बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा सभापति लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष नवीनसँग भेटवार्ता

मङ्गलबार, १९ जेठ २०८३, १२ : २१
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का नवनियुक्त राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग नयाँ दिल्लीमा भेटवार्ता गरेका छन्।
  • भाजपाको 'भाजपालाई जान्नुहोस्' अभियान अन्तर्गत भएको यस भेटवार्ताको मुख्य उद्देश्य दुई पार्टीबीच सम्बन्ध सुरुवात गर्नु र सीमापार राजनीतिक समझदारी मजबुत बनाउनु हो।
  • भेटमा दुई नेताबीच दलीय संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचका विषयमा विचार आदानप्रदान भएको छ।

नयाँ दिल्ली । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय नयाँ दिल्ली पुगेका छन्। 

भाजपाका नवनियुक्त राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्न उनी त्यहाँ पुगेका हुन्। 

भाजपाले सञ्चालन गरिरहेको ‘भाजपालाई जान्नुहोस्’ अभियान अन्तर्गत दुई नेताबिच यो भेटवार्ता भएको हो। यस भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबिच पार्टीगत सम्बन्धको सुरुवात गर्नुका साथै सीमापार राजनीतिक समझदारीलाई थप मजबुत बनाउनु रहेको छ।

भेटका क्रममा दुवै नेताहरूबिच दलीय संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचका विषयमा विस्तृत रूपमा विचार आदानप्रदान गर्ने अवसर मिलेको छ। भारतीय जनता पार्टीले नेपाली प्रतिनिधिमण्डललाई मुख्यालयमा न्यानो स्वागत गर्दै यो भ्रमणबाट दुई पार्टीबीच रचनात्मक संवाद स्थापित हुने अपेक्षा राखेको बताएको छ। 

‘भाजपालाई जान्नुहोस्’ अभियान विदेशी कूटनीतिक समुदायलाई भारतीय जनता पार्टीको ऐतिहासिक यात्रा, मुख्य विचारधारा, संगठनात्मक संरचना, शासकीय स्वरूप र हाल भइरहेका विभिन्न राजनीतिक गतिविधिहरूबारे जानकारी गराउने उद्देश्यले तयार पारिएको शृङ्खलाबद्ध कार्यक्रम हो।

यो विशेष अभियानको सुरुवात भाजपाका पूर्व अध्यक्ष जेपी नड्डाले सन् २०२३ मा पार्टीको ४३ औँ स्थापना दिवसका अवसरमा गरेका थिए। यसअघि गत शनिबार मात्र भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पार्टीको आन्तरिक गौरवबारे चर्चा गर्दै भारतीय जनता पार्टीको यात्रा केवल एउटा राजनीतिक दलको विस्तारको कथा मात्र नभई यो राष्ट्रवाद, सांस्कृतिक चेतना, सेवा, सङ्घर्ष र समाजको अन्तिम व्यक्तिसम्म विकास पुर्‍याउने सङ्कल्पको ऐतिहासिक यात्रा भएको बताएका थिए। रास्वपा सभापति लामिछानेको यो भ्रमणले नेपाल र भारतका प्रमुख दलहरूबिचको सम्बन्धमा नयाँ आयाम थपिने अनुमान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप