पूर्वतयारीविनाको अनलाइन भन्सार प्रणाली : सीमामा ४ घण्टासम्म लाइन बस्न बाध्य सेवाग्राही
सारांश
- नेपाल सरकारले भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनको भन्सार अभिलेख अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेपछि सीमावर्ती क्षेत्रका सेवाग्राहीले सास्ती खेप्न थालेका छन्।
- महोत्तरीको जलेश्वरस्थित मलिवाडा–भिठामोड भन्सार नाकामा नयाँ प्रणाली लागू भए पनि आवश्यक पूर्वतयारी, पर्याप्त जनशक्ति तथा प्राविधिक व्यवस्थापन नहुँदा सेवाग्राही समस्यामा परेका हुन्।
- सेवाग्राहीहरूले प्रणाली सुधारसँगै सहायता सेवा प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
धनुषा । नेपाल सरकारले भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनको भन्सार अभिलेख अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेपछि सीमावर्ती क्षेत्रका सेवाग्राहीले सास्ती खेप्न थालेका छन्।
महोत्तरीको जलेश्वरस्थित मलिवाडा–भिठामोड भन्सार नाकामा भारतबाट नेपाल प्रवेश गर्ने सवारी चालक तथा यात्रुहरू भन्सार प्रक्रिया पूरा गर्न ३ देखि ४ घण्टासम्म लाइनमा बस्न बाध्य भएका छन्। नयाँ प्रणाली लागू भए पनि आवश्यक पूर्वतयारी, पर्याप्त जनशक्ति तथा प्राविधिक व्यवस्थापन नहुँदा सेवाग्राही समस्यामा परेका हुन्।
भारतको बिहारबाट नेपाल आउने सवारीधनीहरूका अनुसार अनलाइन दर्ता प्रक्रिया निकै जटिल छ। भन्सार कार्यालयबाट पर्याप्त सहयोग नपाउँदा उनीहरू बिचौलियाको सहारा लिन बाध्य भएका छन्। अनलाइन फाराम भर्ने तथा दर्ता गरिदिने नाममा बिचौलियाले प्रतिगाडी २०० देखि ५०० रुपैयाँसम्म असुल्ने गरेको सेवाग्राहीहरूको आरोप छ।
भारतको सीतामढी जिल्लाबाट आएका राम उदित राउत भन्छन्, ‘हामीलाई अनलाइन प्रणालीबारे कुनै जानकारी छैन र भन्सार कार्यालयमा सहयोग गर्ने व्यवस्था पनि छैन। समयमै फर्किनुपर्ने भएकाले घण्टौँ लाइनमा बस्नुभन्दा बिचौलियालाई पैसा तिरेर काम गराउनुपर्ने बाध्यता छ।’
स्थानीय व्यवसायी तथा यात्रुहरूले डिजिटल प्रणाली लागू गर्नु सकारात्मक कदम भए पनि आवश्यक पूर्वाधार, सूचना प्रवाह र प्राविधिक सहायता सुनिश्चित नगरी कार्यान्वयन गरिएकाले सर्वसाधारणले दुःख पाएको बताएका छन्। उनीहरूले भन्सार कार्यालयमा थप कम्प्युटर, प्राविधिक कर्मचारी र सहायता कक्षको व्यवस्था गर्न माग गरेका छन्।
यता, भन्सार कार्यालयका प्रमुख राजेन्द्र बस्नेत नयाँ प्रणाली कार्यान्वयनको प्रारम्भिक चरण भएकाले केही समस्या देखिएको स्वीकार गर्छन्। उनी भन्छन्, ‘प्रणाली भर्खरै सुरु भएकाले केही प्राविधिक समस्या देखिएका हुन्, हामी क्रमशः व्यवस्थापन सुधार गर्दै लैजानेछौँ।’
सीमावर्ती क्षेत्रमा दैनिक सयौँ भारतीय सवारीसाधन नेपाल प्रवेश गर्ने भएकाले अनलाइन भन्सार प्रणालीलाई सहज, छिटो र प्रभावकारी बनाउन तत्काल आवश्यक व्यवस्थापन गर्नुपर्ने आवाज उठ्न थालेको छ। सेवाग्राहीहरूले प्रणाली सुधारसँगै सहायता सेवा प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण