भरियो । 

यात्राको आफ्नो रोमाञ्चतकता त थियो, जाडोका छोटा दिनका कारण गोआ पुग्दा आकाश अँध्यारोले ढाकिसकेको थियो । नयाँ ठाउँ घुमघामको यो यात्रा उत्सुकताले भरिएको थियो । यहाँ टेकेको पहिलो पाइलो नै रोमाञ्चक र आकर्षक लाग्यो । 

उत्तर र पूर्व भारतका धेरै ठाउँहरु पटक–पटक यात्रा गरिसकेको थिएँ । यस पटकको गोआ अर्थात दक्षिण भारतका यात्रा धेरै पहिले देखिको चाहनामा थियो । यस पटक बल्ल साइत जुरेको थियो । 

गोआ अर्थात पर्यटकहरूको स्वर्ग । साँच्चै नै भारतभित्रको एउटा फरक संसारजस्तो लाग्यो । गोमन्तक, गोप्रा, गोवापुरी, गोपकापाटन जस्ता थुप्रै ऐतिहासिक विशेषण बोकेको यो सहर सन् १९४७ मा भारत स्वतन्त्र भइसकेपछि पनि यो भूभाग पोर्चुगिज शासन अन्तर्गत नै रहनुले पनि यस सहरको महत्त्व झल्काउँछ । 

झण्डै चौध वर्षपछि मात्र अर्थात सन् १९६१ मा मात्र यो भूभाग भारतमा समाहित हुनुले यस्को इतिहास अझै विशेष बनेको छ । सन् १९८७ को मे तीसका दिन मात्र गोआले भारतको पच्चीसौँ राज्यका रूपमा आफ्नो पहिचान बनायो । 

यहाँ अहिले पनि पोर्चुगिजलगायतका विदेशी सभ्यता र भारतीय संस्कृतिको सुन्दर संगम रहेको देख्न सकिन्छ । त्यसैले होला गोआमा जत्ति दिन बस्ने अवसर जुर्‍यो उत्ति दिन नै एकदमै फरक रङ्गको अनुभूति हुँदो रहेछ ।

गोआको समुद्री किनारको मजा लिने हुट्हुटीका साथ त्यहाँ पुगेको पहिलो रात नेपाली भान्सेले पकाएको दक्षिण भारतीय खाना खाएर सुत्यौँ । भोलिपल्ट बिहानै उठेर हामी सबैजना हतार–हतार गर्दै नजिकैको समुन्द्र किनारतर्फ लाग्यौँ । 

4

पानी जति हेरे पनि नअघाउने म सधैँ झैँ यस पटक पनि पहिलो पटक समुन्द्र देखे झैँ दङ्ग भएर रमाएँ । समुन्द्र वास्तवमा एक विशाल रहस्यमयको संसार हो, जसले प्रकृतिको गहिरो सौन्दर्य र शक्ति दुवैलाई एकैसाथ झल्काउँछ । यसको अनन्त फैलावटले मलाई सधैँ आकर्षित गर्छ । 

बिहानको खाजा पश्चात् हाम्रो टोली पुरानो गोआतिर लाग्यो । त्यहाँ रहेको ब्यासिलिका अफ बोम जिसस नामक चर्चले हामी सबैलाई इतिहाससँग साक्षात्कार गरायो । १६औँ शताब्दीमा निर्माण गरिएको यो चर्च ब्यारोक शैलीको उत्कृष्ट नमुना मानिँदो रहेछ । 

यहाँ सन्त फ्रान्सिस जेभियरको शरीर सुरक्षित राखिएको छ, जसका कारण यो चर्च विश्वभरिका इसाई श्रद्धालुहरूको प्रमुख तीर्थस्थल बनेको छ । त्यहाँको शान्त वातावरण, पुरातात्त्विक महत्त्व र धार्मिक आस्थाले इसाई मात्र होइन अन्य सबैको मनलाई गहिरोसँग छुँदो रहेछ । हामी पनि यसको अपवाद हुन सकेनौ ।

त्यहाँबाट हामी मन्दोवी नदी र अरब सागरको सङ्गमस्थलमा रहेको कोका विच तर्फ लाग्यौँ । यो किनार निकै शान्त र रमणीय लाग्यो । यो बिच मुख्यतया वाटर स्पोर्ट्सका लागि प्रख्यात रहेछ । यस ठाउँमा जेट स्की, बम्प राइड र प्यारासेलिङ जस्ता समुद्री गतिविधिहरू निकै लोकप्रिय रहेछन् । यहाँबाट डल्फिन हेर्नका लागि हामी बोटमा चढ्यौँ । 

लाइफ ज्याकेट लगाएर मध्य दिनमा समुन्द्रमा डुङ्गाको यात्रा गर्दा हामी समुन्द्र नभएका देशका मानिसलाई रमाइलो लाग्नु स्वभाबिच हो । हामीमध्येका कोही सेल्फी खिच्ने, कोही भिडियो बनाउने, कोही सागरको दृश्यलाई एकटकले नियाल्नमा व्यस्त रह्यौँ । डुङ्गामा भएका गाइडले निक्कै आकर्षक पारामा प्रत्येक पलको व्याख्या गर्दै थिए । 

संसारका विभिन्न स्थानहरूबाट यहाँ जम्मा भएका पर्यटकहरू रमाइलो समयको सदुपयोग गर्नमा व्यस्त थिए । हामी चढेको मोटर बोट विशाल समुद्रमा केहीबेर कुदेपछि एक ठाउँमा गएर अडियो, त्यहाँ केही समयपछि पानीमाथि उफ्रँदै गरेका डल्फिनहरू देखिए । हामी सबैले ताली बजाएर डल्फिनको स्वागत गर्‍यौँ । 

हाम्रो यो स्वागत तिनले कति बुझे त थाहा भएन तर समुद्रमा उनीहरुले मारेको डुबुल्की हेर्दा त्यो नाच हाम्रै लागि हो भन्ने आभास हुन्थ्यो । यो अनुभूति शब्दमा बयान गर्न गाह्रो थियो । उमेरले साठी पार गरिसकेका हाम्रो टोली त्यो क्षणमा बालबालिकाजस्तै हर्षित भयौँ, चहकियौँ । 

हाम्रो डुङ्गा किनारामा एकाएक पुगेपछि मात्र त्यो यात्रा बिट मारेको थाहा भयो । नरिवल पानी पिएर प्यास मेट्यौँ । गोआमा नरिवल प्रशस्त पाइने भए पनि मूल्य भने अपेक्षाभन्दा महँगो लाग्यो । त्यहाँका पसलहरूमा विभिन्न स्मारिका सामग्रीहरू सजाइएका थिए, जसले पर्यटकलाई आकर्षित गरिरहेका थिए । 

2

त्यसपछिको हाम्रो यात्रा फोर्ट अगौडातर्फ मोडियो । यो एउटा पुरानो र ऐतिहासिक लाइट हाउस रहेछ ।  लाइट हाउसको मुनी पुरानो बन्दीगृह रहेछन् । समुन्द्री आक्रमणबाट रक्षा गर्न, पानी भण्डारण गर्न, अरब सागरको मनमोहक दृष्य र यहाँबाट देखिने सुन्दर सूर्यास्त अवलोकन गर्नका लागि यसको निर्माण पनि सन् १६१२ मा पोर्चुगिजद्वारा नै भएको रहेछ । यहाँको रमणीय दृश्यलाई मन, मष्तिष्क र क्यामेरामा कैद गर्न हामी सबैलाई भ्याइनभ्याइ भएको थियो ।

यहाँ भएको बिना कैदीको पुरानो बन्दीगृह भने पोर्चुगिज शासनकाल पछि किल्लालाई कारागारमा परिणत गरिएको रहेछ । विशेषगरी भारतको स्वतन्त्रता आन्दोलनका क्रममा अनेकौँ स्वतन्त्रता सेनानीहरूलाई कैद गरेर राखिन्थ्यो । बाक्ला, अग्ला र मजबुत पर्खालहरूले घेरिएको यो स्थान चारैतिर फैलिएको विशाल समुद्रको काखमा बसेको छ । 

समुद्रको छालले लगातार ठोक्किँदै बनाएको प्राकृतिक घेराबन्दी र किल्लाको कडा संरचनाले गर्दा यहाँबाट भाग्न प्रयास गर्नु भनेको लगभग असम्भव जस्तै मानिन्थ्यो । 

आज समय परिवर्तन भइसकेको छ । इतिहासका ती पीडादायक सम्झनाहरू बोकेको यो बन्दीगृह अहिले शान्त छ, मौन छ र पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ । यद्यपि, सुरक्षाको कारणले यसको भित्री भागमा प्रवेश अनुमति छैन, त्यसैले आगन्तुकहरूले यसलाई बाहिरबाट मात्रै अवलोकन गर्न सक्छन् । तर पनि, त्यहाँ उभिएर विगतका ती संघर्ष, साहस, बलिदान र यातनाका डरलाग्दा कथाहरू सहजै महसुस गर्न सकिन्छ । 

अर्को दिन बिहानै दक्षिण गोआ तर्फ लाग्यौँ । भगवान् शिवको मङ्गल स्वरुप श्री मङ्गेशी मन्दिरमा पुग्यौँ । पहिला यो मन्दिर कुशास्थली क्षेत्रमा थियो र पोर्तुगाली शासनका बेला हिन्दु मन्दिरहरूलाई नष्ट गरिँदा यसलाई हालको स्थानमा सारिएको रहेछ । करिब ४०० वर्ष पुरानो इतिहास बोकेको यो मन्दिरको शान्त वातावरणले मनलाई विशेष आनन्द दियो । 

सेतो रङको कलात्मक संरचना र अगाडिको दीपस्तम्भ यसको विशेष आकर्षण रहेछ । प्रसिद्ध गायिका लता मङ्गेशकरको परिवारसँग यस मन्दिरको सम्बन्ध रहेको सुन्दा अझ रोचक लाग्यो । मङ्गेशकर थरको उत्पत्ति यही मन्दिरको नामबाटै भएको हो रे । लता मङ्गेशकर परिवार गोआबाट आएको र उनीहरू यसै मन्दिरको उपासक भएकाले आप्mनो थर यसै देवताको नामबाट राखेको भन्ने भनाइ रहेछ । 

यस मन्दिरको अवलोकन पछि हामी ट्रपिकल स्पेस प्लान्टेसन पुग्यौँ । त्यहाँ हामी पर्यटक सबैलाई परम्परागत शैलीमा फूल र जडीबुटीबाट बनेको पेय पदार्थले स्वागत गरियो । पथप्रदर्शकको साथमा मसला बगैँचामा घुम्दा मरिच, दालचिनी, अलैँचीजस्ता विभिन्न बोटबिरुवाहरू नजिकबाट हेर्न पाइयो । त्यहाँको प्राकृतिक वातावरणले हामी सबैको मनलाई ताजगी दियो । 

3

माटोको घैटोमा तयार पारेर राखिएको चिसो मसला पानी ढाडमा खन्याउने परम्पराले पनि हामीलाई हाँसो र शीतलता दुवै प्रदान गर्‍यो । यसलाई पनि उपचारको एउटा विधि मानिँदो रहेछ । यहाँ बिक्रीका लागि राखिएको उनीहरूको उत्पादन किनमेलका साथ खाना खाएर त्यहाँबाट हिड्याैँ ।

गोआ बसाइँका क्रममा हामीले विभिन्न समुद्री किनारहरूको पनि अवलोकन गर्‍यौँ । हरेक किनाराको आफ्नै विशेषता थियो, तर सबैभन्दा मनमोहक पक्ष भनेको यहाँको सूर्यास्त नै थियो । जहाँ सूर्य बिस्तारै समुद्रको गर्भमा हराउँदै जान्छ र आकाश राताम्य रङ्गले भरिन्छ । तर यात्राका सबै अनुभवहरू केवल रमाइला मात्र थिएनन् । 

यति सुन्दर गोआका केही स्थान यति धेरै फोहोर थिए कि सम्झँदा अहिले पनि मन खिन्न हुन्छ । पर्यटकहरूसँग गरिने स्थानीयहरूको व्यवहार पनि केही ठाउँमा अपेक्षाअनुसार नम्र लागेन । यसरी गोआ यात्रा केवल घुमफिर मात्र नभई अनुभव, अनुभूति र सिकाइहरूको सँगालो बन्यो । 

1

न्यानो घाम, निलो सागर, ऐतिहासिक सम्पदा र विविध संस्कृतिको सङ्गमले भरिएको गोआले हामी प्रत्येकको मनमा अमिट छाप छोड्यो । काठमाडौँको चिसोबाट केही समय टाढा रहेर प्राप्त भएको त्यो न्यानोपन केवल मौसमको मात्र होइन, स्मृतिको पनि थियो, जुन सधैँ मनको कुनै कुनामा उज्यालो भएर बसिरहनेछ ।

अन्ततः, ‘बिदा हुने भैगयो बेला, फेरि भेट होला कि नहोला’ भन्ने भावना बोकेर हामी गोआलाई बिदा माग्दै दक्षिण भारततिर लाग्यौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. राधिका बुढ्थापा
डा. राधिका बुढ्थापा
लेखकबाट थप